सुदूरपश्चिम


हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

गोकुल जोशी
असोज २७, २०८२ सोमबार २१:२, कञ्चनपुर

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। 

गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ। बन्धक मुक्तको हुँदा यस्तै खुसीयाली नेपालसम्म पुग्ने अपेक्षा थियो। 

तर भीमदत्त नगरपालिका–३ भाँसीस्थित विपिन जोशीको घरमा बिहानै सोचेभन्दा भिन्न, मनै कुडिने खबर आयो। हमासले रिहाइ गर्ने जीवित बन्धकको सूचीमा नेपाली विद्यार्थी विपिन थिएनन्।

दुई वर्षदेखि परिवार गाजामा बन्धक बनाएका विपिन घर फर्किने आशमा बाटो कुरेर बसेका थिए। यसपालीको तिहारमा खुसी भित्रिने आशा थियो तर आशाको त्यान्द्रो चुँडियो। विपिन परिवारका एक्ला छोरा थिए। आमा पद्मा र बहिनी पुष्पा अमेरिकामा छन्। 

इजरायलमा हमासले गरेको आक्रमणमा परेर १० नेपालीको ज्यान गएको थियो। ‘सिक्दै कमाउँदै’ कार्यक्रममा इजरायल गएका विपिन वि.सं. २०८० असोज २० गते शनिबारदेखि परिवारको सम्पर्कमा थिएनन्। 

‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर कृषि क्याम्पसका ४९ जना विद्यार्थी ०८० भदौ अन्तिम साता इजरायल गएका थिए।

७ अक्टोबर २०२३ मा हमासको आक्रमणमा परेर इजरायलमा १० नेपाली विद्यार्थी मारिए। हमासले फालेको ‘ग्रिनेड’ हालेर नेपाली विद्यार्थी जोगाउने विपिनलाई हमासले बन्धक बनाएर लगेको थियो।

दुई वर्षअघि हमासले आक्रमण गर्नुअघि दक्षिणी इजरायल शान्त नै थियो। किबुज क्षेत्रमा रहेको कृषि फार्ममा १७ नेपाली विद्यार्थी बस्थे। नेपालबाट गएका कृषि प्रशिक्षार्थीलाई एकै ठाउँमा राख्ने गरिन्छ।

एक्कासी सीमा नाघेर हमास आक्रमणकारी बन्दुक र बमसहित किबुज क्षेत्रमा पसेका थिए। गाजाबाट आक्रमण भएलगत्तै इजरायलको अलर्ट साइरन बजेपछि किबुजमा रहेका १७ नेपाली विद्यार्थी बंकरभित्र छिरे। बाहिर हमास लडाकु ग्रिनेट र बन्दुक लिएर घुमिरहेका थिए। 

‘गोलीबारी पनि भइरहेको थियो। त्यसको केहीपछि  दुईवटा ग्रिनेड बंकरभित्र फाले आतंकवादीले। एउटाचाहिँ विपिनले बाहिर फाल्यो,’ दुई वर्षअघि इजरायलबाट फर्किएका धनबहादुर चौधरीले भनेका थिए, ‘अर्को चाहिँ बंकरभित्रै पड्किहाल्यो। त्यसपछि हामी सबैजना ‘ब्ल्याकआउट’ जस्तै भयौं।’

हमासको आक्रमणमा नारायणप्रसाद न्यौपाने, आशीष चौधरी, दीपेशराज विष्ट, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, आनन्द साह, राजेशकुमार स्वर्णकार, राजन फुलारा, पदम र प्रवेश भण्डारीको मृत्यु भएको थियो। 

विदेशी भूमिमा नौजवान नेपाली युवा ढलेको शोकमा डुबेको नेपाल बन्धक बनाइएका विपिनको पनि दुई वर्षपछि मृत्यु पुष्टि भएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad