सुदूरपश्चिम


२७ वर्षपछि ‘हेड सर’लाई बिदा गर्नुपर्दा...

२७ वर्षपछि ‘हेड सर’लाई बिदा गर्नुपर्दा...

गोकुल जोशी
पुस २४, २०८१ बुधबार ८:२५, कञ्चनपुर

अनुहार अबिरलले रंगिएको छ। शरीर माला र दोसल्लाले ढाकिएको छ। ससाना बालबालिकादेखि तन्नेरी विद्यार्थी, अभिभावक तथा शिक्षकसम्म फूलमाला लिएर लामबद्ध छन्।

नजिकै पुगेर श्रद्धाभावले हात जोड्छन्, अबिर लगाउँछन् र माला पहिर्‍याउँछन्। मायाको चिनो दिन्छन्, पाउ छोएर दण्डवत् गर्दै तस्बिर खिचाउँछन्। 

कञ्चनपुरको वेदकोट नगरपालिका-५, धरमपुरको सरस्वती माध्यमिक विद्यालयका भूतपूर्व प्रधानाध्यापक जयदेव बडुको बिदाइको दृश्य हो यो। 

३४ वर्षे शिक्षण जीवनबाट अवकाश लिएका उनलाई मंगलबार विद्यालयमा भव्य कार्यक्रम गरी बिदाइ गरिएको हो।

जीवनका ऊर्जाशील २७ वर्ष बडुले सरस्वती माध्यमिक विद्यालयमा बिताए। २२ वर्ष प्रधानाध्यापकको भूमिकामा रहेका उनलाई ‘हेड सर’ भनेर पनि चिनिन्छ। 

शिक्षाका माध्यमबाट विद्यार्थीलाई असल मान्छे बन्न प्रेरित गर्नाका साथै उनको कुशल नेतृत्वमा विद्यालयले विकासमा फड्को मार्‍यो। 

त्यसैले उनको बिदाइका बेला विद्यार्थी, अभिभावक र शिक्षक भावुक बनेका हुन्। विद्यालयमा बिदाइ कार्यक्रमपछि उनीहरूले ‘हेड सर’लाई बाजागाजासहित गाउँ परिक्रमासमेत गराए। शिक्षक बडुलाई अभिभावकले काँधमै बोके। 

‘मर्दा पैसा लगेर जाने होइन। मैले शिक्षणबाट पैसा कमाइनँ होला। यत्रो माया कमाएको रहेछु, आज थाहा भयो’, बिदाइ कार्यक्रममा बोल्दै बडुले भने, ‘यो माया मुटुभित्र बसेको छ। अवकाशमा गए पनि विद्यालयको विकासमा सहयोग रहने नै छ।’

वेदकोट नगरपालिका-७ गाउजीका स्थायी बासिन्दा बडु २०४८ सालमा शिक्षण सेवामा प्रवेश गरेका थिए। उनले गाउजी, पुनर्वास र बेलडाँडीका विद्यालयमा पनि ७ वर्ष पढाए। 

वि.सं. २०५१ मा स्थापना भएको सरस्वती माध्यमिक विद्यालयमा सुरुमा भौतिक संरचना थिएनन्। खरको झुप्रोमा बसेर विद्यार्थी पढ्थे। 
२०५४ भदौ ३१ गते विद्यालयमा आएका थिए- बडु। कैयौँ वर्ष दरबन्दीका एक्ला शिक्षकका रूपमा रहे।

विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष ललित बहादुर आलेसँगसहकार्य गर्दै बडुले विद्यालयको शैक्षिक र भौतिक विकासमा महत्त्वपूर्ण योगदान गरे। 

विद्यालयलाई खरको झुप्रोबाट उठाएर कक्षा १० सम्म विस्तार गर्नेमध्येका एक पात्र बडु पनि हुन्।

उनकै नेतृत्वमा थुप्रै भौतिक संरचना थपिएका छन्। सुरुवाती चरणमा शिक्षक बडुले आफ्नो तलबबाट विद्यालयका शिक्षकलाई तलब खुवाएको पनि स्थानीय बताउँछन्। 

२७ वर्षको उमेरमा विद्यालयमा शिक्षकका रूपमा आउँदा विद्यालयका संस्थापक व्यवस्थापन समिति अध्यक्ष ललितबहादुर आलेले आफूलाई सिकाएको बडु सम्झन्छन्। आले बितिसकेका छन्।

विद्यालयको शैक्षिक गुणस्तर सुधारमा बडुले उल्लेख्य योगदान गरेको व्यवस्थापन समितिका पूर्वअध्यक्ष अमर बोगटी बताउँछन्।

‘भौतिक निर्माण र शिक्षाको क्षेत्रमा निकै योगदान गर्नुभयो। उहाँको बोली सबैलाई मन पर्ने हो। जस्तो सुकै मान्छे भए पनि उहाँमा मिलाउने क्षमता थियो’, उनले भने।

यहाँका बालबालिकालाई शिक्षाका माध्यमबाट सुसंस्कृत बनाउन महत्त्वपूर्ण योगदान विद्यालयका पीटीए अध्यक्ष विष्णुराम दमाईं।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad