सुदूरपश्चिम


दसैँ बिदामा घुम्दै हुनुहुन्छ? यी हुन् सुदूरपश्चिमका प्रमुख पर्यटकीय गन्तव्य (१४ तस्बिर)

दसैँ बिदामा घुम्दै हुनुहुन्छ? यी हुन् सुदूरपश्चिमका प्रमुख पर्यटकीय गन्तव्य (१४ तस्बिर)

बडिमालिका क्षेत्र


गोकुल जोशी
असोज १५, २०८२ बुधबार १४:४, कञ्चनपुर

दसैँ-तिहार मनाउन घरबाहिर भएकाहरू गाउँ फर्किएका छन्। बिदाको यो फुर्सदिलो समय परिवार, साथीभाइसँग घुम्न जाने चलन बढेको छ। न चिसो न गर्मी। चाडबाडको यो मौसम घुम्नका लागि उपयुक्त पनि मानिन्छ। 

यो दसैँमा भ्रमणको भरपुर मनोरञ्जन लिने सोचमा हुनुहुन्छ?

त्यसो हो भने सुदूरपश्चिम प्रदेशका यी स्थान तपाईंका लागि उपयुक्त हुन सक्छन्। हामी यहाँ धार्मिक पर्यटकीय सम्पदाले भरिपूर्ण सुदूरपश्चिमका मुख्य-मुख्य गन्तव्यबारे जानकारी दिँदै छौँ। 

खप्तड

खप्तड क्षेत्र

सुदूरपश्चिमका ४ पहाडी जिल्ला- बझाङ, बाजुरा डोटी र अछामको संगमस्थलमा छ- प्रसिद्ध पर्यटकीय स्थल खप्तड। ‘भूस्वर्ग’को नामले चिनिने यो क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको भिड लाग्छ। 

खप्तडको त्रिवेणीमा रहेको त्रिवेणी मन्दिर र त्यसवरपर २२ वटा पाटन छन्, जुन अवलोकन गर्दा मन प्रफुल्ल हुन्छ। 

समुद्री सतहबाट २ हजार ७ सयदेखि ३ हजार २ सय २७ मिटरसम्म उचाइमा २ सय २५ वर्ग किलो मिटर क्षेत्रफलमा फैलिएको खप्तड राष्ट्रिय निकुञ्जमा विश्वमै अति दुर्लभ दलदले घाँसे मैदान छ।

चारैतिर खस्रु, धुपीसल्ला र लालीगुराँसको घारीका बीचमा रहेको पाटन, रङ्गीबिरङ्गी फूल, दह, त्रिवेणी, नागढुङ्गा, खप्तडबाबाको आश्रम सुन्दर घनघोर जंगल खप्तडका विशेषता हुन्। 

कलकल बग्ने दर्जनौँ खोला, त्रिवेणी सीतापाइला मन्दिर, त्रिवेणी धाम २२ पाटनको सुन्दरताले यहाँको आकर्षणमा सुगन्ध थप्छन्।

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीबाट डोटीको सिलगढीसम्म सार्वजनिक यातायातका साधन पाइन्छन्। सिलगढी झिकरानासम्म भाडाको गाडी र त्यहाँबाट एक दिन हिँडेपछि खप्तड पाटन पुगिन्छ।

दोधारा चाँदनी झोलुंगे पुल

दोधारा चाँदनी झोलुंगे पुल

कञ्चनपुरको भीमदत्त र दोधारा चाँदनी नगरपालिकालाई जोड्ने महाकाली नदीमाथि बनेको यो पुल नेपालकै लामो झोलुंगे पुल हो।

यहाँ बर्सेनि हजारौँ स्थानीय र बाह्य पर्यटक आउने गरेका छन्। दोधारा चाँदनी झोलुंगे पुल कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट करिब ९ किलोमिटरको दुरीमा पर्छ।

झोलुंगे पुलनजिकै महाकालीमा बनेको पक्की पुल पनि पर्यटकको रोजाइमा पर्ने गरेको छ। यसबाहेक कञ्चनपुरको वेदकोट ताल, झिलमिला ताल, शिव लिंगेश्वर धाम, ऐतिहासिक ब्रह्मदेव बजार, भम्केनी धामलगायत गन्तव्यले पर्यटकको मन लोभ्याउने गरेका छन्।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्र

कञ्चनपुरमा पर्ने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिंगाको विशाल झुण्डका साथै अन्य जीवजन्तु पनि प्रशस्त देख्न पाइन्छ। निकुञ्जमा जंगल सफारी पनि गर्न सकिन्छ। 

निकुञ्जभित्र सानाठूला धेरै फाँटा छन्। हिरापुर फाँटामा कृष्णसार संरक्षण गरिएको छ। आरक्षको एकछेउ हात्तीसार रहेको छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ, खरायो, हात्ती, गैँडा लगायत विभिन्न प्रजातिका चरासमेत हेर्न पाइन्छ। जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटाभित्र आधा दर्जनभन्दा बढी ताल छन्।

यो भित्रका रमणीय तालमा ताराताल, रानीताल, बठनिया ताल, बाउन्नेताल, सिकारीताल, सलगौडी ताल र बाबाताल हुन्। ३ सय ५ वर्गकिलोमिटरमा फैलिएको शुक्लाफाँटा आरक्षको कुल भूभागको १० प्रतिशत सिमसारक्षेत्र छ। जहाँ विभिन्न प्रजातिका चराचुरुंगी बस्छन्। 

१० हेक्टर क्षेत्रफलमा फैलिएको ताराताल चरासँगै मगर गोहीको बासस्थान भएकाले पर्यटकले सहजै अवलोकन गर्न पाउँछन्। सदरमुकाम महेन्द्रनगरबाट ३/४ किलोमिटरको दुरीमा निकुञ्ज पर्छ।

कर्णाली पुल

कर्णाली पुल

सुदूरपश्चिम प्रदेशको प्रवेशद्धार हो- कर्णाली पुल। नेपालकै लामो नदी कर्णाली र त्यही नदीमा निर्माण गरिएको एकखम्बे पुललाई कर्णाली पुल भनेर चिनिन्छ।

यो पुलको लम्बाइ ५ सय मिटर र चौडाइ १४ मिटर छ। सुन्दर कर्णाली नदीको अवलोकन गर्न र कर्णाली नदी स्वादिष्ट माछासँगै र्‍याफ्टिङ आनन्दका लागि यहाँ दैनिकजसो आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन्।

बडिमालिका

बडिमालिका क्षेत्र

भूस्वर्गको उपमा पाएको बडिमालिका बाजुरामा पर्छ। भगवान् शिवले लामो समय बसोबास गरेको मानिने बडिमालिका सौन्दर्यका हिसाबले मात्रै नभई धार्मिक हिसाबले पनि महत्त्वपूर्ण छ।

नजिकै देखिने सुन्दर हिमाल, हिउँ कुल्चन पाउने सौभाग्य र मनोरम प्राकृतिक दृश्य बडिमालिकाका गहना हुन्।

यहाँका सौन्दर्यका रूपमा विशाल फाँट छन्। समुद्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेको छ, बडिमालिका। 
बाजुराको सदरमुकाम मार्तडी बजारबाट पैदल २/३ दिनमा बडिमालिका पुग्न सकिन्छ। यसका साथै बुढीनन्दा, छेडेदह पनि यहाँका घुम्नलायक ठाउँ हुन्।

अपी बेस क्याम्प, दार्चुला

अपी हिमाल

दार्चुलाको अपी हिमाल (७,१३२ मिटर) आधार शिविरसम्म पदयात्रा रमाइलो हुन्छ। जहाँ अपी र नम्पा हिमालसँगै रिङदेपानी, कायाकोर, कालीढुंगा र बबईलगायतका हिउँचुली लहरै छन्। 

यहाँँ हिउँ चितुवा, रेडपान्डा, मृग, घोरल, झारल, भालु आदि पाइन्छन्। डाँफे, मुनाललगायतका चरा पनि देख्न सकिन्छ। 

नेपालको विशिष्ट पहिचान बोकेको र अन्य समुदायभन्दा फरक सौका समुदायको बसोबास रहेको व्यास उपत्यका दार्चुलाको पश्चिमोत्तर कुनामा पर्छ।

कैलाश मानसरोवर प्रवेश गर्ने मुख्यद्वार व्यास उपत्यका नै हो।

उपत्यकाको प्राकृतिक सौन्दर्यका साथै सौका समुदायको वैभवशाली परम्परा र संस्कृति यहाँको मनै लोभ्याउने अर्काे आकर्षण हो।

उत्तरमा चीन र पूर्वमा बझाङ जिल्लाले छोएको दार्चुलाको अति रमणीय ठाउँ हो, घुसा खण्डेश्वरी। 

अपी हिमालको काखमा बसेको सुन्दर घुसार र खण्डेश्वरी पर्यटकका लागि भर्जिन स्थल हुन्।

यसका साथै पश्चिममा डोटी राज्यको दबदबा रहेको बेला दार्चुलाको महाकाली किनारमा रहेको सुरम्य फाँटबाट महाकालीपारिको हाल भारत अधीनस्थ कुमाउँ र गढवालमा शासन गर्ने पालवंशी राजाहरूको उँकु दरबार पनि छ।

महाकाली पुल

प्राचीन समयमा ऋषिमुनीहरूले कैलाशपतिको कष्टसाध्य तपस्या गरेर लोकहितका अनेक क्रियाकलापका लागि शिव–पार्वतीलाई खुशी तुल्याएको क्षेत्रका रूपमा रहेको तपोवन पनि प्रख्यात छ। 

यस्ता छन् डडेल्धुराका गन्तव्य

अमरगढी किल्ला

डडेल्धुरामा प्रकृतिको सुन्दर रूपसँगै ऐतिहासिक महत्त्व बोकेका थुप्रै भौतिक संरचनाको अवलोकन गर्न सकिन्छ।

डडेल्धुराका प्रसिद्ध मन्दिरहरूमा उग्रताराको मन्दिर र घटाल बाबाको मन्दिर, भागेश्वर, जोगबुडा उपत्यकामा रहेको भगवान् परशुरामको मन्दिर छन्।

डडेल्धुरा पुग्नेहरूको पहिलो रोजाइ उग्रतारा मन्दिर हुन्छ। यो सुदूरपश्चिमकै ठूलो शक्तिपीठ मानिन्छ।

उग्रतारा मन्दिर

डडेल्धुरामा रहेको ऐतिहासिक किल्ला हो- अमरगढी किल्ला। ऐतिहासिक दृष्टिले यो किल्ला महत्त्वपूर्ण मानिने भएकाले यो किल्लाको अवलोकन गर्न पनि पर्यटकको घुइँचो लाग्छ।

यसका साथै अजयमेरू गाउँपालिकामा रहेको अजयमेरूकोट दरबार, घटाल नाथ, आली ताल र पशुराम धाम पनि आन्तरिक तथा बाह्य पर्यटकहरूले रुचाएका सुन्दर ठाउँ हुन्। 

कैलालीका पर्यटकीय गन्तव्य

टीकापुर पार्क

स्विट्जरल्यान्डको लक्साल सहरको नक्साअनुरूप रेखांकन गरिएको टीकापुर पार्क करिब ५ विगाहमा फैलिएको छ। यहाँ ८० प्रकारका गुलाबका फूल र विभिन्न प्रजातिका बिरुवा पाइन्छन्। 

वि.सं २०२८ मा तत्कालीन राजा महेन्द्रले यहाँबाट एक महिना नेपालको राजकाज चलाएको इतिहासका कारण यसको गरिमा अझ बढेको छ।

कैलालीको मध्यवर्ती क्षेत्रमा रहेको घोडाघोडी ताल, कोइलहुवा ताल, जोगनिया ताल, जाखौर ताल पनि आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइ बनेका छन्।

गोदावरीमा रहेको ५२ फिट अग्लो हनुमानको मूर्ति हेर्नेहरूको घुइँचो लाग्छ। 

शैलेश्वरी मन्दिर, डोटी

शैलेश्वरी मन्दिर

शैलेश्वरी माताको मन्दिर सुदूरपश्चिको डोटी जिल्लाको सिलगढीमा अवस्थित छ। यो मन्दिर यस क्षेत्रकै प्रमुख धार्मिक स्थल हो। 

यहाँ पनि धार्मिक आस्था बोकेका र प्रकृतिको सुन्दरताको आनन्द लिन आन्तरिक र बाह्य पर्यटकको घुइँचो लाग्ने गर्छ।

यस्ता छन् बैतडीका गन्तव्य 

निङ्गलाशैनी मन्दिर

बैतडीमा रहेका प्रसिद्ध भगवतीका मन्दिरहरूमा त्रिपुरा सुन्दरी, निङ्गलाशैनी, मेलौली र डिलाशैनी, भगवती मन्दिर, जगन्नाथ देवता, भूमेश्वर महादेवको गुफा, पाटनको ठाकुर उदयदेव मन्दिर, कृष्ण मन्दिर, शिवनाथ मन्दिर हुन्।

निङ्गलाशैनी मन्दिर बैतडी देहीमाडौंमा अवस्थित छ।

निङ्गलाशैनी मन्दिर सुदूरपश्चिम प्रदेशकै प्रमुख मन्दिर मानिन्छ। यस मन्दिरमा हरेक वर्षको बडादसैँ र चैतेदसैँमा राँगा र बोकाको बलि दिने चलन छ। 

यस मन्दिरमा टाढाटाढाबाट भक्तजन र पर्यटक आउने गर्छन्। पाताल भूमेश्वरजस्ता धार्मिक पर्यटकीय स्थल पनि बैतडीमै पर्छन्।

रामारोशन क्षेत्र

रामारोशन क्षेत्र

अछामको रामारोशन गाउँपालिका अवस्थित पर्यटकीय क्षेत्र हो, रामारोशन।

‘बाह्र बण्ड, अठार खण्ड’का नामले चिनिने यो क्षेत्रमा रहेका बाह्रवटा ताल र अठार वटा ठूलाठूला चौरले पर्यटकहरूको मन लोभ्याउँछ।

प्राकृतिक दृष्टिकोणले अत्यन्तै रमणीय यो ठाउँमा बाह्र प्रकारका राष्ट्रिय फूल लालीगुराँस र नेपालको राष्ट्रिय चरा डाँफे पाइन्छ।

रामारोशनमा गुफा र झरना छन्। यहाँको मुख्य मैदान किनिमिनी, रामे र रोशन हुन्। जैविक विविधता मात्रै होइन, माओवादी जनयुद्ध पनि अध्ययन गर्न सकिन्छ रामारोशनमा। 

सुर्मा सरोवर

सुर्मा सरोवर

बझाङको सदरमुकाम चैनपुरबाट तीन दिन यात्रापछि पुगिने सुर्मा सरोवर ताल अधिक सुन्दर ठाउँमध्ये एक हो।

करिब चार हजारदेखि ६ हजार ५०० मिटरको उचाइसम्म फैलिएको यो भूमिले हरेकलाई आफ्नो बाहुपासमा बाँधिरहन्छ। हिमालको सौम्यता, फूलहरूको बास्ना र रंगीन पाटनहरूको विशालताले यहाँ पुग्ने पर्यटकलाई मन्त्रमुग्ध बनाउँछ। 

यहाँ जटिल रोगहरू निर्मूल पार्न सक्ने क्षमता भएका यार्सागुम्बा, वन लसुन, पाँचऔँले लगायत बहुमूल्य जडीबुटी, थरीथरीका फूललगायत मनमोहक दृश्य देख्न पाइन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad