विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ को रापतापले अहिले विश्वलाई छोपेको छ। मेक्सिकोको सानदार सुरुवात र दक्षिण कोरियाको संघर्षपूर्ण पुनरागमनले समर्थकहरूमा उत्साह थपेको छ।
मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० ले हराउँदा स्ट्राइकर राहुल जिमिनेजले दोस्रो गोल गरे। गोलपछि जिमिनेजले आकाशतिर हेर्दै आफ्ना स्वर्गीय बुबालाई सम्झिएर गरेको सेलिब्रेसनले विश्वभरका फुटबल प्रेमीलाई भावुक बनायो। नेपालखबरको ‘विश्वकप विशेष’मा गफिन आइपुगेकी नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी प्रभावशाली खेलाडी सबिता राना मगरका लागि पनि यो क्षण निकै विशेष रह्यो। उनका लागि यो विश्वकप केवल खेलको विश्लेषण मात्र होइन, एउटा प्रेरणा र आशाको स्रोत पनि बनिरहेको छ।
‘राहुल जिमिनेजको कमब्याक मेरो लागि ठूलो प्रेरणा हो,’ सबिताले भनिन्। सन् २०२० मा टाउकोको हड्डी भाँचिने गरी गम्भीर घाइते भएका जिमिनेज पुन: मैदान फर्किएर विश्वकपमा गोल गर्लान् भनेर धेरैले सोचेका थिएनन्।
अहिले आफैँ चोटका कारण मैदानबाहिर रहेकी सबिता जिमिनेजको कथामा आफ्नो प्रतिबिम्ब देख्छिन्। ‘जिमिनेजले जसरी मृत्युलाई जितेर कमब्याक गरे, मलाई पनि लाग्छ– म छिट्टै मैदान फर्कनेछु,’ सबिताको आत्मविश्वास अझै ढलेको छैन।
सबितालाई नजिकबाट चिन्नेहरू उनलाई निकै शान्त र लजालु स्वभावकी मान्छन्। घरमा कोही पाहुना आउँदा कोठाबाट ननिस्कने उनी मैदानमा भने बिल्कुलै फरक देखिन्छिन्।
‘म सानैदेखि धेरै नबोल्ने स्वभावको थिएँ, अहिले पनि नयाँ मान्छेसँग बोल्न अप्ठ्यारो लाग्छ,’ सबिताले आफ्नो स्वभाव खुलाइन्। तर, जब उनी फुटबल बुट कसेर मैदान छिर्छिन्, उनको त्यो लजालुपन कता हराउँछ कता, कसैलाई पत्तो हुँदैन। विपक्षी डिफेन्डरका लागि उनी एउटा आक्रामक ‘टाइगर’ बन्छिन्।
साफ च्याम्पियनसिपमा भारतविरुद्धको ऐतिहासिक जितपछि साम्बा (साबित्रा भण्डारी) को बुइँ चढेर उनले मनाएको त्यो भाइरल सेलिब्रेसन नेपाली फुटबल प्रेमीको मानसपटलमा अझै ताजा छ।
जारी विश्वकपको पहिलो खेलमै मेक्सिकोले १० मिनेटभित्रै गोल गरेर घरेलु मैदानको फाइदा उठाउँदा सबिता दंग छिन्। तर, ओपनिङ म्याचमै देखिएका ३ वटा रेड कार्डले उनलाई केही सोच्न बाध्य बनाएको छ। ‘अहिले प्रविधि निकै कडा भएको छ, खेलाडीले सानो गल्ती गर्दा पनि कार्ड खानुपर्ने अवस्था छ,’ सबिता विश्लेषण गर्छिन्।
त्यस्तै, दक्षिण कोरियाले मोरक्कोविरुद्ध १ गोलले पछि परेर पनि २–१ को जित निकाल्नुलाई उनी कोरियाली खेलाडीको ‘मेन्टालिटी’ र ‘कम्बिनेसन’को नतिजा मान्छिन्।
अबको ध्यान क्यानडा र अमेरिकातर्फ मोडिएको छ। क्यानडाले टोरोन्टोमा बोस्नियाविरुद्ध खेल्दैछ भने अमेरिकाले लस एन्जलसमा पाराग्वेको सामना गर्दैछ। ९६ वर्षपछि विश्वकपमा आमनेसामने हुन लागेका अमेरिका र पाराग्वेको भिडन्त निकै रोचक हुने सबिताको अनुमान छ।
‘अमेरिका र क्यानडा दुवै घरेलु टोली हुन्, उनीहरूलाई दर्शकको ठूलो साथ हुनेछ,’ सबिता प्रेडिक्सन गर्छिन्, ‘मेरो विचारमा क्यानडाले १–० ले र अमेरिकाले २–१ ले जित निकाल्नेछन्।’
विश्वकपको यो रोमान्चकता र जिमिनेज जस्ता खेलाडीको संघर्षले सबितालाई छिट्टै मैदान फर्कने ऊर्जा दिइरहेको छ। नेपाली फुटबल समर्थकहरू पनि प्रतीक्षारत छन्– कहिले सबिता मैदान फर्किएर पुन: त्यो आक्रामक गोल र गज्जबको सेलिब्रेसन दोहोर्याउलिन्?
हेर्नुहोस्, नेपालखबरको ‘विश्वकप विशेष’मा आज सबिताको खेल विश्लेषण:
फोटो/भिडिओ: सरोज नेपाल

प्रतिक्रिया