कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला आउजी(दमाई) श्रीमान्संगै भारतमा काम गर्थिन्। ३ छोरा पनि साथमै थिए। श्रीमान् श्रीमतीले भारतमा रोजगारी गरेर कमाएको पैसाले निगालीमा पक्की घर बनाए।
छोराहरुलाई नेपालमै पढाउने निधो गरेर कमला गत बैशाखामा गाउँ फर्किइन्। गाउँमै छोराहरू विद्यालय पढिरहेका छन्। कमलाका श्रीमान् भारतको सुरतमै काम गर्छन्। सासु ससुरा पनि रोपाइँ सकेर त्यतै हानिए। घरमा देउरानी, ३ छोरा र आफू मात्रै थिए।
शुक्रबार कमला महिनावारी भइन्। व्याप्त अन्धविश्वासका कारण महिनावारीको समयमा घरभन्दा टाढा छाउगोठमा बस्नु पर्ने कुप्रथा छ। उनको घरनजिकैको आफ्नो छाउगोठ चुहिने हुनाले बास बस्न कमला शुक्रबार राति घर नजिकैको अर्को छाउगोठमा गइन्।
अन्धविश्वासले पक्की घर छँदाछँदै ससुरा नाता पर्नेको घरनजिकैको जीर्ण र सानो छाउगोठमा सुत्न गइन्। त्यही क्रममा शुक्रबार मध्यराति उनलाई ओछ्यानमै सर्पले डस्यो। उपचारका लागि सेती प्रादेशिक अस्पतालमा त पुर्याइयो तर शनिबार उनको मृत्यु भयो।
‘एक/डेढ महिनाअघि मात्रै पक्की घर बनाएका थिए। तर सुरक्षित पक्की घरमा नबसेर असुरक्षित छाउगोठमा बसिन्,’ स्थानीय छिमेकी सुचित्र शाह भन्छन्, ‘सर्पले टोकेपछि राति साढे ९ बजे अटो खोजेर अस्पताल पुर्यायौँ।’
अस्पताल पुर्याउँदासम्म कमला सिकिस्त भइसकेकी थिइन्। सेती प्रादेशिक अस्पतालमा आइसीयू र भेन्टिलेटर प्याक हुँदा ढिलो गरी गरी बेड पाइयो। आइसीयूमा राखेर उपचारकै क्रममा शनिबार बिहान कमलाले प्राण त्यागिन्।
पक्की घरमा बस्ने र छोराहरुलाई पढाउने कमलाको सपना अधूरै रह्यो। कमलाका १५, ८ र ६ वर्षीय छोरा टुहुरा बनेका छन्। कमलाको शव सेती प्रादेशिक अस्पतालमै छ। श्रीमान् भारतबाट फर्किरहेका छन्। उनी पुगेपछि कमलाको दाहसंस्कार गरिने छ।
‘अहिलेको समयमा पनि छाउपडी कुप्रथा व्याप्त छ। छाउगोठकै कारणले कलिलो उमेरमै ज्यान गुमाउनुपर्यो,’ सुचित्र भन्छन्, ‘अन्धविश्वास चिरेर पक्की घरमै सुरक्षित बसेको भए केही हुने थिएन।’
छाउपडी कुप्रथा सुदूरपश्चिमको पहाडी भेगमा जरा गाडेको छ। देउता रिसाउने भन्दै महिनावारीको समयमा महिलालाई घरभन्दा टाढा असुरक्षित गोठमा बस्नु पर्ने बाध्यता छ। जसले वर्षेनी महिलाले ज्यान गुमाउनुका साथै बलात्कारको शिकार समेत हुनु परेको छ।
विशेषगरी सुदूरपश्चिमको अछाममा अन्धविश्वासका कारण जरा गाडेर बसेको छाउपडी कुप्रथा बसाइँसराइसंगै तराईमा पनि सरेको शाह बताउँछन्।
अछामबाट बसाइँसराइ गरेर तराई झरेका स्थानीयले अहिले पनि छाउगोठमा बस्न छोडेका छैनन्। कमलाको गाउँ निगालीमा करिब १ सय २० परिवार अछामी समुदाय छन्। अधिकांशको घरमा छाउगोठ छन्। छाउगोठ भत्काउने अभियान नै चलाएपनि छाउपडी कुप्रथा नियन्त्रण हुन सकेको छैन।
कृष्णपुर नगरपालिका–१ को दोमिल्ला, बण्ड, पहरिया, मोतीपुर लगायत ठाउँमा २ सय बढी छाउगोठ रहेको वडाध्यक्ष मोहन बस्नेत बताउँछन्। ‘अछाम समुदायका करिब ४ सय परिवारको बसोबास छ। अधिकाँसमा छाउगोठ छन्,’ उनले भने, ‘केही मात्रै सुधारिएका छन्। नभए सबै असुरक्षित छन्। गोठ भत्काए फेरि बनाइहाल्छन्।’
कृष्णपुर नगरपालिका–१ मा बालमैत्री स्थानीय शासन लागू भएको छ। जसको पहिलो बुँदामै छाउपडी हटाउने अभियान चलाएको उनले बताए।
तर देउता, धामीझाँक्री रिसाउने भन्दै व्याप्त अन्धविश्वासले कुप्रथा हट्न सकेको छैन। ‘बस्नै परेपनि घरमै बिजुली बत्ती, राम्रो सुत्ने व्यवस्था भएको सुरक्षित कोठामा बस्न सकिने भनेका छौं,’ उनले भने, ‘हाम्रो त देउता रिसाउँछ भनेर झगडा गर्न आउँछन्।’
उनका अनुसार छाउगोठ सानो छाप्रो हुन्छन्। त्यहाँ न बिजुली हुन्छ न त सुत्नलाई राम्रो ठाउँ। ‘कालकोठरी जस्तो हुन्छ, त्यसैले यस्ता घटना भइरहेका छन्,’ उनले भने, ‘अछाम समुदायकै कतिपय सचेत नागरिकले मानेका छैनन्। रुढीवादी सोचले गजेडिएकाहरुले अझै छोड्न सकेका छैनन्।’
कमला सुतेको छाउगोठ भत्काइएको उनले बताए। छाउपडी गोठलाई निर्मल पार्ने अभियानमा नगरपालिका लागेको कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले बताए।
‘एक्काइसौँ सताब्दीमा छाउपडी प्रथा रहनु सभ्य समाज निर्माणका लागि बाधक र दुर्भाग्यपूर्ण छ। नगरपालिकाले छाउपडी कुप्रथाका विरुद्ध गतिविधि गरिरहेको छ,’ उनले भने, ‘गतवर्ष कुमगडामा ४ गोठ भत्काइएको थियो। छाउगोठ निर्मल पार्न नगरपालिका जस्तोसुकै कठोर कदम चाल्न तयार छ।’
घटनापछि कृष्णपुर नगरपालिकाले नगरभित्र रहेका छाउगोठ १५ भित्र भत्काउन निर्देशन दिएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद भट्टले निर्देशनपत्र जारी गर्दै छाउ गोठ भए–नभएको निरीक्षण गर्न सबै वडा कार्यालयलाई निर्देशन दिएका हुन्। छाउपडी गोठहरू नभत्काए कानुनी कारबाहीसहित १० हजार जरिवाना हुने नगरपालिकाको पत्रमा उल्लेख छ।
मुलुकी संहितामा पनि रजस्वला र सुत्केरी अवस्थामा छाउ गोठमा राख्न वा अन्य कुनै भेदभाव, छुवाछूत गराउन नहुने उल्लेख गरिएको छ। यस्तो कार्य गरेको ठहरिएमा ३ महिनासम्म कैद वा ३ हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था पनि ऐनमा रहेको छ।
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १० मा भेदभाव र अपमानजनक व्यवहारसम्बन्धी कसुर शीर्षकको दफा १६८ उपदफा (३) मा महिलाको रजस्वला र सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमको भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्नु वा गराउनु नहुने उल्लेख छ।
Shares

प्रतिक्रिया