भाइटीका लगाउन नपाएको दुई वर्ष भइसक्यो। माला उन्न रोपिएका फूल ओइलाएर त्यसै झरे। इजरायल पढ्न गएका दाइ अहिलेसम्म फर्केर आएनन्।
कञ्चनपुरको भीमदत्त नगरपालिका ३ भाँसीका विपिन जोशीकी बहिनी पुष्पाको पीडा हो यो।
उनी इजरायलमा बेपत्ता दाइ कहिले फर्केलान् भनेर दिन गन्दै बसिरहेकी छन्।
‘दाइ बन्धक भएको ६ सय ४० दिन बितिसके, ऊ कस्तो छ? अहिलेसम्म केही जानकारी पाउन सकेका छैनौँ,’ पुष्पा भन्छिन्, ‘हाम्रो परिवारको पीडा कसैले सुनिदिएन। निर्दोष विद्यार्थी विदेशबाट कहिले मुक्त हुन्छ? यसपालि त दाइलाई भाइटीका लगाउन पाऊँ।’

विपिनको परिवार उनी आउने बाटो पर्खेर बसेको छ। इजरायलमा आक्रमण गरेर प्यालिस्टिनी विद्रोही समूह हमासले नेपाली विद्यार्थी विपिनलाई बन्दी बनाएको थियो। भाँसीस्थित विपिनको घरमा आमा पद्मा, बुबा महानन्द र बहिनी पुष्पा छिन्।
आमा पद्मा प्रायः समाचार हेर्न छुटाउँदिनन्। इजरायल गएका एक्ला छोरा विपिनलाई हमासले बन्धक बनाएपछि सम्पर्क हुन सकेको छैन।
उनी छोराको केही जानकारी आउँछ कि भनेर दिनहुँ समाचार हेर्ने गर्छिन्। इजरायल र हमासबीच युद्ध विरामको खबर आउने बित्तिकै उनको मनमा आशा जाग्छ, अब त छोरा घर आउला भनेर।

दुई पटक युद्धविराम हुँदा पनि विपिन मुक्त नभएपछि परिवार चिन्तित छ। अझै युद्धविरामको समाचार आइरहेका छन्। समयमै पहल गरेर छोरालाई रिहा गरिदिन सरकारसँग याचना गरिरहेकी छन्, आमा पद्मा।
‘सबै विदेशी बन्धक रिहा भइसके। अब एउटै छोरा मात्रै छ। सरकारले पहल गरिराखेको भन्छ। तर त्यो सफल हुन सकेको छैन,’ छोरा सम्झेर भक्कानिँदै पद्मा भन्छिन्, ‘फेरि युद्ध चलेको छ। उसको अवस्था कस्तो छ? हामीलाई केही जानकारी छैन। साह्रै पीडामा छौँ।’
छोरा घर फर्किने बाटो कुरेर बसेको विपिनको परिवार अन्योलमा छ। २१ महिनादेखि छोराको अवस्था पत्ता नलाग्दा परिवार बेचैन छ।

इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासबीच युद्धविरामपछि हमासले इजरायली बन्धकदेखि कयौँ विदेशी बन्धकलाई रिहा गरिसकेको छ। तर विपिनको अवस्था पनि सरकारले पत्ता लगाउन सकेको छैन।
‘युद्धविराम हुने खबरहरूले आशा लाग्छ। पहिलोपटक र दोस्रो पटकको युद्धविराम हुँदा छोरा रिहा भएनन्। अब चाँडै युद्ध विराम भएर छोरा रिहा हुने दिनको पर्खाइमा छौँ,’ बुवा महानन्द भन्छन्, ‘युद्ध चलिरहेकाले के हुन्छ भन्ने डर छ।’
विपिनको रिहाइका लागि कूटनीतिक पहल गर्न उनी सरकारलाई आग्रह गर्छन्।
‘सिक्दै कमाउँदै’ कार्यक्रममा इजरायल गएका विपिन वि.सं. २०८० असोज २० गते शनिबारदेखि परिवारको सम्पर्कमा छैनन्। युद्ध सुरुको भएको केही समयपछि इजरायल सुरक्षा फौज आईडीएफले बन्धक अवस्थाका विपिनलाई हमास लडाकुले स्थानान्तरण गर्दै गरेको भिडिओ सार्वजनिक गरेको थियो। त्यसपछि विपिनबारे कुनै जानकारी आएको छैन।

‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर कृषि क्याम्पसका ४९ जना विद्यार्थी ०८० भदौ अन्तिम साता इजरायल गएका थिए।
हमासको आक्रमणमा परेर इजरायलमा १० नेपाली विद्यार्थी मारिए। हमासले फालेको ‘ग्रिनेड’ हालेर नेपाली विद्यार्थी जोगाउने विपिनलाई हमासले बन्धक बनाएर लगेको थियो।
विपिनको उद्धारका लागि परिवारका सदस्यले कयौँपटक राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्चपदस्थ व्यक्तिलाई भेटिसकेका छन्। सरकारले कूटनीतिक पहल जारी राखेको बताए पनि हालसम्म उपलब्धि देखिएको छैन।
Shares

प्रतिक्रिया