गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप सम्मेलन आगामी अगस्ट १० र ११ मा आयरल्यान्डको डबलिनमा हुने भएको छ।
राजधानी डबलिनस्थित रेडिसन ब्लू रोयल होटलमा आयोजना हुने यो १७ औं युरोप सम्मेलनको नाम ‘संकल्प’ दिएर तयारी सुरु गरिएको छ।
आज अनलाइन भर्चुअलमा आयोजित पत्रकार सम्मेलनमा संघका युरोप संयोजक रोबोट लिम्बूले सम्मेलनमा २५ भन्दा बढी देशका ३ सय भन्दा बढी प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको बताए।
सम्मेलनमा गैरआवासीय नेपालीको नागरिकताको निरन्तरता, नेपालमा दीर्घकालीन लगानी, युरोपमा रहेका नेपालीहरुका समस्या तथा संघको आन्तरिक संरचना लगायतका नियमित एजेन्डामा छलफल हुने आयोजकले पत्रकार सम्मेलनमार्फत जनाएको छ।
संघको तर्फबाट सम्मेलन उद्घाटनका लागि परराष्ट्रमन्त्री शिशिर खनाललाई अनुरोधसहित निमन्त्रणा गरिसकेको छ। सम्मेलनमा संघका केन्द्रीय पदाधिकारी लगायतको विशेष उपस्थिति रहने संयोजक लिम्बूले बताए।
पत्रकार सम्मेलनमा संघका केन्द्रीय अध्यक्ष डा हेमराज शर्मा, महासचिव डा चिरञ्जीवी खड्कालगायतले सम्मेलनको बारेमा प्रकाश पारेका थिए।
सम्मेलनको व्यवस्थापनको जिम्मा गैरआवासीय नेपाली संघ आयरल्यान्डले लिएको छ।
गैरआवासीय नेपाली संघको १६औँ युरोपियन क्षेत्रीय सम्मेलन सन् २०२५ को मार्च २८ देखि ३० सम्म माल्टामा भएको थियो।
Shares

प्रतिक्रिया