World Cup 2026


यसपटक मेस्सीले गोल्डेन बुट, रोनाल्डोले विश्वकपको ट्रफी उचालुन्: दयाहाङ राई (भिडिओ)

‘नेपालले चाह्यो भने २५-३० वर्षमा विश्वकप खेल्न सक्छ’

अनिल यादव
असार १६ , काठमाडौँ

कुहिरोले ढाकेको भोजपुरको त्यो भिरालो पाखा-पखेरो जहाँ समयको पदचाप निकै ढिलो चल्थ्यो।

त्यही पाखाको कुनै एक कुनामा एउटा सानो बालक निकैबेर टोलाउँथ्यो- पर क्षितिजतिर होइन, आफ्नो गाउँमा भित्रिएको त्यो नयाँ र अनौठो गोलो वस्तुतिर, जसलाई संसारले ‘फुटबल’ भन्थ्यो।

आज ती बालक अर्थात् दयाहाङ राई नेपाली फिल्मका चर्चित अभिनेता बने।

नेपाली फिल्मको परम्परागत हिरोको मानक भत्काउँदै सबैभन्दा व्यस्त अभिनेताको सूचीमा दर्ज भइसके।

तर, उनको भित्री मन आज पनि कहीँकतै त्यही भोजपुरको भिरालो बारीमा गोलकिपर बनेर उभिएको छ, जहाँबाट उनले जिन्दगीको पहिलो र सबैभन्दा ‘रियल’ ड्रामा देखेका थिए।

मंगलबार फुटबलको कथा सुनाउन नेपालखबर ‘विश्वकप विशेष’मा आइपुगेका दयाहाङका आँखाहरू केहीबेर अतीतको धमिलो स्मृतिमा हराए।

उनलाई अझै सम्झना छ, घरमा फुटबल आउनु भनेको कुनै उत्सवभन्दा कम थिएन।

‘मलाई लाग्छ, त्यो ६-७ वर्षको उमेर थियो होला। मेरो बडाको छोरा दाइ तराईमा पढ्नुहुन्थ्यो। गाउँ आउँदा उहाँले फुटबल लिएर आउनुभयो,’ बाल्यकालका ती दिनमा फर्किँदै दयाहाङले भने, ‘त्यही फुटबल र दाइको स्किल देखेर हामी आकर्षित भयौँ। त्यहाँबाट सुरु भएको मेरो फुटबल यात्रा १५–१६ वर्षको उमेरसम्म निरन्तर चलिरह्यो।’

भोजपुरको त्यो भिरालो भूगोलमा फुटबल खेल्नु आफैँमा एउटा चुनौती थियो।

बल हराउने डर, बारीको कान्लाबाट लड्ने भय, तर ती सबैलाई बिर्साउने फुटबलको त्यो जादुमयी आकर्षण। दयाहाङको लागि फुटबल खेल मात्र थिएन, त्यो त एउटा सपनाको बीजारोपण थियो।

धेरैलाई लाग्न सक्छ, सिनेमाको पर्दामा जस्तै मैदानमा पनि दयाहाङ अगाडि बढेर गोल गर्ने ‘स्ट्राइकर’ बन्न चाहन्थे। तर, उनको रोजाइ सधैँ ‘नेट’ को अगाडि हुन्थ्यो । उनी गोलकिपर बन्न चाहन्थे, गोलकिपर नै बने।  

‘मैले अक्सर गोलकिपिङ गरेँ। मलाई गोलकिपिङ नै मज्जा लाग्छ,’ गोलकपिरको भूमिका रोज्नुमा उनको आफ्नै दार्शनिक तर्क छ, ‘किनभने गोलपोस्टमा उभिँदा मैदानका २१ जनाकै मुभमेन्ट र मेन्टालिटी पढ्न पाइन्छ। खुला आँखाले सबैलाई हेर्न पाइन्छ। गोल छेक्न पाउँदा पनि खुसी लाग्छ, अनि विपक्षीले मेहनत गरेर गोल लगाउँदा उसको त्यो मेहनत देखेर दुख पनि लाग्दैन।’

उनी गोलकिपिङलाई एउटा ‘अबजर्भर’ को नजरले हेर्छन्। सायद त्यही ‘अब्जरभेसन’ को गुणले उनलाई आजको सफल अभिनेता बनाउन मद्दत गर्‍यो। मैदानमा अरूको चाल बुझ्ने क्षमता पर्दामा अरूको चरित्र बाँच्ने आधार बन्यो।

जब ९० मिनेटको फुटबललाई साढे दुई घण्टाको सिनेमासँग जोडेर उनलाई प्रश्न गरिन्छ, दयाहाङ मुस्कुराउँछन्। एउटा अभिनेताको लागि सिनेमाभन्दा ठूलो ड्रामा अरू के होला र? तर, दयाहाङ यहाँ फुटबललाई सिनेमाभन्दा माथि राख्छन्।

भन्छन्, ‘सिनेमाभन्दा मलाई फुटबल बढी ड्रामेटिक लाग्छ। यो रियल टाइम ड्रामा हो। सिनेमामा त स्क्रिप्ट हुन्छ, तर यहाँ कसैले चाहेर पनि केही हुनेवाला छैन। कहिले ३० सेकेन्डमा गोल लाग्छ, कहिले इन्जुरी टाइमको अन्तिम सेकेन्डमा खेल उल्टिन्छ। यो जो–कोहीले सोचेभन्दा बाहिरको कुरा हो। फुटबल त मेरो लागि मेडिटेसनजस्तै हो।’

जारी विश्वकपको रौनकबाट दयाहाङ पनि टाढा छैनन्। विश्वका करोडौँ फुटबल प्रेमीमा जस्तै उनमा पनि एक प्रकारको हुटहुटी छ। उनी कुनै एक टिमको अन्धभक्त प्रशंसक होइनन्, बरु खेलको सौन्दर्यका पारखी हुन्।

लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोको बारेमा बोल्दा उनको स्वरमा आदर मिसिन्छ।

‘मेस्सीले आफ्नो खुट्टामा बल हुँदा एउटा छुट्टै संसार सिर्जना गर्छन्,’ दयाहाङले भने, ‘उनले खेलिरहेको हेर्दा लाग्छ, उनले कुनै संघर्ष होइन, एउटा कला प्रस्तुत गरिरहेका छन्। अर्कोतिर रोनाल्डोको डेडिकेसन र मेहनत अतुलनीय छ। यो उमेरमा पनि आफूलाई फिट राखेर मैदानमा उत्रनु सामान्य कुरा होइन।’

यसपटक उनको चाहना छ- मेस्सीले गोल्डेन बुट जितुन् र रोनाल्डोले चाहीँ विश्वकपको ट्रफी उचालुन्। ‘दुवै महान् खेलाडी हुन्, दुवैको करियरको यो अन्तिम मोडमा दुवैले केही न केही प्राप्त गरून् भन्ने लागेको छ,’ उनले भने।

विश्वकपको रौनकले सारा संसारलाई मोहित बनाउँदा नेपालमा पनि यही बेला फिफाले प्रतिबन्ध गरेको खबर आयो। नेपाली फुटबलको आन्तरिक राजनीतिसँगै आएको यो खबरले उनलाई पनि पोलेको छ। तर, निराशाका बीचमा पनि उनी एउटा सुन्दर सपना देख्न छाड्दैनन्।

‘हामीले सपना देख्न छोड्नुहुन्न। नेपालले चाह्यो र सपना देख्यो भने अबको २५–३० वर्षमा नेपालले पनि विश्वकप खेल्न सक्छ,’ उनले भने, ‘भारतले कुनै दिन विश्वकप आयोजना गर्ला, त्यतिबेला हामी ‘को–होस्ट’ बनेर भए पनि विश्वकपको हिस्सा बन्न सक्छौँ। तर त्यसको लागि ग्रासरुटदेखि नै योजना बनाउनुपर्छ। सपना नदेखि त केही पनि हुन्न नि!’

‘सिनेमाको क्षेत्रमा नेपाली फिल्म कान्स जस्तो ठूलो फेस्टिभलमा पुग्न सक्छ भने फुटबल किन विश्वकपमा पुग्न सक्दैन?,’ राज्य र फुटबल पदाधिकारीहरूसँग उनको प्रश्न छ।

दयाहाङ केवल फुटबल हेर्न र खेल्नमा मात्र सीमित छैनन्। उनी त फुटबललाई एउटा उद्योग र भावनाको रूपमा विकास भएको हेर्न चाहन्छन्। भविष्यमा मौका मिले फुटबल टिम नै खरिद गर्ने उनको इच्छा छ। ‘अवसर मिल्यो भने फुटबल टिम किन्ने चाहना छ,’ उनले भने, ‘तर बिजनेसका हिसाबले होइन, यो मेरा लागि एउटा इमोसन हो। फुटबलसँग मेरो एउटा गहिरो साइनो छ। मौका पाएँ र सबै तालमेल मिल्यो भने भविष्यमा फुटबल टिम किन्न सकिन्छ।’

अहिले दयाहाङ नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टीम विराटनगर किंग्सका सद्भावना दूत छन्।

कुराकानीको अन्त्यमा दयाहाङका शब्दहरू अझै काव्यिक सुनिन्छन्। उनलाई मेक्सिकोको साहस मनपर्छ, जापानको मेसिन जस्तो सटिक खेल मनपर्छ र मोरक्कोको सरप्राइजले पनि उति नै आनन्द दिन्छ। तर, यी सबैको केन्द्रमा त्यही भोजपुरको पाखो छ, जहाँ एउटा बालक पहिलोपटक फुटबललाई छुन पाउँदा संसार जितेको महसुस गर्थ्यो।

दयाहाङका लागि फुटबल ९० मिनेटको दौडधुप मात्र होइन, यो जीवनको त्यो ऐना हो, जहाँ हार र जित दुवैलाई समान रूपले स्वीकार्ने साहस चाहिन्छ। कुनै बेला गोलपोस्टमा उभिने त्यो बालक गोलकिपर आज सिनेमाको पर्दामा हिरो त बन्यो, तर उनको खेलप्रेम देख्दा लाग्छ, कहीँकतै उनको मुटुको धड्कन अझै पनि फुटबलकै तालमा धड्किरहेको छ।

सिनेमामा ‘रिटेक’हरू सम्भव होलान् तर फुटबलको मैदानमा समयले ‘रिटेक’ हुँदैन। र, फुटबलको यही सत्य नै दयाहाङलाई सबैभन्दा सुन्दर लाग्छ।

हेर्नुहोस्, दयाहाङसँगको भिडिओ कुराकानी ‘विश्वकप विशेष’:

फोटो/भिडिओ: सरोज नेपाल

असार १६, २०८३ मंगलबार २०:३५

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad