सुदूरपश्चिम


अडिओ सार्वजनिक भएपछि सुदूरपश्चिमका वनमन्त्री चौधरीले दिए राजीनामा

अडिओ सार्वजनिक भएपछि सुदूरपश्चिमका वनमन्त्री चौधरीले दिए राजीनामा

गोकुल जोशी
चैत १६, २०८१ शनिबार ११:२३, कञ्चनपुर

सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लक्ष्मण किशोर चौधरीले पदबाट राजीनामा दिएका छन्।

चौधरीले शनिबार मुख्यमन्त्री कमलबहादुर शाहलाई राजीनामा बुझाएका छन्।

आर्थिक लेनदेनको अडिओ रेकर्ड सार्वजनिक भएपछि मन्त्री चौधरी विवादमा तानिएका थिए।

घटना छानबिनका नैतिकताका आधारमा मन्त्री पदबाट राजीनामा दिएर मार्गप्रशस्त गरेको पत्रकार सम्मेलनमा चौधरीले बताए। 

७ महिना पुरानो अडिओ सार्वजनिक गरेर विवादमा ल्याउन खोजिएको चौधरीको दाबी छ। 

आफूले आर्थिक लेनदेन नगरेको जिकिर उनले गरे। 

चौधरीले उक्त अडिओ भदौ महिनातिरकै भएको बताउँदै केही काठ व्यवसायी र पार्टीका व्यक्ति छलफलमा रहेको खुलाए। 

भर्खरै मन्त्री बनेका कारण सचिवालयका कर्मचारीको आग्रहमा आफ्नै निवासमा उनीहरूसँग छलफल गरेको तर नियत गलत नभएको दाबी उनको छ। 

अडिओ‌मा सुनिएजस्तो त्यसमा मुख्यमन्त्रीलाई मिलाउने कुरा आफूले नगरेको तर सोध्नुपर्ने कुरा राखेको उनको भनाइ छ। 

प्रदेशका मुख्यमन्त्रीको उक्त प्रकरणमा कुनै संलग्नता नरहेको दाबीसमेत गरिएको छ।

सार्वजनिक अडिओमा दिगो वन व्यवस्थापनसम्बन्धी कार्यविधि आइतबार पारित गर्ने बताएका मन्त्रीले २५ देखि ३० चाहिने र पाँच जति मुख्यमन्त्रीलाई पनि दिनुपर्ने बताएको सुनिएको छ।

तर मन्त्री चौधरीले उक्त कार्यविधि अहिलेसम्म पारित नभएको बताए। अडिओमा सार्वजनिक भएको विषयमा आफूले कुनै लेनदेन नगरेको तर वनसम्बन्धी अनुभव नभएका कारण छलफलमा मात्र गरेको दाबी मन्त्री चौधरीको छ।

उनले आफूबारे छानबिन गर्न माग गर्दै दोषी देखिए कारबाही भोग्न तयार रहेको बताएका छन्। 

मन्त्री चौधरीले नागरिक उन्मुक्ति पार्टीको आन्तरिक शक्ति संघर्ष र अन्य राजनीतिक दलको षड्यन्त्रको सिकार आफूलाई बनाइएको दाबी गरेका छन्।

चौधरी नागरिक उन्मुक्ति पार्टीबाट सुदूरपश्चिम प्रदेश सरकारमा दोस्रोपटक मन्त्री बनेका थिए। यसअघि उनी सामाजिक विकासमन्त्री थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad