कञ्चनपुरमा बाढी र डुबानका कारण विस्थापित बनेका स्थानीय घर फर्किन थालेका छन्।
आइतबारदेखिको वर्षापछि आएको बाढी र डुबानका कारण विस्थापित बनेका दोधारा चाँदनी र भीमदत्त नगरपालिकाका स्थानीय तीन दिनपछि घर फर्किन लागेका हुन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुका अनुसार बाढी र डुबानका कारण विस्थापित भएकाहरूमध्ये ४२ परिवारका १ सय ३५ जना घर फर्किएका छन्। नदीहरूमा बहाव घटेपछि उनीहरू घरभित्रको लेदो र पानी पन्छाएर घर फर्किएका हुन्।
दोधारा चाँदनी नगरपालिका–८ को रामपुरे टापुका २५ परिवार, सोही नगरपालिका १० को शान्ति टोलका १२ परिवार र भीमदत्त नगरपालिका ११ भुजेलाका ५ परिवार घर फर्किएका छन्।

जोगबुडा नदीको बाढी बस्तीमा पसेपछि विस्थापित भएका दोधारा चाँदनी नगरपालिका–३ पटेराखल्लाका १५ परिवार भने अझै पनि विद्यालयमै बसिरहेका छन्। बाढीले घरभित्र लेदो भरिएका कारण तत्काल घर फर्किने अवस्था छैन।
लगातारको वर्षापछि महाकाली र जोगबुडा नदीमा आएको बाढीले दोधारा चाँदनी नगरपालिका ५२ र भीमदत्त नगरपालिकाका ५ गरि ५७ परिवार विस्थापित भएका थिए।
यसैगरी, दोधारा चाँदनी नगरपालिकाको सुन्दरनगर र कञ्चभोजको सशस्त्र प्रहरीको दुई बीओपी समेत डुबानमा परेर विस्थापित भएका थिए।
Shares

प्रतिक्रिया