दौरा–सुरुवालमा सजिएका छन्। पिठ्युँमा ठूलो झोला भिरेका छन्। झोलाभित्र बिछ्याउने ‘म्याट’देखि पानी, कपडा र दैनिक आवश्यक सरसामान भरिएका छन्।
काँधमा राष्ट्रिय झण्डा झुन्डिएको छ। एक हातमा लौरो, अर्को हातमा मोबाइल अड्याइएको स्ट्याण्ड। भिडिओ खिच्दै गाउँबस्ती डुलिरहेका यिनै युवा हुन्, दाङको तुलसीपुर नगरपालिका–९ नवलपुरका २८ वर्षीय मदन केसी।
देशलाई नजिकबाट बुझ्ने र नेपाली समाजको वास्तविक चित्र संसारसामु प्रस्तुत गर्ने उद्देश्यसहित उनी अहिले ५ वर्षे पदयात्रामा छन्। ‘महान नेपाल ५ वर्षे पदयात्रा’ नाम दिइएको यो अभियानमार्फत उनले पैदल हिँडेरै नेपालका ७७ वटै जिल्ला पुग्ने अठोट लिएका छन्।

बुद्ध जन्मभूमि लुम्बिनीबाट गत चैत्र ५ गते यात्रा सुरु गरेका केसी ५७ दिनपछि आइतबार महेन्द्रनगर पुगेका हुन्। यात्राका क्रममा उनी गाउँबस्ती पुगेर स्थानीय जनजीवन, संस्कृति, रहनसहन, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको अवलोकन गरिरहेका छन्। त्यहाँका सम्भावना, समस्या र स्थानीयको संघर्षलाई नजिकबाट बुझेर त्यसलाई समेट्दै डकुमेन्ट्री निर्माण गर्ने उनको योजना छ।
‘यो यात्रा केवल घुमफिर मात्र होइन, देश चिन्ने र जनताको जीवन बुझ्ने यात्रा हो,’ केसी भन्छन्, ‘पाँच वर्षसम्म कुनै सवारी साधन प्रयोग नगरी पैदल नै सबै जिल्ला पुग्ने लक्ष्य लिएको छु। जस्तोसुकै चुनौती आए पनि त्यसलाई अवसरमा बदल्दै अघि बढ्नेछु।’
यात्राका क्रममा उनी कहिले स्थानीय बासिन्दाको घरमा त कहिले सार्वजनिक स्थलमै बास बस्ने गरेका छन्। कतिपय स्थानमा आफ्नो खर्चमै यात्रा गरिरहेका उनी केही ठाउँमा स्थानीय दाता र शुभेच्छुकको सहयोगले पनि अघि बढिरहेका छन्।
वैशाख १ गते सत्ती नाका हुँदै सुदूरपश्चिम प्रवेश गरेका केसीले हालसम्म यहाँको कैलाली र कञ्चनपुरको यात्रा पूरा गरिसकेका छन्।

कञ्चनपुरमा उनले डोकेबजार, प्याराताल हुँदै दोधारा–चाँदनीको अन्तिम बिन्दु कुतियाकबरसम्म पुगेर फर्किएका छन्। प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति र सीमावर्ती क्षेत्रको जीवनशैलीले आफूलाई निकै प्रभावित बनाएको उनले बताए।
अब उनको यात्रा सुदूरपश्चिमका पहाडी जिल्लातर्फ अघि बढ्नेछ। हालसम्म ५ जिल्लाको यात्रा पूरा गरिसकेका केसी सुदूरपश्चिमका ९ जिल्लामै करिब ६ महिना बिताउने योजनामा छन्। त्यसपछि कर्णाली प्रदेश हुँदै देशका अन्य भूभागमा पुग्ने उनको तयारी छ।
सल्यानमा जन्मिएका केसीको परिवार हाल दाङमा बस्दै आएको छ। परिवारमा ६ जना सदस्य छन्। लामो यात्राका कारण घरपरिवारको जिम्मेवारी उनीहरूले नै सम्हालिरहेको बताउँदै केसी भन्छन्, ‘घरको चिन्ता भन्दा पनि अहिले देश बुझ्ने जिम्मेवारी ठूलो लागेको छ। यात्राका क्रममा धेरैले साथ, माया र सहयोग दिनुभएको छ, त्यसैले अझ हौसला मिलेको छ।’
देशका ७७ वटै जिल्ला पैदल यात्रा गरेर पुनः लुम्बिनीमै पुगेर यात्रा समापन गर्ने उनको लक्ष्य छ। भारतबाट ‘ड्रोन टेक्नोलोजी’मा उनले स्नातकसम्मको अध्ययन गरेका छन्। 
Shares

प्रतिक्रिया