ad ad

घुमघाम


२१ वर्षको उमेर, १ सय ९६ देशको यात्राः यसरी बन्यो लेक्सीको कीर्तिमान

२१ वर्षको उमेर, १ सय ९६ देशको यात्राः यसरी बन्यो लेक्सीको कीर्तिमान

लाउरा बेग्ले ब्लुम
जेठ ३०, २०७६ बिहिबार ८:११,

मे ३१, २०१९ मा २१ वर्षे अमेरिकी युवती लेक्सी अल्फोर्डको पाइला उत्तर कोरियामा के पुगेको थियो, उनले कीर्तिमान कायम गरिन्। लेक्सीको कीर्तिमान पृथ्वीको सबै देश घुम्ने सबैभन्दा कान्छो उमेरको व्यक्तिका रुपमा बनेको हो।  यो कीर्तिमानसँगै उनले २४ वर्षका वर्तमान गिनिज वर्ल्ड रेकर्डधारी बेलायतका जेम्स आस्क्विथको रेकर्डलाई पछाडि पारिदिइन् र अन्य ऐतिहासिक कीर्तिमानधारीमाझ आफूलाई उभ्याइन्। २७ वर्षमै सबै देश घुम्ने पहिलो महिला क्यासी डी पेकोललाई पनि जित्दै उनी अगाडि आइन्।

विश्वका १ सय ९६ सार्वभौमसत्ता सम्पन्न देशको भ्रमणमा लेक्सी सफल भइन्। त्यसो त उनी सानैदेखि यात्रा र भ्रमणको पारखी थिइन्। उनी अमेरिकाको क्यालिफोर्नियामा हुर्किएकी हुन्। उनको परिवार पनि यही क्षेत्रसँग जोडिएको छ। उनीहरुको एउटा ट्राभल एजेन्सी छ। ‘मैले सम्झिन सक्ने हुनु अघिदेखि नै यात्रा मेरो जीवनको एक भाग बन्दै आएको छ’, आफूलाई इन्स्टाग्राममा लेक्सीलिमिटलेस भन्न रुचाउने उनी भन्छिन्, ‘मेरो परिवारले मलाई स्कुलबाट तानेर स्वतन्त्र अध्ययनका लागि हरेक वर्षका केही हप्ता वा महिना स्वतन्त्र अध्ययनको लागि छोडिदिन सक्छ।’

जब उनी हुर्किरहेकी थिइन्, उनको परिवारले कम्बोडियोका गाउँहरुदेखि दुवईको बर्ज खालिफासम्म, अर्जेन्टिनाको उशुइयादेखि इजिप्टको विशाल पिरामिडसम्मको यात्रा गरेको थियो। आफूले पाएको कीर्तिमानी यात्रीको जिन्दगी निर्माणमा उनको परिवारले धेरै सहयोग गरेको छ। जसले विश्वका हरप्रकारका जिन्दगीसँग मिलाइदियो। त्यसो त उनी आफैँमा अन्य मानिसका जीवनशैली र उनीहरुले खुसी पाउन गरिरहेको प्रयासबारे रुचि राख्ने स्वभावकी थिइन्। वास्तवमा उनी यस्तो कीर्तिमान राख्न देशहरु चहारिरहेकी थिइनन्। उनी आफ्नै मनचाह स्थानको भ्रमण गरिरहेकी थिइन्। तर पछि उनले आफैँभित्र आफूलाई निकै प्रेरणादायी महसुस गर्नथालिन्। जतिसुकै अप्ठ्यारो अवस्थामा पनि उनले आफ्नो भ्रमणको गति रोक्न खोजिनन्। उनी भन्छिन्, ‘म सबैलाई देखाउन चाहन्थेँ– संसार मिडियाले चित्रण गरेजस्तो डरलाग्दो पनि छैन। बरु यसको उल्टो जहाँसुकै दया र मायाले भरिएको छ।’

lexi 3
स‌ंसार घुम्ने क्रममा लेक्सी

त्यसपछि लाग्यो कीर्तिमानको लोभ
गिनिजमा रेकर्ड राख्ने अभिलाषा लेक्सीमा सन् २०१६ मा आएको हो। सोही बेलादेखि उनी संसारका १ सय ९६ सार्वभौम देशहरुमा पुग्ने र गिनिजमा रेकर्ड राख्न गम्भीर बन्न थालिन्। बेलायती जेम्सले सन् २०१३ मा २४ वर्षको उमेरमा कम उमेरमा सबै देश घुम्ने यस्तो रेकर्ड राखेका थिए। लेक्सी जब १८ वर्षकी थिइन्, संसारका ७२ वटा देश घुमिसकेकी रहिछन्। हो, यही अनौठो यथार्थले उनलाई कीर्तिमानी बन्ने लालसा जगायो। उनले सन् २०१६ को अक्टोबरमा रेकर्ड कायम गर्नेबारे सोचेको फोर्ब्सलाई बताइन्। त्यतिबेला उनी २ वर्षअघि नै हाईस्कुलबाट ग्रेजुएट भइसकेकी थिइन्। स्थानीय कलेजबाट एसोसिएट डिग्री पनि लिइसकेकी थिइन्। उनले स्कुल नजाने निर्णय लिनुअघि पढाइप्रति नै सोचे पनि पुनः रेकर्ड नै पछ्याउने निर्णय लिइन्।

लेक्सीका अनुसार सबै यात्रा व्यक्तिगत खर्चमै सम्भव भएको हो। तर केही ब्रान्ड सम्झौता र क्याम्पनसँग भने उनको सहकार्य भएको थियो, जसले उनलाई केही सहयोग गर्यो। यद्यपि कुनै आधिकारिक प्रायोजन भने हात नपरेको उनी बताउँछिन्। ‘म जहिल्यै आफ्नो यात्राको बारेमा सोचिरहेको हुन्थेँ, जसका कारण १२ वर्षको उमेरदेखि जे जे काम पाएँ, सबै गरेँ र पैसा जुटाइरहेँ’, लेक्सी भन्छिन्। उनले १ वर्षसम्म गरेको बचतले उनको पूरा यात्रा भ्रमणको आधा हिस्सा सम्भव भयो। त्यसपछि उनी आफ्नै परिवारको ट्राभल एजेन्सी जुन क्यालिफोर्नियाको नेवादा सहरमा छ, त्यहाँ ट्राभल कन्सल्ट्यान्टको रुपमा अहिले पनि काम गरिरहेकी छिन्। उनी भ्रमणमा हुँदा पनि केही न केही गरि नै रहेकी हुन्छिन्। फोटोग्राफी, ब्लगिङ उनको यात्राको दौरान गरिने काम हो।

उनी यात्राको लागि पहिले नै आवश्यक खोज र तयारी गरिसक्छिन्। सकेसम्म सस्तो होटलमा बस्छिन्। सम्भव भएसम्म कम खर्च गर्छिन्। घरमा हुँदा परिवारसँगै ज्यादा समय बिताउँछिन्। ‘म आफ्नो पैसा अनावश्यक क्षेत्रमा खर्च गर्दिनँ’, उनी भन्छिन्, ‘मलाई कारको पैसा तिर्नु पनि छैन र विद्यार्थी ऋण पनि तिर्नु छैन।’

केही कुरासँग नजोडिएर, कतिपय कुरासँग जोडिने उपायको खोजी !
इन्स्टाग्राममा पनि उनी केही कुरासँग नजोडिएर पनि जोडिने उपायको खोजी गरिरहेकी हुन्छिन्। ‘केहीलाई आश्चर्य लाग्न सक्ला तर मैले आजसम्म विदेशी सिमकार्ड लिएको छैन’, उनी भन्छिन्, ‘यदि मलाई केही आवश्यक पर्यो भने म सोझै मानिसहरुलाई भन्छु, जो मसँग नजिकै छन्।’ जब उनी नसोचेको र धेरै डरलाग्दो अवस्था भएका देशहरुमा पुग्थिन्, लेक्सीको यात्रा भ्रमणका सम्झनालायक क्षण नै त्यही रहेको उनी बताउँछिन्। ‘त्यस्ता देश जहाँका मानिस धेरै डराउँछन्, ती देशमा घुम्न मलाई अति नै कौतूहल हुन्थ्यो’, उनी भन्छिन्, ‘पाकिस्तान, भेनेजुएलाजस्ता देशहरुमा सधैँ गइरहने पर्यटकीय गन्तव्यमा भन्दा बढी प्राकृतिक सुन्दरता र लोकप्रिय वातावरण पाएको अनुभव गरेँ।’ कुनै पनि आशा नगरी गएको स्थानमा पाइने सन्तुष्टि ठूलो कुरा हुने उनको भनाइ छ।

lexi 2
अमेरिकी युवती लेक्सी अल्फोर्ड 

यात्राको क्रममा उनले पश्चिम र मध्य अफ्रिकी देशमा भने कमजोर पर्यटन पूर्वाधार र भिसाको समस्याका कारण संघर्ष गर्नुपर्यो। भाषाको समस्या र सुरक्षित यात्राको लागि महंगो मूल्यले यसो हुन गएको उनको अनुभव छ। ‘यहाँ धेरै उडानहरु उपलब्ध हुँदैनन्, न त होटल र अंग्रेजी बोल्नसक्ने गाइडहरु नै भेटिन्छन्’, उनी सुनाउँछिन्, ‘उनीहरु आफूले चाहेजति मूल्य असुल्न खोज्छन्, किनकि त्यहाँ आम्दानीको धेरै अन्य स्रोतहरु छैनन्।’ उक्त देशहरुमा भ्रमण गर्दा आफ्नो छाला नै बाक्लिएको उनको भनाइ छ। त्यस्तै लेक्सीको यात्राको सबैभन्दा ठूलो चुनौती भने उत्तर कोरिया भ्रमणको क्रममा रहेको थियो। उक्त देश पुग्न उनले अमेरिकाले लगाएको यात्रा प्रतिबन्धको कारण महिनौँ प्रयास गर्नुपर्यो। त्यसकै प्रतिफलस्वरुप उनले मे महिनामा त्यहाँ जाने अनुमति पाइन्। तर कोरियाको खुलेर भ्रमण गर्न भने पाइनन्। विश्वमा चर्किरहेको राजनीतिक अप्ठ्यारोको कारण उनी गैरसैनिक क्षेत्रमा बस्नुपर्यो। जुन गिनिजको गाइडलाइनमा पर्छ। उनी भन्छिन्, ‘अमेरिकाले भ्रमण प्रतिबन्ध खुल्ला गर्नेबित्तिकै फेरि कोरिया भ्रमणमा जान्छु।’

६ महिनाको मिहिनेत
आफ्नो कीर्तिमानको प्रमाण गिनिजका लागि जुटाइरहेकी उनी १० हजार वटा छुट्टाछुट्टै कागजी प्रमाण संकलन गरिरहेकी छिन्। जब उनी १ सय ९६औँ देशमा पुगिन्, उनको रेकर्डको घडीको सुई टक्क रोकियो। यसपछि उनले लामो श्वास फेरिन्। किनकि उनी यसकै लागि विगत ६ महिनाभन्दा अघिबाटै यो सफलताको चुनौती पन्छाउन थालेकी थिइन्। केही मानिसले सबैभन्दा छिटो विश्व घुम्ने क्यासी डी पेकोलले हरेक देशलाई राम्ररी नबुझी कीर्तिमानको पछि मात्रै लागेको भन्दै आलोचना गर्ने गरेका छन्। उनले सो क्रममा थोरैमा एउटा देशमा दुई दिन मात्रै बिताएकी थिइन्। सोही कारण लेक्सीलाई पनि आलोचना गर्नेहरु नभएका होइनन्। तर यसमा उनलाई कुनै चिन्ता छैन। लेक्सीले भ्रमणका क्रममा जहाँ जहाँ पुगिन्, त्यो देशको राजधानी सहरभन्दा अन्य स्थान नै रोजिन्। किनकि स्थानीय स्वादका परिकार, संस्कृति र प्रकृतिका तस्बिरहरु लिन पनि पाइने हुनाले यसो गरेको उनी बताउँछिन्। हप्तौँ बिताउने गरी आफूले रकम जुटाउन पनि गाह्रो हुने उनको भनाइ छ। कुनै कुनै देशमा उनले एउटा देशमा २ देखि ३ दिनसम्म मात्रै बिताइन्। दक्षिण सुडान, सोमालिया, माली, चाड र पपुवा न्युगिनीजस्ता देशमा उनी धेरै बसिनन्। सुरक्षाको कारण पनि यस्तो सम्भव नभएको उनको भनाइ छ।

१ सय ९६ देश घुमिसकेकी लेक्सीको अबको दिन कसरी बित्छ त?
उनी भन्छिन्, ‘म अहिले हरेक देशमा आफूले गरेको अनुभव समेटेर किताब लेख्दै छु।’ त्यसबाहेक शारीरिक आराम र मानसिक स्वास्थ्यलाई बलियो बनाएर मात्र अन्य योजना बनाउने उनको भनाइ छ।
लेक्सीले के पाइन् विश्व घुमेर? उनले विश्व भ्रमण गरिसकेपछि त्यसबाट बटुलेका महत्वपूर्ण कुराहरु अझै छुट्याइसकेकी छैनन्। यद्यपि उनले केही महत्वपूर्ण पाठहरु भने यात्राको सिलसिलामा सिकेकी छिन्। तीमध्ये बुँदागत रुपमा केही यस्ता छन्–

  • हरेक कुरा सम्भव छ
  • आफ्नो मिहिनेतले आर्जित रकम अनावश्यक वस्तुमा खर्च नगर्नुहोस्, जति सक्दो बचाउनुहोस् र आफ्नाे परिवारमै फर्किनुहोस्। यात्राको लागि केही बलिदानी पनि गर्नुपर्ने हुन्छ, तयार हुनुहोस्।
  • संसारमा खराबभन्दा धेरै असल कुराहरु छन्
  • अनुभवकै लागि तपाईं सुन्दर स्थानबाट भाग्न सक्नुहुन्न
  • सबै देश पहुँचयोग्य छ र हामीले त्यहाँ धेरै कुरा सिक्न सक्छौँ
  • जतिपटक म वाइफाइबाट अलग्गिएँ, त्यति नै पटक म आफ्नै वरिपरि भइरहेका कुराहरुसँग जोडिएँ, जुन निकै दुर्लभ कुरा हो
  • भर्खरका मानिसलाई मेरो सल्लाह छः दिमागमा सोचिने सबै कुरा तपाईं गर्न सक्नुहुन्छ। यदि तपाईं जीवनको सबै पक्षभन्दा यात्रालाई रोज्नुहुन्छ भने मुख्य कुरा समय नै हो, तपाईं यसलाई यथार्थमा बदल्न सक्नुहुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .