नेकपा (एमाले) सुदूरपश्चिमले मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ।
बुधबार बसेको एमाले प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन ह्वीप जारी गर्ने निर्णय गरेको हो।
प्रदेश संसदीय दलका प्रमुख सचेतक सुरेन्द्र पालले सबै प्रदेश सभा सदस्यलाई अनिवार्य बैठकमा उपस्थित भएर मुख्यमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गरिएको जानकारी दिए।
मुख्यमन्त्री शाहले बिहीबार साँझ ५ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची छ। नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह विश्वासको मत लिन लागेका हुन।
सरकारमा सामेल उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रहेका रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि नाउपाले समर्थन फिर्ता लिएको थियो।
नेपाली कांग्रेस संसदीय दलले यसअघि नै प्रदेश सभा बैठकका अनिवार्य उपस्थित भएर मुख्यमन्त्री शाहलाई विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेको छ।
५३ सदस्यीय (एक जना निलम्बन) सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न २७ जनाको समर्थन चाहिन्छ। अहिले शाहसँग एमालेका ११ र कांग्रेसका १८ गरेर २९ जना प्रदेश सभा सदस्यको समर्थन छ।
प्रदेश सभामा नेकपा माओवादी केन्द्रका ११(सभामुखसहित), नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४ (एक निलम्बन), राप्रपा र स्वतन्त्र एक/एक सांसद छन्।
Shares

प्रतिक्रिया