सुदूरपश्चिम


बजेट अभावमा धनगढीका दुई पुल निर्माण सुस्त

बजेट अभावमा धनगढीका दुई पुल निर्माण सुस्त

मोहना नदी/ फाइल फोटो


नेपालखबर
कात्तिक ३०, २०८२ आइतबार २१:४८, गोदावरी (कैलाली)

धनगढी–मोहनापुल ६ लेन सडकमा निर्माणाधीन दुई पुल निर्माणको कामले गति लिन सकेको छैन। सो सडकखण्डअन्तर्गत पर्ने त्रिनगर भन्सारको मोहना र गोदावरी नगरपालिका–५ स्थित मनहरा खोलाको पुल बजेट अभावका कारण गति लिन नसकेको हो। 

विसं २०७८ देखि निर्माण सुरु गरिएको पुल सुरुमा निर्माण कम्पनीले ढिलो गर्दा र पछिल्लो पटक आवश्यकताभन्दा कम बजेट विनियोजन हुँदा निर्माण कार्य सुस्त गतिमा अघि बढिरहेको महाकाली पुल आयोजना कार्यालयका इञ्जिनियर सन्तोष चन्दले बताए। त्रिनगर भन्सार नाका पर्ने मोहना नदीमा पुल निर्माणका लागि विसं २०७८ माघमा राइमाझी कन्ट्रक्सनसँग २०८० जेठसम्म निर्माण सम्पन्न गर्ने गरी रु १३ करोड ३६ लाखमा सम्झौता भएको उनले जानकारी दिए।  

दोस्रो पटक म्याद थप गरिएको सो पुलको भौतिक प्रगति ५० प्रतिशत र पुल निर्माणमा हालसम्म रु नौ करोड भुक्तानी भइसकेको आयोजना कार्यालयले जनाएको छ। दोस्रो पटक थपिएको म्याद २०८२ चैत २८ गतेसम्म रहेको छ। मोहना पुलको लागि चालु आर्थिक वर्षमा एक करोड ५० लाख बजेट विनियोजन भएको बताउँदै इञ्जिनियर चन्दले बजेट भए यसै आर्थिक वर्षमा निर्माण सम्पन्न गर्न सकिने जानकारी दिए।  

गोदावरी नगरपालिका–५ स्थित मनहरा खोलाको पुल निर्माणका लागि २०७८ माघमै उच्चाकोटी–शनिदेव–साजेन्द्रलाई रु आठ करोड ५० लाखमा दुई वर्षमा काम सक्ने गरी ठेक्का दिइएको थियो। दोस्रो पटक म्याद थप गरिएको उक्त पुलको भौतिक प्रगति ५५ प्रतिशत मात्रै भएको छ। यो पुलको पिलर हाल्ने काम सम्पन्न भएको इन्जिनियर चन्दको भनाइ छ। उक्त पुलका लागि चालु आर्थिक वर्षमा एक करोड बजेट विनियोजन भएको योजना कार्यालयले जनाएको छ। 

उनले भने, ‘दुवै पुलमा माथि स्ल्याब हाल्ने काम सुरु गरिएको छ। बजेट व्यवस्थापन हुन सके यसै आर्थिक वर्षमा पुल निर्माणको काम सम्पन्न गर्न सकिने अवस्था छ। आयोजना कार्यालयका अनुसार गोदावरी नगरपालिका–५ स्थित सुनी खोलाको पुलको रु तीन करोड ५० लाखमा सम्झौता भएकोमा निर्माण कार्य सम्पन्न भइ गत असार मसान्तबाट पुल सञ्चालनमा आएको छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad