सुदूरपश्चिम


३४ वर्षपछि देउवाबिना चुनावमा डडेल्धुरा, नैनसिंह महरले जोगाउलान् कांग्रेस किल्ला?

३४ वर्षपछि देउवाबिना चुनावमा डडेल्धुरा, नैनसिंह महरले जोगाउलान् कांग्रेस किल्ला?

गोकुल जोशी
माघ १८, २०८२ आइतबार २०:३८, कञ्चनपुर

आउँदो २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा गाउँदेखि शहरसम्म चुनावी माहोल तातिँदै गएको छ। चोक–चौतारा, चिया पसल र सार्वजनिक स्थानहरूमा राजनीतिक बहस र उम्मेदवारको चर्चा बाक्लिन थालेको छ।

उम्मेदवारी दर्तासँगै विभिन्न दल र स्वतन्त्र उम्मेदवारहरू मतदाता रिझाउन सक्रिय भएका छन्। उनीहरू घरदैलो अभियानको तयारीमा जुटिरहेका छन्। 

सुदूर पहाड डडेल्धुराको निर्वाचनको मैदानमा यसपटक फरक दृश्य छ। ३४ वर्षदेखि चुनाव लड्दै आएका र अपराजित पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा आसन्न चुनावमा प्रतिस्पर्धी छैनन्। 

२०४८ सालयताका चुनावमा देउवा डडेल्धुरामा कांग्रेसबाट सदाबहार उम्मेदवार रहे। डडेल्धुराका जनताले ७ पटक उनलाई जिताए। ०४८, ०५१, ०५६, ०६४, ०७०, ०७४ र ०७९ मा विजयी देउवा ५ पटक प्रधानमन्त्री बने। 

दुई कार्यकाल कांग्रेस हाँकेका देउवा यसपटक पार्टी सत्ता र संसदीय यात्राबाट दुःखद् बर्हिगमनमा परेका छन्। विशेष महाधिवेशनबाट देउवालाई विस्थापित गर्दै गगन कुमार थापा कांग्रेसको नेतृत्वमा आए। 

जेनजी आन्दोलनमा घरमै सांघातिक आक्रमणको शिकार बनेका देउवा डडेल्धुराबाट ‘अन्तिम पटक’ चुनाव लड्ने सोचमा थिए। 

जिल्लाका पार्टी नेताकार्यकर्ताले उनलाई चुनाव लड्न मनाएका पनि थिए। तर पार्टी नेतृत्वबाट हठात् विस्थापित भएपछि देउवाले डडेल्धुराबाट चुनाव पनि लड्न पाएनन्। 

देउवाले चुनावी मैदान छोडेपछि जिल्लाका कांग्रेस नेताकार्यकर्ता खिन्न छन्। ‘उहाँ हुँदा जस्तो रौनक हुन्थ्यो। त्यस्तो त हुँदैन। उहाँ यस क्षेत्रको अभिभावक हो, आशाको केन्द्र हो,’ देउवाको गृहपालिका गन्यापधुराका अध्यक्ष ईन्द्रबहादुर कार्कीले भने।

सांघातिक आक्रमण भएको बेला डडेल्धुराका जनता अन्तिम पटक जिताएर देउवाको बिदाइ गर्न चाहेको तर अपमानित ढंगले विस्थापित हुँदा दुःख लागेको उनी बताउँछन्। 

‘सांघातिक आक्रमण भएको बेला उहाँप्रति सबैको सहानुभूति छ। त्यसैले सम्मानसाथ अन्तिम पटक जिताएर बिदाइ गर्नु पर्ने थियो। तर परिस्थिति अकल्पनीय भयो,’ उनी भन्छन्, ‘अब जस्तो भएपनि एक ढिक्का भएर विरासत जोगाउँछौं। कांग्रेसले नै जित्छ।’

डडेल्धुरामा देउवाबिना ३४ वर्षपछि कांग्रेस चुनावमा होमिएको छ। देउवाको विरासत जोगाउने जिम्मेवारी युवा नेता नैनसिंह महरको काँधमा आएको छ। उनी नेपाल विद्यार्थी संघको राजनीतिबाट कांग्रेसको मूल धारको राजनीतिमा आएका हुन्।

देउवाले ३४ वर्षदेखि जमाएको वर्चश्व कायम राख्ने अवसरसँगै उनको सामु चुनौती छ। देउवाको विकल्पमा चुनावी मैदानमा आएका महरको यसपटकको चुनावमा परीक्षण हुँदैछ।  

महर भागेश्वर गाउँपालिका–३ लामीकाडेका स्थायी बासिन्दा हुन्। जिल्लामा विद्यार्थी राजनीति हुँदै उदाएका उनले कांग्रेसको मूल राजनीतिमा प्रवेश गरे। 

उनले २१ वर्षको उमेरमा ०५२ सालमा नेविसंघ डडेल्धुराको कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेका थिए।

त्यसपछि उनले ०५६ मा जिल्ला सभापतिको चुनाव जिते। ०५७ मा केन्द्रीय सदस्य बनेका उनले संगठनका विभिन्न तहमा रहेर काम गरे। केन्द्रीय सदस्य, उपसभापति हुँदै ०७३ मा उनी नेविसंघको केन्द्रीय सभापतिमा निर्वाचित भए। 

महर कांग्रेसको १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका थिए। उनी संसदीय चुनाव भने पहिलो पटक भिड्दैछन्। देउवाको उत्तराधिकारीका रुपमा प्रस्तुत भएका महर बलियो पार्टी संगठनका साथै जिल्लाका मतदातामा भिजेको अनुहार भएकाले जित्ने दाबी गर्छन्। 

डडेल्धुरालाई राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन सक्षम देउवाका अधूरा सपना पूरा गर्ने उनी बताउँछन्।

‘पुरानो पुस्ताले ल्याएका तर सम्पन्न गर्न नसकेका र नयाँ पुस्ताका आकांक्षा उहाँको उत्तराधिकारीको रुपमा पूरा गर्छुं,’ उनी भन्छन्, ‘कांग्रेसलाई जनताको सामिप्यतामा लैजान र नवपुस्ताको आवाज बुलन्द गर्नुछ।’

घट्दै मतान्तर
०४८ यताका चुनावमा डडेल्धुरामा देउवा निरन्तर विजयी भएपनि मतान्तर घट्दो छ। 

०४८ मा एमालेका गोविन्दबहादुर कलौनी, ०५१ को मध्यावधि चुनावमा नेपाल जनवादी मोर्चाका खेमराज भट्ट, ०५६ मा एमालेका बागेश्वरीदत्त चटौत, ०६४, ०७० र ०७४ मा माओवादीका खगराज भट्ट र ०७९ को चुनावमा स्वतन्त्र उम्मेदवार सागर ढकाललाई देउवाले लाई हराएका थिए।

०४८ मा देउवासँग एमालेका कलौनी १७ हजार ९४५ मतान्तरले पराजित भएका थिए भने पछिल्लो समय ०७९ को चुनावमा स्वतन्त्र उम्मेदवार सागर ढकाल १२ हजार ४९२ मतान्तरले हारेका थिए। 

वर्चश्व तोड्ने दाउ
डडेल्धुरामा कांग्रेसका नैनसिंह महरसहित डडेल्धुरामा १३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। जसमा १० दल र स्वतन्त्र ३ छन्।
नेकपा एमालेबाट चक्रप्रसाद स्नेही, नेकपाबाट मानसिंह माल, रास्वपाबाट डा. ताराप्रसाद जोशी र राप्रपाबाट गोविन्द खडायतको मनोनयन दर्ता भएको छ। 

यसैगरी आम जनता पार्टीबाट खडकबहादुर ठकुराठी, राष्ट्रिय जनमोर्चाबाट चन्द्रदेव विक, नेपाल मजदुर किसान पार्टीबाट सुरेन्द्रराज भट्ट, जयमातृभूमि पार्टीबाट लक्ष्मीदत्त भट्ट र श्रम संस्कृति पार्टीबाट महेन्द्र पुनमगर उम्मेदवार छन्।

गोरखबहादुर ऐर, सुरेन्द्र रावल र तीर्थराज उप्रेतीले स्वतन्त्र उम्मेदवारी दिएका छ्न। देउवा किल्ला डडेल्धुरामा यसपटक उनी मैदानमा नउत्रिएपछि विपक्षी उम्मेदवार वर्चश्व तोडेर किल्ला जमाउने दाउमा छन्। 

देउवा उम्मेदवार नहुँदा चुनाव जित्न सजिलो हुने बताउँछन् रास्वपाका उम्मेदवार डा. ताराप्रसाद जोशी।

‘देउवा यसपटक पनि लडेको भए उहाँलाई जित्न गाह्रो हुन्थ्यो। उहाँ नलड्दा मतहरू आफ्नो पक्षमा आउँछन्,’ उनी भन्छन्, ‘चुनाव जित्न सजिलो छ।’

उनले थपे, ‘अर्थतन्त्र र राजनीतिलाई पुर्नसंरचना गर्नु आवश्यक छ। सुशासन र सामाजिक न्याय अनुभूत गराउन वैकल्पिक शक्ति एक भएका छौँ।’

जोशी प्रदेश सभा सदस्यबाट राजीनामा दिएर चुनावी प्रतिनिधिसभाको दौडमा उत्रिएका हुन्। ०७९ को चुनावमा डडेल्धुरा १(१) मा स्वतन्त्र उम्मेदवारी दिएका जोशीले कांग्रेसका गोविन्दराज बोहरालाई पराजित गरेका थिए। 

०४५ मा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीति सुरु गरेका जोशी त्यसपछि एमालेको मूलधारको राजनीतिमा प्रवेश गरेका थिए। 

एमाले डडेल्धुरा अध्यक्ष बनेका उनी पार्टी विभाजनमा नेकपा एकीकृत समाजवादीतिर गएका थिए। टिकट नपाएपछि स्वतन्त्र भिडेका जोशी प्रदेश सांसद निर्वाचित भएका थिए। 

कुलमान घिसिङ नेतृत्वको उज्यालो पार्टी नेपालमा आबद्ध भएका जोशी रास्वपासँग एकीकरण भंग भएपनि उनी रास्वपामै रहेर प्रतिनिधिसभाको उम्मेदवार बनेका छन्। 

एमालेका स्नेही राष्ट्रिय सभाका पूर्वसदस्य समेत हुन्। 

यस्तै, नेकपाका माल माओवादीका पृष्ठभूमिका नेता हुन्। पार्टीको विभिन्न तहमा काम गरेर संगठन चलाएको अनुभव उनीसँग छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad