कैलाली प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा पुराना र नयाँ पार्टीबीच पेचिलो प्रतिस्पर्धा हुँदैछ।
नेपाली कांग्रेस र नेकपा एमालेलाई नेकपा, रास्वपा, राप्रपा र नागरिक उन्मुक्ति पार्टी नेपालका उम्मेदवारले टक्कर दिँदैछन्।
कैलाली २ मा कांग्रेसका विजयबहादुर स्वाँर, एमालेका सूर्यबहादुर थापा, नेकपाका नन्दबहादुर साउँद, रास्वपाका केपी खनाल, राप्रपाका भरतसिंह बिसी र नाउपा नेपालका पतिराम चौधरी उम्मेदवार छन्।
०७९ को चुनावमा नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरीलाई जिताएको यस क्षेत्रमा अहिले कांग्रेस, एमाले विरासत फर्काउने रणनीतिका साथ मैदान उत्रिएका छन्।
अघिल्लो चुनाव जितेको नाउपा छिन्नभिन्न भएर नेकपा, रास्वपा र नाउपा नेपाल गरेर फरक फरक कित्तामा पुगेका छन्। यही मौकामा बालेन्द्र शाह बालेनलाई भित्र्याएर देशभर चलिरहेको रास्वपाको लहरलाई तान्दै जित निकाल्ने दाउमा छन् बालेन निकट केपी खनाल।
रास्वपाको केन्द्रीय सदस्य समेत रहेका २६ वर्षीय खनाल पाका नेताविरुद्ध चुनाव लड्दैछन्। सरसफाइ अभियन्ताको रुपमा परिचित खनाल संसदीय राजनीतिमा होमिएका छन्।
भ्रष्टाचारमुक्त प्रशासन, युवा स्वरोजगार र सुलभ स्वास्थ्य सेवालाई मुख्य मुद्दा बनाएर उनी मत मागिरहेका छन्।
‘राजनीतिलाई व्यक्तिगत लाभको साधन होइन, समाज रुपान्तरणको माध्यम बनाउन तत्पर छु,’ खनाल भन्छन्, ‘राजनीति मेरो लागि सेवा, जिम्मेवारी र परिवर्तन हो।’
कांग्रेसका स्वाँर पहिलो पटक संसदीय चुनाव लड्दैछन्। विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित उनलाई पार्टीको मत सुरक्षित गर्दै जित निकाल्नु पर्ने चुनौती छ। नेपाल प्रहरीको जागिर छोडेर राजनीतिमा जोडिएका स्वाँर जित निकाल्दै पारिवारिक राजनीतिक विरासत फर्काउन कस्सिएका छन्।
पञ्चायतकालीन गृहमन्त्री स्व नैनबहादुर स्वाँरका छोरा हुन् विजय। प्रहरीको जागिर छोडेर यातायात व्यवसाय क्षेत्रमा जोडिएका उनले त्यहीँबाट राजनीति सुरु गरे। नेपाल यातायात व्यवसायी महासंघको नेतृत्व गरिसकेका स्वाँर पहिलो पटक संसद यात्रा गर्ने योजनासहित चुनावी मैदानमा छन्।
‘यो क्षेत्रको माटोसँग जोडिएको मान्छे हुँ म। अब जनप्रतिनिधि भएर यो क्षेत्रको सेवा गर्ने भनेर चुनावमा आएको छु,’ उनी भन्छन्, ‘जनताले विश्वास गरेर विजयी गराउनेमा विश्वस्त छु।’
यो क्षेत्रका केही स्थान समेत समेटिएको साविक कैलाली २ मा ०४८, ०५१ र ०५६ मा कांग्रेसका रामजनम चौधरीले चुनाव जितेका थिए।
०६४ मा माओवादीले जितेको यो क्षेत्रमा ०७० मा एमालेका मोहनसिंह राठौर र ०७४ मा एमालेकै झपडबहादुर रावलले चुनाव जितेका थिए।
यस्तै ०७९ मा नाउपाका अरुण चौधरीले पुराना पार्टीका उम्मेदवारलाई चक्मा दिएर संसद यात्रा तय गरेका थिए।
कैलाली २ मा एमालेका सूर्यबहादुर थापा पार्टीलाई तेस्रो जित दिलाएर आफू पहिलो पटक संसद यात्रा तय गर्ने रणनीतिका साथ मैदानमा छन्।
व्यापार, सामाजिक सेवा हुँदै एमालेको राजनीतिमा जोडिएका थापालाई एमालेभित्र टिकट वितरणमा देखिएको असन्तुष्टिलाई मन्थर पार्दै जित निकाल्नु पर्ने चुनौती छ।
उनले ०७४ मा जिल्ला समन्वय समिति कैलालीको प्रमुखको जिम्मेवारी सम्हालेका थिए।
रोजगारी, भौतिक विकास लगायत मुद्दालाई प्राथमिकतामा राखेर उनले मत मागिरेहका छन्।
‘पार्टीको मत सुरक्षित गर्ने रणनीति छ। पार्टीको मत मात्रै पनि होल्ड गर्न सक्यो भने जित निश्चित छ,’ एमालेका एक नेता भन्छन्।
कैलाली २ मा नेकपाले नन्दबहादुर साउँदलाई मैदानमा उतारेको छ। सुदूरपश्चिम प्रदेश सभामा सांसद भइसकेका साउँद पुराना अधूरा कामलाई पूर्णता दिन मैदानमा उत्रिएको बताउँछन्।
माओवादी, एकीकृत समाजवादी लगायत कम्युनिष्ट घटक एकीकृत भएर बलियो पार्टी बनेकोले जित सुनिश्चित रहेको नेताहरु दाबी गर्छन्।
नाउपा नेपालका पतिराम चौधरीको बलियो मताधार थारु समुदाय हो। यो क्षेत्रका मतदातामा थारु समुदायको बाहुल्यता छ। समुदायको मत सुरक्षितका साथै पार्टी संगठनको मतले जित निकाल्नमा सहजता थप्ने बुझाइमा उनी छन्।
‘विगतजस्तो यो समुदायको मत एकढिक्का नहुनसक्छ। नाउपाकै केही नेता नेकपातिर लाग्नुभएको छ केही रास्वपातिर हुनुहुन्छ,’ एक नेता भन्छन्, ‘केही भन्न सकिने अवस्था छैन। जो पनि जित्न सक्छ। एक दुई हजार मतान्तरले जित हार हुने देखिन्छ।’
यस्तै, नेमकिपाकी लक्ष्मी पुनमगर, प्रलोपा डम्मरबहादुर रावल, नेपाल मानवतावादी पार्टीका करवीरे कडाँरा, नेशनल रिपब्लिक नेपालका दलबहादुर रावल, मितेरी पार्टी नेपालका सम्झना विष्ट थापा, माओवादीका दिलबहादुर साउद, आजपाका खगेन्द्र बहादुर रावत, स्वतन्त्र दिपक रावल र राजेश मयाल विक उम्मेदवार छन्।
कैलाली क्षेत्र नम्बर २ मा बर्दगोरिया गाउँपालिका, लम्कीचुहा नगरपालिकाका साथै मोहन्याल गाउँपालिकाका ६ वडा र जानकी गाउँपालिकाका ४ वटा वडा पर्छन्।
स्थानीय तहको मतपरिणाम अनुसार कैलाली २ मा एमाले सबभन्दा ठूलो दलको रुपमा छ। एमालेका वडाध्यक्ष उम्मेदवारहरुको पक्षमा १७ हजार ८८३ मत छ। कांग्रेसका वडाध्यक्षका उम्मेदवारले १३ हजार १२१ मत बटुल्दा माओवादी केन्द्रले ७ हजार ९२० मत ल्याएको छ।
नागरिक उन्मुक्ति पार्टीले ५ हजार २४३ मत, राप्रपाले २ हजार १५१, एकीकृत समाजवादीले २ हजार ०२१ र जसपाले ६०६ मत ल्याएको छ।
०७९ को चुनावको प्रतिनिधिसभातर्फको समानुपातिक मतका आधारमा नाउपा बलियो स्थितिमा छ। उसले १९ हजार ५९७ समानुपातिक मत पाउँदा एमालेले १२ हजार १ र कांग्रेसले १० हजार १७९ मत पाएको थियो।
यस्तै, माओवादीले ७ हजार १६९, रास्वपाले ४ हजार ५४ राप्रपाले २ हजार ५९६ र नेकपा एकीकृत समाजवादीले ६८९ समानुपातिक मत पाएको थियो।
Shares

प्रतिक्रिया