महेन्द्र राजमार्ग छेउमै सानो छाप्रो छ। अगाडि समोसा, पकौडी राखिएका छन्। नजिकै ग्यासमा दनदनी आगो बलिरहेको छ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गजरौलाका ५३ वर्षीय नन्दबहादुर तिवारी चिया बनाउनमा व्यस्त छन्। कैलाली र कञ्चनपुरको सिमानामा पसल हुनाले ग्राहकले प्रायः भरिभराउ नै हुन्छ।
कोही चियाको चुस्की लगाइरहेका छन् त कोही समोसा पकौडीको स्वाद लिइरहेका छन्। तिवारी आफू हिँडडुल गर्न सक्दैनन्। ह्विलचियरको सहारामा यताउता गर्नु पर्ने बाध्यता छ।
तर चिया, समोसा, पकौडी बनाउन उनी आफैं खटिन्छन्। हिम्मत नहारेका नन्दप्रसादले चियाको सानो पसलबाटै गतिलो आम्दानी गरेर जीवन धानेका छन्।
अपाङ्ग भएकाले बाहिरफेर हिँडडुल गर्न सक्दैनन्, उनी। बिहानदेखि नै पसलमा खटिन्छन्। ‘पसल थापेको तीन दशक पुग्नै लाग्यो। परिवारको आयस्रोतको माध्यम यही हो,’ नन्दप्रसाद भन्छन्, ‘यही पसलबाट हुने कमाइले घरखर्च जोहो भएको छ।’

नन्दप्रसादको परिवार मुगुबाट गजरौलामा बसाइ सरेको हो। चिया पसल गर्नु अगाडि उनी भारतमा मजुरी गर्थे।
बसमा काम गर्ने उनको वि.सं. २०५१ सालमा दुर्घटनामा दायाँ खुट्टा गुम्यो, उनको बायाँ खुट्टा पनि कमजोर छ। त्यसपछि उनलाई भारतमा मजदुरी गर्न शारीरिक अवस्थाले दिएन।
वि.सं. २०५४ सालमा घर फर्किर उनले चिया पसल सुरु गरे। वि.सं. २०६४ मा आएको बाढीले भएको जमिन र घर पनि लग्यो, पसल आगलागीमा खरानी भयो। तर उनले हिम्मत नहारेर फेरि चिया पसल अघि बढाए। र त्यसैबाट हुने कमाइले तँग्रिदै गए।
उनको जमिन २ कट्ठा मात्रै छ। वर्षभरीलाई खान पुग्दैन। रासन किनेर खानुपर्ने बाध्यता रहेको उनी बताउँछन्।
‘विपत्ति पनि एकपछि अर्को थपिँदै गए। तर संघर्ष र मेहेनत गर्न कहिल्यै छोडिन,’ नन्दप्रसाद भन्छन्, ‘अशक्त भएर पनि अरुको भर पर्नु परेको छैन। आफैं पाखुरा बजारेर जीवन धान्न सकिएको छ। यसैमा खुसी छु।’
उनको मासिक २० हजारसम्म रासनमा खर्च हुन्छ। खाद्यान्न, लत्ताकपडा र नातिनीको खर्च चिया पसलबाटै कमाइएको पैसाले जोहो गर्छन्, नन्दबहादुर।
नन्दप्रसादको परिवारमा श्रीमती, छोरा, बुहारी र नातिनी छन्। छोरा गाउँघरमै मजदुरी गर्छन्।

उनलाई चिसा पसलमा श्रीमती लक्ष्मीदेवीले सघाउँछिन्। उनले नै सबै सामान तयार पारिदिन्छिन्। त्यसपछि चिया, समोसा र पकौडा सबै पकाउने काम गर्छन्, नन्दबहादुर।
भाँडाकुडा पनि श्रीमती र बुहारीले धोइदिन्छन्। नन्दबहादुरले चिया बनाएर गिलासमा मात्रै हाल्ने गर्छन्। ग्राहकले आफैं लैजान्छन्, ‘सेल्फ सर्भिस’जस्तै हुने गर्छ।
बिहान ५ बजेदेखि साँझ ८ बजेसम्म उनको दैनिकी त्यहीँ सानो छाप्रो बित्छ। दैनिक २ सय रुपैयाँ बचत गर्ने गरेको उनले बताए।
‘सबै खर्च कटाएर वर्षमा एक लाख भन्दा बढी बचत हुन्छ,’ उनले भने।
Shares

प्रतिक्रिया