सुदूरपश्चिम


बलायरले छोडेको कैलाली ४ बाट तेस्रो पटक संसद छिर्ने दाउमा लेखराज, बिष्ट र चौधरीको चुनौती

बलायरले छोडेको कैलाली ४ बाट तेस्रो पटक संसद छिर्ने दाउमा लेखराज, बिष्ट र चौधरीको चुनौती

गोकुल जोशी
फागुन ३, २०८२ आइतबार २०:४९, कञ्चनपुर

कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा यसपटक नेपाली कांग्रेसका वीरबहादुर बलायर चुनावी मैदानमा छैनन्। कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति समेत रहेका बलायरले टिकट पाएर पनि चुनाव लडेनन्।

कांग्रेस सभापतिबाट शेरबहादुर देउवालाई विस्थापित गरेर गगनकुमार थापा नेतृत्वमा आएपछि ०७९ मा जितेका बलायर कैलाली ४ मा चुनाव नलडेका हुन्। 

बलायरले नलडेपछि कांग्रेसले कैलाली ४ मा गोरखबहादुर बिष्टलाई मैदानमा उतारेको छ। उनलाई ०७९ को कांग्रेसको जितलाई निरन्तरता दिँदै पहिलो पटक संसद छिर्ने चुनौती छ।

स्नातकोत्तरसम्म अध्ययन गरेका बिष्ट अमेरिकास्थित कांग्रेसको नेपाली जनसम्पर्क समितिको सभापति हुन्। 

कांग्रेसको ११औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि भएका उनी पछि १२औँ, १३औँ र १४औँ महाधिवेशनमा अमेरिकाबाट पार्टीको महासमिति सदस्य बनेका थिए। प्रवासबाट फर्किएका बिष्टलाई जिल्लामा कांग्रेसलाई एकतृत गर्दै जित निकाल्नु पर्ने चुनौती छ। 

जेनजी आन्दोलनपछि कांग्रेस रुपान्तरण भएर आएकोले गाउँ गाउँसम्मै नयाँ उर्जा छाएको कांग्रेस नेताहरूको दाबी छ।

‘यो क्षेत्र हामीले जितिराखेकै ठाउँ हो। परिवर्तनको मागअनुसार कांग्रेस रुपान्तरण भएर निर्वाचनमा होमिएको छ,’ ती नेता दाबी गर्छन्, ‘उम्मेदवार पनि देश विदेशमा काम गरेका अनुभवी छन्। सहजै जित्छौँ।’

०७९ को चुनावमा डोटी छोडेर कैलाली ४ मा चुनाव लडेका कांग्रेसका बलायरले एमालेका लेखराज भट्टलाई पराजित गरेका थिए। 

एमालेबाट लेखराज भट्ट यसपटक पनि चुनावी मैदानमा उत्रिएका छन्। ०७९ को चुनावको हारको बदला लिँदै तेस्रो पटक संसद छिर्ने दाउमा छन् लेखराज।

एमालेका उपमहासचिव समेत रहेका लेखराज जित र हारको ह्याट्रिक संघारमा छन्। कैलाली उनले यसअघि लडेका ४ निर्वाचनमा २ मा जित र २ मा हार व्यहोरेका छन्। 

पाँचौ पटक चुनावी मैदानमा रहेका भट्ट ०६४ मा माओवादीबाट कांग्रेसका दीर्घराज बलायरलाई पराजित गरेका थिए। ०७० मा उनी माओवादीबाट कांग्रेसकै बलायरसँग चुनाव हारेका थिए।

०७४ को चुनावमा वामगठबन्धनको साझा उम्मेदवार बनेका लेखराजले कांग्रेसका सुनिलकुमार भणडरीलाई पराजित गर्दै दोस्रो पटक संसद यात्रा तय गरेका थिए। ०७९ मा कांग्रेसकै वीरबहादुर बलायरसँग पराजित भएका थिए। 

श्रम, विज्ञान तथा प्रविधि हुँदै उनले वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्। माओवादी हुँदै एमालेमा समाहित भएका लेखराजले अध्यक्ष केपी शर्मा ओलीको टिममा परेर उपमहासचिव जितेर पार्टीमा बलियो पकड देखाएका छन्। 

उनी संसदीय चुनावमा पनि एमालेको मत एकीकृत गर्दै जित निकाल्नु पर्ने चुनौतीमा छन्। 

‘उहाँ जतिको उचाइ लिएको नेता अहिले सुदूरपश्चिममा कमै छन्। यहाँको प्रतिनिधित्व गर्दै सरकारमा पहुँच राख्न सक्ने क्षमता छ,’ एमालेका एक नेता भन्छन्, ‘सुदृढ पार्टी पङ्क्ति एकढिक्का छ। चुनाव जित्छौँ।’

एमालेका लेखराजसँग नेपाली कम्युनिष्ट पार्टीबाट उनकै पूर्वसहकर्मी हरिराम चौधरी चुनावी मैदानमा छन्। माओवादी सशस्त्र द्वन्द्वमा भूमिगत राजनीति थालेका चौधरी माओवादीको सुदूरपश्चिम प्रदेश अध्यक्ष समेत बनेका थिए। 

चौधरी पहिलो पटक प्रत्यक्षतर्फ संसदीय चुनाव लडिरहेका छन्। राष्ट्रिय सभा सदस्य भएर काम गरिसकेका उनी  कांग्रेसका बिष्ट र एमालेबाट उम्मेदवार रहेका पूर्वसहकर्मी लेखराजलाई उछिन्दै संसद छिर्ने दाउमा छन्। 

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत वाम घटक मिलेर पार्टी बनेकोले बलियो स्थितिमा रहेकोले चुनाव जित्ने दाबी नेकपाका नेताहरूको छ। 

‘यो क्षेत्रका जनतासँग भिजेका उम्मेदवार छन्, वामघटकहरू एक ठाउँ भएकाले झनै सहज भएको छ। जनताबाट राम्रो प्रतिक्रिया आइरहेको छ,’ नेकपाका एक नेता भन्छन्, ‘चुनाव जित्न गाह्रो छैन।’

कैलाली ४ मा रास्वपाबाट खेमराज कोइराला, राप्रपाका कमल रजबार, नेमकिपाकी अमृता भुल, नेशनल रिपब्लिक नेपालका गोपीलाल चौधरी, स्वतन्त्र छत्रबहादुर भट्ट, मितेरी पार्टी नेपालका दिनेश कुमार मल्ल, नाउपा नेपालका धनबहादुर सुनार, माओवादीका भक्तबहादुर शाही, नेकपा संयुक्तका मोहनदेव मिश्र, नेपाल मानवतावादी पार्टीका यज्ञबहादुर टमोटा, उनेपाका सुभास कुँवर र राष्ट्रिय जनमोर्चाका हेमराज भट्ट उम्मेदवार छन्।

रास्वापा आन्तरिक विवाद मत्थर गर्दै देशभर चलिरहेको लहर तान्नु पर्ने अवस्थामा छ। रास्वपाले कैलाली ४ मा सुरुमा हरिप्रसाद रेग्मीलाई टिकट दिएको थियो। त्यसपछि उनको टिकट खोसेर कोइरालालाई उम्मेदवार बनाएको हो। 

०७९ चुनावमा नागरिक उन्मुक्ति पार्टीका कइयाँ चौधरीले ६ हजार २३३ मत ल्याएर भट्टलाई हराउन ठूलो भूमिका खेलेका थिए। यसपटक नागरिक उन्मुक्ति पार्टीबाट धन बहादुर सुनार मैदानमा रहेकाले उनले थारु र दलित मत काट्ने अनुमान छ। 

‘नाउपा नेपाल र रास्वपाले पुरानै दलका भोट काट्छन्। त्यो मत होल्ड गर्नुपर्ने चुनौती एमाले, कांग्रेस र नेकपालाई छ,’ एक नेता भन्छन्, ‘ती मतले नै हारजित गराउने भूमिका खेल्छ। जसले जोगाउन सक्छ उसैले जित निकाल्छ।’

कैलाली ४ मा ०७९ मा पाएको समानुपातिक मतका आधारमा नेकपा एमाले बलियो स्थितिमा छ। एमालेले १९ हजार १७५ मत ल्याउँदा कांग्रेसले १६ हजार ७२७ मत बटुलेको थियो।

यस्तै, नाउपाले ५ हजार ८५५, माओवादीले ५ हजार ३४२, रास्वपाले ४ हजार ७६१, एकीकृत समाजवादीले ४ हजार ५०६ र राप्रपाले २ हजार ४०६ मत ल्याएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad