ad ad

भिडियो


भिजिट भिसामा मानव तस्करीः गिरोहमा ट्राभल एजेन्सी, प्रहरी र अध्यागमन कर्मचारी


राधिका अधिकारी
मंसिर २८ , काठमाडौँ

अहिले धेरै युवा जसरी पनि विदेश जान मरिहत्ते गरेको देखिन्छ । प्रायःजसोमा धेरै कमाइ हुने लोभमा देश छाड्न पाए हुन्थ्यो भन्ने सोच देखिन्छ। विदेश गइसकेपछि कति हन्डर र ठक्कर खानुपर्छ भन्ने बेग्लै पक्ष छ । तर देशभित्रै पनि पाइलापाइलामा ठग्ने र रकम असुल्नेको कमी छैन । यसका लागि नक्कली कागजात बनाउने र भिजिट भिसामा विदेश पठाउने गिरोह नै सक्रिय रहेको पाइएको छ। 
नक्कली कागजागत बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जनालाई प्रहरीले पक्राउ नै गरेको छ। गिरोहमा ट्राभल एजेन्सी सञ्चालक र सरकारी कर्मचारी पनि संलग्न पाइएको प्रहरीको दाबी छ।

बुधबार पत्रकार सम्मेलन गरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले गत असोज १९ गतेदेखि हालसम्म यस प्रकरणका ३२ जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिए।

उनकाअनुसार पक्राउ परेकामध्ये कन्सल्टेन्सी सञ्चालक ६ जना, प्रहरी १ जना, पूर्वप्रहरी १ जना, एयरलाइन्स्का २ जना र अन्य विभिन्न सेटिङमा संलग्न व्यक्तिहरु ११ जना रहेका छन्।

उनले ९ जनामाथि संगठित अपराधको कसुरमा र १२ जनामाथि लिखतसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जानकारी दिए। ८ जना धरौटीमा छुटिसकेको जानकारी दिँदै उनले बिहीबार मात्रै थप ३ जनालाई नियन्त्रणमा लिइ अनुसन्धान थालेको बताए।

प्रहरीका अनुसार पक्राउ पर्नेमा वन्ट्रा ट्रिप अनलाइन ट्राभल्सका सञ्चालक मनुराज चौधरी, एचआर टुर्स एण्ड ट्राभल्सका रामप्रसाद भण्डारी, एण्ड होलिडेज एण्ड ट्राभल्सका सरोज यादव, एसकेजे ट्राभल्सका दिनेश ज्ञवाली र रिलेभेन्ट ट्राभल्सका देवराज खनाल रहेका छन्।

त्यस्तै एडभान्स म्यानेजमेण्ट मल्टी ट्रेनिङ सेन्टरका सञ्चालक गणेश पाण्डे पनि पक्राउ परेका छन्। पक्राउ पर्नेमा अध्यागमन विभागका अधिकृत नरविर खड्का, नेपाल वायु सेवा निगमका कर्मचारी अरविन यादव र होम पोखरेल पनि छन्।

कागजात मिलाए बापत ट्राभल्सहरुले प्रतिव्यक्ति १५ हजार रुपैयाँ लिने गरेका र अध्यागमन विभागका कर्मचारीले नयाँको हकमा ५५ हजार र पहिला विदेश पुगेर फर्किएकाबाट ४० हजार रुपैयाँ लिने गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ। 

यसअघि आइतबार प्रहरीले नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा पक्राउ परेका १० जनालाई सार्वजनिक गरेको थियो। उनीहरूले प्रहरी रिपोर्ट, श्रमस्वीकृति, प्लस टुको प्रमाणपत्र, नाता प्रमाणित लगायतका कागजात नक्कली बनाएर विदेश पठाउने गरेको पाइएको छ।

मंसिर २७, २०८० बुधबार २२:४४

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .