राजनीति


पूर्वसांसद नवराज सुवेदीको नेतृत्वमा ‘जनयुग पार्टी’ घोषणा

पूर्वसांसद नवराज सुवेदीको नेतृत्वमा ‘जनयुग पार्टी’ घोषणा

नेपालखबर
असोज २७, २०८२ सोमबार २१:३५, काठमाडौँ

पूर्वसांसद एवम् पूर्वराजदूत नवराज सुवेदीको नेतृत्वमा ‘जनयुग पार्टी’ को घोषणा गरिएको छ।

यही असोज २४ र २५ गते काठमाडौंमा सम्पन्न भेलाले जनयुग पार्टीको घोषणा गरेको हो। 

वामपन्थी पृष्ठभूमीका व्यक्तिहरू सम्मिलित नवगठित पार्टीको संयोजकमा सुवेदी र सचिवमा अधिवक्त विमल पोखरेल चयन भएका छन्। 

पार्टीको केन्द्रीय समिति ३२ सदस्यीय रहेको सुवेदीद्वारा सोमबार जारी वक्तव्यमा जानकारी दिइएको छ।

संयोजक सुवेदी २०५१ र ५६ मा राष्ट्रिय जनमोर्चाको तर्फबाट प्युुठानबाट निर्वाचित सांसद हुन् भने साउदी अरबका लागि नेपाली राजदूतसमेत भएका व्यक्ति हुन्। पछिल्लो समयमा उनी बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा सक्रिय थिए।

नवगठित सो पार्टीले शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षालगायत नागरिकको मौलिक हक भएकाले त्यसको सुनिश्चितता गर्नु राज्यको दायित्व भएको ठहर गर्दै देशमा सुशासन, पारदर्शिता र अधिकतम स्रोतहरुको परिचालन र व्यवस्थापन गरी गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवा प्रवाह गर्न र रोजगारी प्रबर्धनका कार्यक्रम अगाडि बढाउनुपर्ने आवश्यकतामा जोड दिएको छ। 

‘देशलाई आर्थिक रुपले बलियो बनाउन सरकार, निजी क्षेत्र र समुदाय तीन पक्ष परिचालित हुनु आवश्यक छ। त्यसका लागि आर्थिक विकासका क्षेत्रहरु पहिचान गरिनुपर्दछ। जलविद्युत, पर्यटन, कृषि, जैविक खेती, प्रशोधन उद्योग, पशुपालन, सहकारी प्रणाली र आधुनिक प्रविधिलाई अपनाउन जोड दिइनुपर्दछ। घरेलु, मझौला र ठूला उद्योग वर्गीकरण गरी सञ्चालन गर्नुका साथै स्टार्टअप हब अगाडि बढाउन विशेष जोड दिन्छ’ वक्तव्यमा उल्लेख छ। 

यस्तै, पार्टीले विगतमा भएका अनगिन्ती काण्डहरुको निष्पक्ष छानबिन गरी आयस्रोत भन्दा बढी सम्पत्ति जफत गर्न र भ्रष्टाचारमा संलग्न व्यक्तिहरुलाई कडा कारबाही गर्न माग गरेको छ। 

वैज्ञानिक उत्पादन प्रणाली, परम्परागत ज्ञान र सीपको प्रवर्द्धन र नवप्रवर्तनमाथि जोड दिँदै युवा शक्तिको विदेश पलायन रोकी देशमै स्वरोजगार वृद्धि, युवाहरूलाई नीतिगत र नेतृत्व तहमा सशक्त बनाउन, राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने दिशामा तत्काल काम सुरु गर्न पार्टीले माग गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad