सुदूरपश्चिम


किशोरीसँग ‘प्रेम सम्बन्ध’मा थिए हाकिम, बेपत्ता भएपछि चौकीका प्रहरी तानिए

किशोरीसँग ‘प्रेम सम्बन्ध’मा थिए हाकिम, बेपत्ता भएपछि चौकीका प्रहरी तानिए

गोकुल जोशी
कात्तिक १, २०८१ बिहिबार २०:५७, कञ्चनपुर

गत असोज २५ गते सबेरै बैतडीको पञ्चेश्वर गाउँपालिका–२ डिम्मरकी १७ वर्षीया किशोरी पानी लिन गइन्। उनको घर नजिकै पानीको धारा छ। ती किशोरी सधैँ पानी ल्याउन त्यहीँ धारामा जान्थिन्।

सबेरै पानी लिनका लागि गएकी किशोरी त्यो दिन अबेरसम्म पनि घर फर्किनन्। छोरी घर फिर्ता नआएपछि परिवारले यताउता उनको सोधीखोजी गरे। तर केही अत्तोपत्तो नचलेपछि आमाबुवाको मनमा चिसो पस्यो।

पानीको धारानजिकै महाकाली प्रहरी चौकी छ। त्यही चौकीनजिकै किशोरीले पानी ल्याउन लगेको ‘ग्यालेन’ र डोरी भेटियो। एक हप्ता बितिसक्दा पनि ती किशोरी अझै घर फर्किएकी छैनन्।

छोरीको अवस्था अज्ञात हुँदा उनको परिवारलाई चिन्ताले पिरोलिरहेको छ। पहिलो दिन नै परिवारका सदस्यले महाकाली प्रहरी चौकीका इन्चार्ज प्रहरी हवल्दार कृष्णराज जोशीलाई खोजीका लागि भनेका थिए। तर उनी भागेर भारततिर लागे।

त्यसअघि नै ती किशोरी र प्रहरी हवल्दार जोशीबीचको सम्बन्धको गाउँमा ‘गाइँगुइँ’ चलेको थियो। २३ असोजको बेलुकी उनीहरू दुवै जना करिब चार घण्टा हराए। त्यसपछि अर्को दिन किशोरी आमाबुवासँग खेतीपातीमा देखिएकी थिइन्।

हवल्दार जोशी शिवनाथ गाउँपालिका–१, नागार्जुन घाटबाट महाकालीपारि भारततर्फ गएको र राति फेरि वारि फर्किएको गाउँलेहरूको दाबी छ।

हवल्दार जोशीले किशोरी बेपत्ता पारेको भन्दै पीडित परिवारले प्रहरीमा किटानी जाहेरी दिएका छन्। व्यक्ति बेपत्ता पार्ने कसुरमा जोशीविरुद्ध जाहेरी दर्ता भएर अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ।

२५ असोजमा भागेर महाकालीपारि भारतको सुगरखाल पुगेका जोशीलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए। उनी अहिले जिल्ला प्रहरी कार्यालय, बैतडीको हिरासतमा छन्।

किशोरी र प्रहरी हवल्दारको ‘सम्बन्ध’लाई बल पुर्‍याउने प्रमाण पनि भेटिएका छन्। प्रहरी हवल्दार जोशीको मोबाइलमा ती किशोरी र जोशीका संयुक्त तस्बिर भेटिएका छन्।

‘चौकीनजिकै घर भएकाले ५/६ महिनाअघि चिनजान भएको बताइरहेका छन्,’ प्रहरी स्रोत भन्छ, ‘उनको मोबाइलमा दुवैका फोटा पाइएका छन्। जसले सम्बन्धमा रहेको देखिन्छ।’

पानी पँधेरो एउटै ठाउँमा गर्ने र चौकीनजिकै घर हुँदा चिनजान भएको हवल्दार जोशीले प्रहरीसमक्ष बताएका छन्।

तर किशोरी बेपत्ता बारेमा भने उनले अझै मुख खोलेका छैनन्। किशोरी बेपत्तामा आफ्नो संलग्नता नरहेको उनको जिकिर छ।

किशोरीको खोजीका लागि प्रहरी निरीक्षक बलराम पाण्डेयको नेतृत्वमा प्रहरी टोली पञ्चेश्वरमा खटिएको छ। तर बिहीबार बेलुकीसम्म उनको अवस्था अज्ञात छ।

घटनाको विस्तृत रूपमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीले जनाएको छ। महाकाली प्रहरी चौकीमा सईको नेतृत्वमा ४ जना प्रहरी बस्थे।

त्यहाँका प्रहरी सईको फागुनतिर सरुवा भएपछि प्रहरी हवल्दार जोशीले इन्चार्जको जिम्मेवारी सम्हालिरहेका थिए। प्रहरी इन्चार्ज जोशी किशोरी बेपत्तामा मुछिएपछि महाकाली चौकीका प्रहरी कर्मचारी जिल्ला तानिएका छन्।

एक जना सहायक हवल्दार र एक जना प्रहरी जवान जिल्ला तानिएका हुन्। हवल्दार जोशीको नेतृत्वमा काम गरेका एक जना सहायक हवल्दारबाहेक अन्य प्रहरी कर्मचारीलाई जिल्ला झिकाइएको हो।

महाकाली प्रहरी चौकीमा अहिले सई सुरतबहादुर साउँदको नेतृत्वमा नयाँ टोली पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनक ढुंगानाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad