घुमघाम


बाघ हेर्न गाभर भ्याली होमस्टे

बाघ हेर्न गाभर भ्याली होमस्टे

नेपालखबर
कात्तिक २९, २०८२ शनिबार ७:३५, काठमाडौँ

बाघ, हात्ती र चितुवा लगायतका बन्यजन्तु सजिलै हेर्न सकिने भएकाले बाँकेको बैजनाथ गाउँपालिकास्थित गाभर भ्याली सामुदायिक होमस्टे आन्तरिक पर्यटकले गुल्जार बनेको छ।

दशैं-तिहार जस्ता मुख्य चाडपर्व सकिएसँगै गाभर भ्यालीमा पर्यटकको चहलपहल बढ्दै गएको छ। गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्णलाल चौधरीका अनुसार, वर्षायाममा सुनसान हुने गरेको होमस्टेमा अहिले पाहुनाको आगमन बढेको छ। 

गाभर भ्याली पुग्ने पर्यटक विशेषगरी पदमार्ग र जङ्गल सफारीप्रति आकर्षित भएका छन्। बाँके, बर्दिया मात्र नभई कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका जिल्लाबाट समेत ठूलो संख्यामा पर्यटक आइरहेका छन्।

छोटो समयमै पर्यटकीय क्षेत्रको पहिचान बनाउन सफल गाभर भ्याली बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्छ। यहाँ आउने आन्तरिक पर्यटक पछिल्लो समय निकुञ्जभित्र जङ्गल सफारी गर्न रुचाउँछन्। बाघ, हात्ती र चितुवा लगायतका वन्यजन्तु हेर्ने र प्रकृतिको आनन्द लिने अवसरका कारण यो क्षेत्रको महत्त्व बढेको अध्यक्ष चौधरीको भनाइ छ।

थारू र मुगाली समुदायद्वारा सञ्चालित गाभर भ्याली होमस्टेमा अहिले दैनिक करीब पाँच सय आन्तरिक पर्यटक पुग्ने गरेका छन्। यहाँ केवल परम्परागत होमस्टे मात्र नभई ठूलो लगानीका आरामदायी होटल समेत थपिएका छन्, जसले पाहुनालाई पूर्वाधारयुक्त सेवा प्रदान गरिरहेका छन्।

अध्यक्ष चौधरीका अनुसार, गाभर भ्याली होमस्टेले जीविकोपार्जनभन्दा माथि उठेर नयाँ अवधारणा अघि सारेको छ। ‘हामीले केवल जीविकोपार्जन मात्रै नभई नेपालमै पहिलोपटक आयआर्जन, संस्कृतिको प्रवर्द्धन, प्रकृतिको संरक्षण र बाघ पर्यटनको अवधारणा अघि सारेका छौं,’ अध्यक्ष चौधरीले भने, ‘गाभर भ्याली होमस्टे आन्तरिक पर्यटन प्रवर्द्धनको अगुवा र पर्यटन उद्योगमा नयाँ आयामको सुरुआत गर्ने स्थल हो।’

अध्यक्ष चौधरीका अनुसार, पुराना होमस्टेलाई पूर्वाधारयुक्त बनाइएको छ भने ठूलो लगानीका होटल पनि थपिएका छन्। २०७० सालमा सुरु भएको गाभर भ्याली सामुदायिक होमस्टे अहिले नेपालकै नमूनाका रूपमा चिनिन्छ। 

बाँकेमा सञ्चालित होमस्टे जीविकोपार्जन मात्रै नभई आयआर्जनको माध्यम बनेको छ। गाभर भ्याली होमस्टेमा सुरूका दिनमा २०–३० हजार रुपैयाँबाट व्यवसाय सुरु गरिए पनि अहिले २० देखि ५० लाखसम्म लगानी रहेको अध्यक्ष चौधरीले बताए। 

होमस्टेको स्थापनापछि गाउँलेको बोलीचाली, रहनसहनदेखि आर्थिक स्तरमा समेतमा उल्लेख्य सुधार आएको छ। बाँकेमा सञ्चालित यो होमस्टे अहिले जीविकोपार्जन मात्रै नभई दिगो आयआर्जनको बलियो माध्यम बनेको होटल व्यवसायी महासङ्घ बाँकेका अध्यक्ष भीम कँडेलले बताए। (रासस)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad