सुदूरपश्चिम


परराष्ट्रमन्त्रीको आग्रह– जनताको खाँचोका सेवामा संवेदनशील हुनु

परराष्ट्रमन्त्रीको आग्रह–  जनताको खाँचोका सेवामा संवेदनशील हुनु

फाइल तस्बिर


नेपालखबर
जेठ २४, २०८२ शनिबार १५:५२, काठमाडौँ


परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जनताका आवश्यकता र प्रत्यक्ष खाँचोसँग जेडिएका सेवा प्रदान गर्ने काममा राष्ट्रसेवकहरु संवेदनशील र जिम्मेवार बन्नुपर्ने बताएका छन्।

राहदानी विभागद्वारा सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा राहादानी सेवामा कार्यरत कर्मचारीहरुका लागि शनिबारधनगढीमा आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो धारणा राखेकी हुन्।

‘राहदानी अब नागरिकको कुनै विलासिताको बस्तु नभएर प्रत्येक नागरिकको आधारभूत अधिकार भएको छ,’ राणाले भनिन्, ‘त्यसैले यो सेवा दिने कार्यालयको ‘फ्रन्ट डेस्क’ मा बस्ने यहाँहरु सबैभन्दा जिम्मेवार व्यक्ति हुनुहुन्छ। सेवाको आवश्यकता र जनताका खाँचोलाई हेरेर गम्भीर भइदिनु होला।’

उनले यस्तो संवेदनशील सेवा दिने ठाउँमा बसेका कर्मचारीहरुले नागरिकका समस्या र आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने र के कसरी उनीहरुलाई छिटोछरितो र सहज सेवा दिन सकिन्छ भनेर सोच्नुपर्ने सुझाव दिइन्।

अझ सुदूरपश्चिम तथा यस्तै दुर्गम जिल्लामा दिइने सेवालाई त झन् कसरी सहज र नागरिकको पहुँचयोग्य बनाउने भन्ने बारेमा सरकार प्रयत्नशील रहेको मन्त्री डा राणाले बताइन्।

‘राहादानी लिनका लागि पहिलेजस्तो जटिल अवस्था अहिले छैन, तर पनि सेवा प्रदान गर्ने समय र वितरणका क्रममा केही समस्या आउने गरेका मैले सुनेकी छु,’ उनले भनिन्, ‘सरकारी सेवा जतिसक्दो चाँडै पाइयोस् भन्ने अपेक्षा जनताले राख्नु स्वाभाविकै हो। यसै बमोजिम सेवालाई सरल, सहज र पहुँचयोग्य बनाउनु सरकारको कर्तव्य हो र यसका लागि यहाँहरुकै भूमिका बढी रहन्छ।’ 

मन्त्री डा राणाले राहादानी सम्बन्धी वर्तमान सेवालाई दुर्गम जिल्लाहरुका नागरिकलाई अझ सहज र पहुँचयोग्य कसरी बनाउने भनेर सरकारलाई सुझाव दिन आग्रह गरिन्।

 ‘पासपोर्टमा जनतालाई परेका समस्या र त्यसमा गर्न सकिने सुधारका लागि यहाँहरुले सरकारलाई सुझाव दिन सक्नुुहुनेछ। त्यसमा सरकारले समयानुकुलु सुधार गर्दै लैजानेछ,’ उनले भनिन्।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad