बिहान सबेरै उठेर गोठको मल सोहर्छन्। भैँसीलाई आहारा दिन्छन् र दूध दुहुन्छन्। अनि दूध लिएर गाउँबजार डुल्छन्। उनीहरू दिनभर भैँसी फार्मकै काममा व्यस्त हुन्छन्।
कञ्चनपुरको भीमदत्त नगरपालिका-१५ निम्बुखेडाका जगदीश पाण्डेय दम्पतीको दिनचर्या ५ वर्षयता यस्तै छ। जगदीशले गाउँमा नमुना भैँसीपालक नाम मात्रै बनाएका छैनन्, गतिलो दाम पनि कमाइरहेका छन्।

विदेशमा पसिना बगाइरहेका जगदीशलाई लागेको थिएन- यसरी आफ्नै गाउँमा पौरख गर्ने अवसर जुर्ला भनेर। कोरोना महामारीको लकडाउनले उनलाई स्वदेशमै उद्यमको बाटो खोलिदियो।
वि.सं. २०७५ मा बुवा बितेपछि जगदीश विदेशबाट घर फर्किए। उनले २० वर्ष दुबईमा अटो मोबाइल्समा सेल्स म्यानको रूपमा काम गरे। उनका अनुसार त्यहाँ उनले मासिक दुई/अढाई लाख रुपैयाँ तलब पाउँथे।
बुवाको काजकिरिया सकेपछि उनी फेरि दुबई जान खोज्दै थिए। तर लकडाउनले रोकिए।
‘टिकट काटिसकेको थिएँ। तर कोरोनाको लकडाउनले दुबई फर्किन सकिनँ। रोजगारी गुम्यो। त्यसपछि घरमै बसेर के गर्ने? खाली बस्नु भन्दा त गाई पाल्ने योजना बनाइयो’, जगदीश भन्छन्, ‘३० हजारमा गाउँबाटै एउटा गाई किनेँ। त्यसपछि ६ महिनापछि अर्को गाई थपेँ।’
गाईको दूधको माग कम आउन थालेपछि उनी भैँसी पालनतिर लागे। दुई गाईसँगै तीन भैँसी थपेर उनी गाउँमै कृषि कर्ममा व्यस्त हुन थाले।

अहिले उनको फार्ममा पाडापाडीसहित ३२ भैँसी छन्। ३० हजारबाट थालिएको भैँसी पालनमा अहिले ६०/६५ लाख लगानी पुगिसकेको उनी बताउँछन्।
‘सुरुमा गोठ सानो थियो। अहिले ठूलो बनाएका छौँ। गाउँमा र महेन्द्रनगर बजारमा घरघरमै पुगेर दूध बिक्री गर्छौं’, उनले नेपालखबरलाई सुनाए, ‘माग धेरै छ। पूर्ति गर्नै मुस्किल छ।’

दिनमा ३० देखि ४५ लिटरसम्म दूध बिक्री गर्ने गरिएको जगदीशले बताए। भैँसीको दूध ९० रुपैयाँ लिटरका दरले बिक्री हुन्छ।
भैँसीपालनमा जगदीशलाई उनकी श्रीमती सरस्वतीले सघाइरहेकी छन्।
उनले फार्ममा ३ महिलालाई रोजगारी पनि दिएका छन्। खान, बस्ने सुविधासहित उनी हरेकलाई मासिक १५ हजार रुपैयाँ तलब दिन्छन्।
भैँसीपालनबाट मासिक एक लाखभन्दा बढी आम्दानी हुने गरेको उनको भनाइ छ। जसअनुसार जगदीश र उनकी श्रीमतीले वर्षमा १५/२० लाख रुपैयाँ कमाइरहेका छन्।

दूधबाहेक गोबर मल, पाडापाडी र भैँसी पनि बिक्री हुने गर्छन्। जगदीशका अनुसार गोबर मल ५ हजार रुपैयाँ ट्रलीका दरले बिक्री हुन्छ। वर्षमा ६० ट्रली गोबर मल बिक्री हुने गरेको उनले बताए।
जगदीशको परिवारमा ४ जना छन्। छोरी चाँदनी एमबीबीएस सकेर अहिले इन्टरसिपमा छिन्। छोरा हरिश काठमाडौँमा सिभिल इन्जिनियर पढिरहेका छन्।
‘दुबईमा हुँदा नै छोरी र छोरा भर्ना भए। त्यहाँको कमाइले पढाउन सकिएला भनेर आँटेको थिएँ। पछि रोजगारी नै गुम्यो,’ जगदीशले भने, ‘छोराछोरीको पढाइलाई कसरी निरन्तरता दिने भन्ने चिन्ता थियो। भैँसीपालनले जसोतसो पढाइ खर्च जोहो भएको छ।’

जगदीशको परिवारको आम्दानीको स्रोत नै भैँसीपालन हो। भैँसीको आहार व्यवस्थापनका लागि नै उनले गाउँमै ६ विगाह जमिन भाडामा लिएका छन्। वर्षको प्रतिबिघा ३० हजार रुपैयाँ भाडा तिर्ने गरिएको जगदिशले बताए।
नमुना र उत्कृष्ट भैँसीपालक किसानको परिचय बनाएका जगदीशले विभिन्न पुरस्कार पनि पाइसकेका छन्।
२५ हजार राशिको जिल्लास्तरको भीमदत्त उत्कृष्ट र ७५ हजार नगदसहितको प्रदेशस्तरको भीमदत्त उत्कृष्ट कृषक पुरस्कार उनले पाएका हुन्।

विदेशको लोभलाग्दो तलबको मोह छाडेर स्वदेशमै कृषि कर्ममा जमेका जगदीशले गतिलो आम्दानी गरिरहेका छन्।
Shares

प्रतिक्रिया