सुदूरपश्चिम एकमात्र उपमहानगरपालिका कैलालीको धनगढीले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि २ अर्ब भन्दा बढीको बजेट ल्याएको छ।
सोमबार ११ औं नगरसभाबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसँगै बजेट प्रस्तुत गरिएको हो। धनगढीले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि २ अर्ब १८ करोड ४२ लाख ३२ हजार २ सय २० रुपैयाँ बराबरको बजेट ल्याएको छ।
कुल बजेटमा चालुतर्फ १ अर्ब २० करोड १५ लाख ४४ हजार ११७ र पुँजीतर्फ ९८ करोड २६ लाख ८८ हजार १ सय २ रुपैयाँको बजेट छ।
प्रस्तुत बजेट चालु आर्थिक वर्ष भन्दा थोरैले बढी हो। धनगढीको चालु आर्थिक वर्षको बजेट १ अर्ब ९३ करोड ८ लाख २४ हजार बराबरको थियो।
पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै बजेट ल्याइएको उपमहानगरपालिकाले जनाएको छ। नगर प्रमुख गोपाल हमालले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा चुनावी नारा ‘हाम्रो धनगढी, हामी बनाउँछौँ’ समावेश छ।
मेयर हमालले यसपटक पनि नीति तथा कार्यक्रमभित्र अघिल्ला वर्षमा सुरु गरेका र अपूरा योजनालाई निरन्तरता दिएका हुन्।
स्वास्थ्य क्षेत्रमा विशेषज्ञसहितको निःशुल्क घुम्ती स्वास्थ्य सेवालाई निरन्तरता दिएको छ। ‘एक वडा, एक एम्बुलेन्स’ अघिल्लो वर्षकै कार्यक्रमलाई थप प्रभावकारी बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ।
‘हाम्रो धनगढी, सफा धनगढी’लाई उच्च प्राथमिकतालाई राख्दै ‘बसोबासयोग्य हरित सहर, समृद्ध कल्याणकारी उपमहानगर’ बनाउने योजना छ।
Shares
प्रतिक्रिया