सुदूरपश्चिम


कैलालीमा कैदीको मृत्यु : छानबिन समिति गठन, आन्दोलनका कार्यक्रम स्थगन

कैलालीमा कैदीको मृत्यु : छानबिन समिति गठन, आन्दोलनका कार्यक्रम स्थगन

गोकुल जोशी
असार ४, २०८२ बुधबार १७:५२, कञ्चनपुर

जिल्ला प्रशासन कार्यालय कैलालीले कैदी मृत्यु घटनाको अनुसन्धानका लागि छानबिन समिति बनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको नेतृत्वमा ७ सदस्य छानबिन समिति गठन गरेको हो।  

२८ वर्षीय हरिसिंह पालीको कारागारमा शंकास्पद मृत्यु भएपछि घटनाको अनुसन्धानका लागि चर्को माग उठेपछि छानबिन समिति गठन गरिएको हो। कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउन समितिलाई निर्देशन दिएका छन्।

समितिमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी, जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार सिंह, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रतिनिधि, प्रहरी नायब निरीक्षक सुरेश बोहरा, प्रहरी सहायक हवलदार नरेश साउँद तथा डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लोकराज भट्ट सदस्य रहेका छन्।

बैंकिङ्ग कसुरमा पक्राउ परेका पालीको मृत्यु कुटपिटका कारण भएको भन्दै उनका आफन्त र स्थानीय संघसंस्थाले बुधबार डडेल्धुरा सदरमुकाममा बजार र यातायात पूर्णरूपमा बन्द गराएका थिए। 

डडेल्धुराको आन्दोलनले सदरमुकामको बजार ठप्प हुनुका साथै सुदूरपहाडका गाडी चल्न सकेका थिएनन्। छानबिन समिति गठन भएपछि घोषणा गरिएको अनिश्चितकालीन बजार तथा यातायात बन्द फिर्ता लिइएको छ।

डडेल्धुरा उद्योग वाणिज्य संघले विज्ञप्ति जारी गर्दै पीडित पक्षको किटानी जाहेरी दर्ता, सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानविन समिति गठन र केन्द्रबाट जाँचका लागि सीआईबी पनि आउने सहमति भएकोले आन्दोलन फिर्ता लिएको उल्लेख गरेको छ। 

पालीलाई गत फागुन २९ गते कैलाली जिल्ला अदालतले १० दिन कैद र दुई लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। सोही सजाय कार्यान्वयनका लागि उनलाई डडेल्धुराको अमरगढी नगरपालिका–५ स्थित तुफानडाँडाबाट पक्राउ गरी कैलाली लगिएको थियो।

पक्राउपछिको दुई दिनभित्रै, असार २ गते सेती प्रादेशिक अस्पतालमा उनको मृत्यु भएको हो। मृतक पालीको शरीरभर निलडाम, घाउ छन्। मृतकका आफन्तले नियोजित रूपमा प्रहरीले यातना दिएको आरोप लगाएका छन्। 

घटनाको सत्य, तथ्य छानबिन गरेर दोषीलाई कारबाही हुनु पर्ने पीडित आफन्तले माग अघि सारेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad