सुदूरपश्चिम


सुदूरपश्चिमका ६ ठाउँमा उपचुनाव, कांग्रेस-एमाले मुख्य प्रतिस्पर्धी

सुदूरपश्चिमका ६ ठाउँमा उपचुनाव, कांग्रेस-एमाले मुख्य प्रतिस्पर्धी

बाजुरा, बझाङ, डोटी, दार्चुला, कञ्चनपुर र कैलालीका एक/एक स्थानमा उपचुनाव हुनेछ (तस्बिर : यसअघिका रिक्त ६ ठाउँका जनप्रतिनिधि)


गोकुल जोशी
कात्तिक २०, २०८१ मंगलबार १८:४, कञ्चनपुर

सुदूरपश्चिमका ६ ठाउँमा स्थानीय तहको उपचुनाव हुँदैछ। आगामी मंसिर १६ गते सुदूरपश्चिमका ६ जिल्लाका ६ ठाउँमा उपचुनाव हुन लागेको हो। 

विविध कारणले रिक्त रहेका स्थानीय तहका जनप्रतिनिधिको पदपूर्तिका लागि उपचुनाव हुन लागेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले बताए।

उनका अनुसार बाजुरा, बझाङ, डोटी, दार्चुला, कञ्चनपुर र कैलालीका एक/एक स्थानमा उपचुनाव हुनेछ। अन्तिम मतदाता नामावली तयार गर्ने काम भइरहेको भट्टले बताए। 

स्थानीय तह निर्वाचन ऐन २०७३ मा निर्वाचित जनप्रतिनिधिको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पद पूर्ति हुने व्यवस्था छ। 

सोही व्यवस्था अनुसार सुदूरपश्चिमका विभिन्न जिल्लाका स्थानीय तहका ६ पदमा उपनिर्वाचन हुन लागेको हो। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुदैछ। ०७९ को स्थानीय तह चुनावमा उपाध्यक्षमा निर्वाचित मैना जोशीको ०८० माघ ३ मा निधन भएपछि पद रिक्त छ।

कांग्रेसबाट निर्वाचित जोशीले त्यसबेला एक हजार ८ सय १० मत ल्याएकी थिइन्। उनका प्रतिस्पर्धी नेकपा एमालेकी सुलोचना कुमारी भण्डारी बुढाले एक हजार ६ सय ३७ मत ल्याएकी थिइन्।

बझाङको सुर्मा गाउँपालिका–४ को अध्यक्ष, डोटीको पूर्वीचौकी गाउँपालिका–६, दार्चुलाको दुहुँ गाउँपालिका–५, कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को अध्यक्ष र जिल्ला समन्वय समिति कैलाली प्रमुखका लागि उपचुनाव हुँदैछ।

सुर्मा गाउँपालिका–४ मा एमालेबाट निर्वाचित सर्जन बहादुर बोहरको ३८ वर्षको उमेरमा ०८० जेठ २४ गते निधन भएको थियो। ६ सय २९ मत ल्याएका उनीसँग पराजित कांग्रेसका लोकबहादुर बोहराले ६ सय ४ मत ल्याएका थिए। 

डोटीको पुर्वीचौकी गाउँपालिका–६ का अध्यक्ष पुष्पराज जोशीको निधन भएपछि पूरा कार्यकाल चलाउन पाएनन्। उनको ०७९ मंसिर १५ मा ह्दयद्दातका कारण निधन भएको थियो। 

५ सय १३ मतसहित कांग्रेसबाट निर्वाचित जोशीले एमालेका देवबहादुर भण्डारीलाई पराजित गरेका थिए। भण्डारीले ३८७ मत मात्रै ल्याएका थिए।

दार्चुलाको दुहुँ गाउँपालिका–५ मा माओवादीबाट निर्वाचित अध्यक्ष मनोरथ भट्टको ०८० असार ११ मा निधन भयो। रिक्त वडाध्यक्ष पदमा उपचुनाव हुन लागेको हो। भट्टले ५ सय ८२ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका मानसिंह बडालले ३ सय २ मत ल्याएका थिए। 

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का अध्यक्ष महेन्द्र खड्का ०८० पुस २६ मा मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा महाकाली सिँचाइ नहरको सडकमा मृत भेटिए। त्यसपछि भीमदत्त नगरपालिका–६ को वडाध्यक्ष पद रिक्त छ। 

भीमदत्तका नगर प्रवक्ता समेत रहेका खड्काले एक हजार एक सय २ मतसहित नेपाली कांग्रेसबाट जितेका थिए। उनका प्रतिस्पर्धी नेकपा एमालेका जनकराज अवस्थीले ६ सय ९८ मत ल्याएका थिए।

जिल्ला समन्वय समिति कैलालीको प्रमुख पदका लागि पनि उपचुनाव हुन लागेको छ। तत्कालीन नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादी गठबन्धनबाट जिसस प्रमुख जितेका पदमबहादुर कलेलको ०७९ पुस २३ मा निधन भएको थियो।

उपचुनाव आउन झण्डै एक महिना अगावै राजनीतिक दलहरुले उपचुनावको चहलपहल बढाउँदै लगेका छन्। उम्मेदवार टुंगो लगाउन राजनीतिक दलले छलफल चलाएका छन्। कतिपय स्थानमा त उम्मेदवार टुंगो लगाएर सत्तारुढ कांग्रेस र एमालेले प्रचार पनि थालिसकेका छन्। 

उपचुनाव हुन लागेका सुदूरका ६ स्थानमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ।

‘उम्मेदवार छान्नका लागि छलफल सुरु गरेका छौँ। मंसिर पहिलो साता उम्मेदवार टुंगो लगाउँछौँ,’ नेपाली कांग्रेस बझाङका सचिव उत्तम बहादुर रोकायाले भने, ‘सत्तारुढ दलहरुबीच गठबन्धन हुँदैन। एक्लाएक्लै चुनाव लड्छौँ।’

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को अध्यक्षका लागि सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले उम्मेदवार टुंगो लगाएका छन्। 

नेपाली कांग्रेसले वडा सभापति प्रकाश चन्दलाई उम्मेदवार बनाएको छ। नेकपा एमालेले भीमदत्त नगरपालिका–६ मा पूर्व–शिक्षक बहादुर चन्दलाई मैदानमा उतारेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad