डोटीको शिखर नगरपालिका वडा न ४ देवाली गाउँमा बालबालिका तथा वृद्धवृद्धालाई लक्षित गरी सामुदायिक पुस्तकालय स्थापना गरिएको छ।
जिल्ला समन्वय समितिको करिब तीन लाख ५० हजार रुपैयाँको लागतमा निर्मित १ कोठे पक्की भवनमा करिब २० हजार रुपैयाँका पुस्तक राखेर ‘प्रज्ञा बाल तथा वृद्ध मैत्री सामुदायिक पुस्तकालय’ को स्थापना गरियको शिखर नगरपालिका–४ का वडाअध्यक्ष टेक बहादुर मल्लले जानकारी दिए।
गाउँघरमा मानिसहरु तराईतिर बसाइ सराइ गर्ने क्रम बढेको तथा सामुदायिक स्कुलहरुको शैक्षिक स्तर खस्कँदै गइरहेको हुँदा बालबालिकाहरु पढाइमा कमजोर हुनुका साथै स्कुल जानसमेत छोडेर भारत तिर जाने क्रम बढेकोले स्कुल जानेबाहेकको समय पुस्तक पढ्न सदसपयोग गरुन् भन्ने उदेश्य रहेको पुस्तकालय सञ्ञ्चालक समितिका सचिव कर्णबहादुर मल्लले बताए।
साथै, साना–साना बालबालिका हरुको हेरचाह गाउँघरमा अधिकांश वृद्ध मानिसहरुले गर्ने र आमाबुवा हरु कृषि तथा पशुपालन कार्यमा ब्यस्त हुने हुँदा हेरचाह गर्ने वृद्ध र बच्चाहरुको समयलाई सिर्जनशील, रचनात्मक तथा अध्यनशील बनाउन यो पुस्तकालयले महत्वपूर्ण योगदान दिने उनको भनाई छ।
पुस्तकालयमा वृद्धहरूका लागि धार्मिक किताबहरु गिता, वेद, पुराण, स्वस्थानी ब्रतकथा, रामायण, माहाभारत, कृष्ण चरित्र जस्ता पुस्तक राखिएका छन् भने बालबालिकाहरुका लागि राइटिङ ट्याब, इ–बुक, खेल्दै सिक्ने किताब, विभिन्न बाल कथाका पुस्तकहरु राखिएको छ।
Shares
प्रतिक्रिया