सुदूरपश्चिम


कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट युवकको मृत्यु, सँगै रहेका २ साथीले भागेर ज्यान जोगाए

कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट युवकको मृत्यु, सँगै रहेका २ साथीले भागेर ज्यान जोगाए

घटनास्थल


गोकुल जोशी
असोज २२, २०८१ मंगलबार ९:९, कञ्चनपुर

कञ्चनपुरमा गएराति जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बेलौरी नगरपालिका-६  ढक्का चाँदरका २४ वर्षीय उमेश चौधरी हुन्।

इलाका प्रहरी कार्यालय बेलौरीका अनुसार बेलौरी नगरपालिका-५ स्थित पुष्पलाल स्मृति सामुदायिक वन क्षेत्रमा जंगली हात्तीको आक्रमणमा परेर चौधरीको मृत्यु भएको हो।

सोमबार राति साढे १ बजेतिर नाचगान हेरेर चौधरी र उनका अन्य दुई साथी एउटै मोटरसाइकलमा घर फर्किंदै थिए।

त्यसैबेला उनीहरूलाई हात्तीले आक्रमण गरेको हो। चौधरीका दुई साथीले भागेर ज्यान जोगाएका छन्।

से ४ प ८६१८ नम्बरको उक्त मोटरसाइकल उमेशले चलाएका थिए भने उनका २ साथी बेलौरी ढक्काचादरकै २४ वर्षीय रोशन चौधरी र २२ वर्षीय नवीन चौधरी पछाडि बसेका थिए। 

दसैँ सुरु भएसँगै थारु समुदायमा सखियाको रौनक छ। थारु बस्तीमा यतिबेला राति सखिया नाच हुने गर्छ।

‘नाचगान गरेर फर्किने क्रममा जंगल क्षेत्रमा हात्तीको आक्रमणमा परेका हुन्। राति हात्तीको आवाज सुनेका रहेछन्। सँगैका २ साथीले भागेर ज्यान जोगाए,’ इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक भाष्कर चन्दले भने।

१३ असोजमा पनि कञ्चनपुरको लालझाडी गाउँपालिका-४ डाँडाजाइमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad