सुदूरपश्चिम


फागुनमा कोरिया उड्दै थिए कैलाश, मोटरसाइकल दुर्घटनामा साथीसँगै गयो ज्यान

फागुनमा कोरिया उड्दै थिए कैलाश, मोटरसाइकल दुर्घटनामा साथीसँगै गयो ज्यान

कैलाशसिंह साउद (बायाँ) र गणेश विष्ट


गोकुल जोशी
माघ ३०, २०८१ बुधबार ९:५७, कञ्चनपुर

कञ्चनपुरको भीमदत्त नगरपालिका-१६, मझगाउँका २१ वर्षीय कैलाशसिंह साउद काठमाडौँमा कोरियाली भाषा पढ्दै थिए। 

कोरियामा जाने तयारीमा रहेका उनी केही दिनअघि परिवारसँग भेटघाटका लागि घर मझगाउँ आए। 

कोरियाको भिसा आइसकेको थियो। स्थानीयका अनुसार उनी फागुन ११/१२ तिर कोरिया उड्दै थिए।

परिवार, साथीभाइसँग भेटघाट गरेर कैलाश यसै साता काठमाडौँ फर्किंदै थिए।

दुर्भाग्य! सोमबार राति उनी मोटरसाइकल दुर्घटनामा परे। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार दुर्घटनामा उनीसँगै भीमदत्त नगरपालिका-१३ का २१ वर्षीय गणेश विष्टको पनि मृत्यु भयो। 

भीमदत्त नगरपालिका-१२ स्थित चार लेनको सडक (भाइरल रोडले चिनिने) मा तीव्र गतिमा रहेको उनीहरू सवार सुपप्र ०१ ०१२ प ९२४९ नम्बरको बुलेट बाइक अनियन्त्रित भएर विद्युत्‌को पोलमा ठोकियो। 

दुर्घटनामा गम्भीर घाइते भएका कैलाश र गणेशलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरे। 

भीमदत्त नगरपालिका वडा नम्बर १३, वडैपुरका गणेश र वडा नम्बर १६, मझगाउँका कैलाश साथी थिए। दुर्घटनामा निधन भएका दुवैको महाकाली आर्यघाटमा मंगलबार अन्त्यष्टि गरिएको छ।

‘एक साताअघि विदेशको लागि कागजपत्र बनाउन आएका थिए। वडाबाट गर्नुपर्ने सिफारिस गरिदिएको थिए,’ भीमदत्त नगरपालिका-१६ का अध्यक्ष केशव विष्ट भन्छन्, ‘कोरिया जान लागेको सुनेको थिएँ।  सरसमान पनि तयार भइसक्याथ्यो। दुःखद घटना भयो।’

कैलाशका बुवा नेपाली सेनामा कार्यरत छन्। कैलाश कान्छा थिए। जेठा छोरा कोरियामा छन्।

मोटरसाइकल दुर्घटनामा दुई युवकको मृत्युले परिवार शोकमा डुबेका छन्।

‘गाउँ समाजमा मिलनसार, राम्रो व्यवहार थियो। आमाबुवाले ठूलो सपना देखेका थिए,’ भीमदत्त नगरपालिका-१६ का वडासदस्य महेन्द्र प्रसाद भट्टले भने, ‘दु:खद घटनाले सपना चकनाचुर भयो। आशालाग्दा युवा गुमाउँदा समाजमा अपूरणीय क्षति पुगेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad