कैलाली र कञ्चनपुरमा मात्रै बसोबास रहेको राना थारू समुदायले सञ्चालन गरेको होमस्टे फष्टाउँदै गएको छ।
दश वर्षअघि कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ नयाँ कटानमा स्थापना भएको होमस्टे राना थारू समुदायको आयआर्जनको माध्यम बनेको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको होमस्टेमा हिउँदे याममा बाह्रसिङ्गे, चित्तल, मयूर, बदेल र विभिन्न प्रजातिका चराचुरुङ्गी सहजै अवलोकन गर्न सकिन्छ। शुक्लाफाँटा बाह्रसिङ्गेका लागि परिचति छ।
राना थारू सामुदायिक होमस्टेका अध्यक्ष परशुराम रानाले निकुञ्जसित जोडिएकाले बन्यजन्तु अवलोकन गर्न पाइने गरेको बताए। ‘निकुञ्जले तार जाली नहालेका वेला त चित्तल, बँदेलले हाम्रो खेतबारीमा निकै नोक्सान पुर्याउथे,’ अध्यक्ष रानाले भने, ‘निकुञ्ज भ्रमण गर्नेहरू प्रायः बासका लागि होमस्टेमै आउँछन्।’
आन्तरिक तथा बाह्य पर्यटक आउने क्रम चलिरहेको भए पनि आवश्यक प्रचार नभएको उनको छ। ‘मुलुकका अन्य निकुञ्ज छेउछाउबाट अवलोकनका लागि आउनेहरू बास यहीं बस्छन्,’ अध्यक्ष रानाले भने, ‘गत वर्ष मात्रै तीन हजारको हाराहारीमा पाहुना आएका थिए।’
आठ वटा घरमा होमस्टे सञ्चालन गरिएको छ। प्रत्येक सञ्चालकले वार्षिक डेढदेखि दुई लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको उनले जानकारी दिए। निकुञ्जका साथै होमस्टेमा बास बस्ने पर्यटकलाई दोधारा चादँनी झोलुङ्गे पुल र पिपरियामा रहेको हात्तीसारमा हात्ती अवलोकनका लागि पनि सहज छ।
हिउँदको समय र फागुनदेखि जेठसम्म पर्यटक बासका लागि धेरै आउने गरेको उनी सुनाउँछन्। राना थारू परिकारदेखि पहिरन र सांस्कृतिक कार्यक्रममा रमाउने गर्छन। गत साउनयता दुई सयभन्दा बढी पर्यटकले बास बसेको उनले बताए।
होमस्टे सञ्चालनका लागि दातृ निकायले सहयोग गर्दै आएका छन्। ‘दश वर्षअघि होमस्टे शुरू गर्दा पनि दाताहरूबाट सहयोग मिलेको थियो,’ उनले भने।
भीमदत्त नगरपालिकाको नयाँ कटानसँगै कृष्णपुरको वाणी र शुक्लाफाँटा नगरपालिकाको जोनापुरमा समेत होमस्टे सञ्चाल भइरहेका छन्। कञ्चनपुर उद्योग वाणिज्य सङ्घका सचिव राहुल भट्टले जिल्लामा आउने पर्यटकका लागि होमस्टे सहज र उपयोगी भएको बताए।
पर्यटकमैत्री प्याकेजहरू सञ्चालन गरेर जिल्लाका पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा निजी क्षेत्रले पनि प्रयास गरिरहेको उनको भनाइ छ। होमस्टे वृद्धि तथा सञ्चालनमा निजी क्षेत्रको सहकार्य पनि जरुरी रहेको उनले बताए। (रासस)
Shares

प्रतिक्रिया