आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि उम्मेदवार सिफारिस गर्न कञ्चनपुरमा नेकपा एमालेले आन्तरिक निर्वाचन गरेको छ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटी कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ ले मतदान गरेर २ पुरुष र १ महिला गरी ३ जनाको नाम सिफारिस गरेको छ।
खुलातर्फ एमाले कञ्चनपुरका उपसचिव असोककुमार चन्द ६१ मत र पूर्वकेन्द्रीय सदस्य नरबहादुर धामी ५७ मतसहित उम्मेदवार सिफारिसमा निर्वाचित भएका छन्।
चन्द ०७९ को स्थानीय तह निर्वाचनमा बेदकोट नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। ०७४ मा क्षेत्र नम्बर २ बाट निर्वाचन नेता धामी ०७९ को चुनावमा भने कांग्रेसका एनपी साउँदसँग पराजित भएका थिए।
खुलातर्फ ३ जनाको उम्मेदवारी परेको थियो। युवा संघका पूर्वअध्यक्ष बचनबहादुर सिंह ५० मत मात्रै प्राप्त गरे।
महिलातर्फ उम्मेदवारी दिएकी एमाले कञ्चनपुरकी अध्यक्ष लक्ष्मी बुढा पराजित भइन्। उनले ४१ मत मात्रै प्राप्त गरिन्। महिलातर्फ पार्वती जोशी ४४ मतका साथ निर्वाचित हुँदै उम्मेदवार सिफारिसमा परिन्।
प्रमुख निर्वाचन अधिकृत प्रेमराज भट्टका अनुसार आइतबार उम्मेदवार सिफारिसका लागि क्षेत्र नम्बर २ मा मतदान भएको थियो।
तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरको क्षेत्र नम्बर १ र ३ मा पनि एमालेले उम्मेदवार सिफारिसका लागि आन्तरिक गृहकार्य जारी राखेको छ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटीले उम्मेदवार सिफारिसका लागि छलफल गरिरहेको एमाले कञ्चनपुरका सचिव पल्लवराज भट्टले बताए।
उम्मेदवार सिफारिस लगायत विषयमा छलफल गर्नका लागि सोमबार एमाले कञ्चनपुरको जिल्ला कमिटी बैठक बोलाइएको छ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटीले सिफारिस गरेर पठाएपछि प्रदेश कमिटीलाई नामावली पठाइने सचिव भट्टले बताए।
Shares

प्रतिक्रिया