अछाममा कर्तव्य ज्यान मुद्दाका दुई फरार प्रतिवादी ४ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामारोशन गाउँपालिका ६ का ३६ बर्षीय झपड साउँद र ३४ बर्षीय कुल बहादुर साउँद रहेका छन्।
जिल्ला प्रहरी कार्यालय, अछामका अनुसार पक्राउ परेका दुबै जनाविरुद्ध रामारोशन गाउँपालिका ६ कै गगन साउँदको कर्तव्य गरी हत्या गरेको सम्बन्धी मुद्दा छ। त्यसयता दुवै जना फरार रहेका थिए।
खोजी गर्दै जाँदा उनीहरुलाई गाउँबाटै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
२०७८ कार्तिक २१ गते गगनको हत्या गरेको अवस्थामा भिरमा शव भेटिएको थियो। मृतक गगन भारतमा काम गर्थे। सोही दिन उनी भारतबाट घर फर्किरहेका थिए। हत्या आरोपी गगनको चिनजानका साथी हुन।
भारतबाट गाउँ फर्कदा गगनको उनीहरुसंग भेट भएको र नास्ता खाएर आउँदै गरेको भनेर गगनले श्रीमतीलाई खबर गरेका थिए। तर गगन घर पुगेनन्।
खोजी गर्दा उनी भिरमा मृत भेटिएका थिए। त्यसपछि मृतक गगनकी श्रीमतीले घर फर्किदा श्रीमान (गगन)ले भेटेका र संगै नास्ता खाएका झपड र कुल बहादुरमाथि शंका गरिन्। हत्या गरेर शव भिरमा फालेको श्रीमतीको आरोप छ।
मृत भेटिनु अघि भारतबाट फर्किदा बाटोबाट अन्तिम कलमा श्रीमान्ले भनेका कुराहरुका आधारमा झपड र कुल बहादुरविरुद्ध श्रीमतीले प्रहरीमा जाहेरी दिएकी थिइन्।
पक्राउ पूर्जी जारी भएपछि दुवै आरोपित फरार भएका थिए। भारतमा काम गर्ने उनीहरुल घर फर्किएको मौकामा ४ वर्षपछि नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ।
घटनाको बारेमा उनीहरुमाथि अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ।
Shares

प्रतिक्रिया