सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोले मुद्दा दर्ता गरेको छ। सोमबार अख्तियारले उनीविरुद्ध विशेष अदालतमा आरोप पत्र दर्ता गर्दै १ करोड ८ लाख ३८ हजार ३ सय २ रुपैयाँ ५७ पैसा बिगो दाबी गरेको छ।
नेकपा एकीकृत समाजवादीका सांसद रहेका सोडारीले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरीमा अनुसन्धान गरेर अख्तियारले विशेष अदालतममा मुद्दा दर्ता गरेको हो। उनले ०८१ बैशाख ६ गतेदेखि ०८१ साउन २० गतेसम्म सुदूरपश्चिमको मुख्यमन्त्री कार्यभार सम्हालेका थिए। कैलाली क्षेत्र नम्बर ४(१) बाट प्रदेश सांसदमा दोस्रो पटक निर्वाचित सोडारीले प्रदेश सरकारमा सामाजिक विकास मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका थिए।
उनले सार्वजनिक पदधारण गरेको ०७४ माघ ७ गतेदेखि ०७९ फागुन १० सम्मको जाँच अवधिमा खुद बैंक मौज्दात, पारिश्रमिक बचत, दैनिक भ्रमण भत्ता बचत, गैरसरकारी संस्थाबाट प्राप्त भत्ता आय, श्रीमतीको पारिश्रमिक वचत, छोराको पारिश्रमिक र दैनिक भ्रमण भत्ता बचत, बुहारीको पारिश्रमिक बचत, कृषि आय, बुबा र आमाले प्राप्त गरेको सामाजिक सुरक्षा भत्ता बचत र बैंक ब्याज आयसमेत गरी ८५ लाख ५१ ह्जार ३ सय ३४ रपैयाँ ९२ पैसा वैधानिक आय आर्जन गरेको देखिएको अख्तियारले जनाएको छ।
यस्तै, सोही जाँच अवधिमा व्ययतर्फ जग्गा खरिदमा भएको खर्च, घर निर्माण एवं सोही घरमा आन्तरिक सजावट खर्च, छोरीको अध्ययन खर्च, निजको श्रीमती संचालक रहेको बबि मसला उद्योगमा भएको लगानी, बिमा प्रिमियम भुक्तानी, प्रदेशसभा निर्वाचनमा भएको खर्च, छोराको विवाह खर्च, शेयर लगानी, बिभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको नगद मौज्दातसमेत १ करोड ९३ लाख ८९ हजार ६ सय ३७ रुपैयाँ ४९ पैसा बराबरको खर्च तथा लगानी गरेको देखिएको छ।
जाँच अवधिको कुल/समग्र आयबाट सोही अवधिको कुल/समग्र खर्च तथा लगानी (कुल व्यय) घटाउँदा १ करोड ८ लाख ३८ हजार ३ सय २ रुपैयाँ ५७ पैसा कुल आयभन्दा कुल व्यय अधिक भएको र सोही बराबरको सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको अख्तियारको आरोप पत्रमा छ।
सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरी अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको अख्तियारले जनाएको छ।
सोडारीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) मा परिभाषित एवं निषेधित गरिए बमोजिमको कसुर गरेको पुष्टि भएकोले १ करोड ८ लाख ३८ हजार ३ सय २ रुपैयाँ ५७ पैशा बिगो दाबी गरेको छ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम बिगो अनुसार कैद र बिगोबमोजिम जरिवाना हुन एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२), दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख बमोजिम गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गरिनु पर्ने आरोप पत्रमा उल्लेख छ।
यस्तै, सोडारीले आयोग समक्ष पेस गरेको सम्पत्ति विवरणमा वास्तविक सम्पत्तिको विवरण उल्लेख नगरी सम्पत्ति लुकाई छिपाई झुट्टा विवरण पेस गरेको समेत पुष्टि भएको उल्लेख छ।
त्यसैले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२) बमोजिम कैद र जरिवाना गरी लुकाई छिपाई राखिएको सम्पत्ति जफत र थप सजाय गर्न माग गरिएको छ।
सोडारीले सार्वजनिक सेवाको पदमा रहँदा अख्तियारको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिबाट श्रीमती गीता सोडारी तथा छोरा बबी सोडारीको नाममा जग्गा खरिद, घर निर्माण र बैंकमा मौज्दातको सम्पत्ति जफत गर्ने प्रयोजनार्थ मात्र श्रीमती र छोराहरुलाई प्रतिवादी कायम गरी विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।
Shares

प्रतिक्रिया