सुदूरपश्चिम


कञ्चनपुरमा छाउगोठ भत्काउने अभियानः कृष्णपुर र बेदकोटमा हटाइए ३९ गोठ

कञ्चनपुरमा छाउगोठ भत्काउने अभियानः कृष्णपुर र बेदकोटमा हटाइए ३९ गोठ

नेपालखबर
साउन २८, २०८२ बुधबार १४:४९, कञ्चनपुर

कञ्चनपुरमा छाउगोठ भत्काउने अभियान चलाइएको छ। कृष्णपुर नगरपालिका १ निगालीकी २८ वर्षीया कमला आउजीको छाउगोठमा सर्पले टोकेर मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले ९ वटै स्थानीय तहलाई छाउगोठ भत्काउने अभियान चलाउन आग्रह गरेको थियो। 

सोहीअनुसार कृष्णपुर नगरपालिका र बेदकोट नगरपालिकामा छाउगोठ भत्काउने अभियान चलाइएको हो। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी सागर बोहराका अनुसार अहिलेसम्म कृष्णपुर र बेदकोटमा ३९ छाउगोठ भत्काइएको छ। 

१० साउनमा बेदकोट नगरपालिका वडा नम्बर १० मा २३ र २७ साउनमा कृष्णपुर नगरपालिका–१ निगाली, भिन्टी बजारमा १६ गरी ३९ छाउगोठ भत्काइएको उनले बताए। 

स्थानीय, जनप्रतिनिधि र प्रहरीले संयुक्त रुपमा छाउगोठ भत्काउने कार्यमा सक्रिय छन्। देउता रिसाउने अन्धविश्वासका कारण महिनावारीको समयमा महिलालाई घरबाट छुट्टै बनाइएको असुरक्षित गोठमा बास बस्नु पर्ने कुप्रथा छ। 

त्यस्ता गोठमा बास बस्दा महिला असुरक्षित छन्। विगतका वर्षमा समेत छाउगोठ भत्काउने अभियान अन्तर्गत गोठ भत्काइएको भएपनि अझै त्यस्ता छाउगोठ हट्न सकेका छैनन्।

कृष्णपुर नगरपालिका १ निगालीकी कमला आउजीको २७ असारमा छाउगोठमा सर्पले डसेर मृत्यु भएको थियो। 

त्यसपछि कृष्णपुर नगरपालिकाले वडा कार्यालयहरुलाई १५ दिनभित्र छाउगोठ भत्काउन निर्देशन दिएको थियो। छाउगोठ नभत्काउने व्यक्तिलाई १० हजार जरिवाना गर्ने नगरपालिकाले सूचना निकालेको थियो। तर अझै पनि कृष्णपुरमा पूर्णता छाउगोठ हटेका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad