शुक्लाफाँटा नगरपालिका–७ कालापानीमा सेप्टिक ट्यांकीमा अड्केर मरेको हात्तीलाई नजिकै खाल्डोमा पुरिएको छ।
सेप्टिक ट्यांकीबाट निकाल्न नसक्दा निकुञ्जले हात्तीलाई ट्यांकीसँगै अर्को खाल्डोमा जेसिबीको प्रयोग गरेर गाडिएको हो। पोस्टमार्टम गरेर हात्तीको शव नजिकै खाल्डोमा गाडिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले बताए।
‘क्रेनले ट्यांकीबाट निकाल्दा धेरै समय लाग्ने भयो, त्यसैले हामीसँग उपलब्ध जेसिबीले ट्यांकी नजिकै खाल्डो बनाएर हात्तीलाई पल्टि गरिएको हो,’ उनले भने, ‘घाँटी च्यापिएर श्वास फेर्न नसक्दा मृत्यु भएको देखिन्छ।’
उनका अनुसार निकुञ्जका पशु चिकित्सक डा. आभाष श्रेष्ठ नेतृत्वको टीमले हात्तीको पोस्टमार्टम गरेपछि खाल्डोमा गाडिएको हो।
बुधबार राति सेप्टिक ट्यांकीमा झरेको हात्ती बिहान मृत भेटिएको थियो। हात्तीका चार वटै खुट्टा सेप्टिक ट्यांकी भाँसिएर तल झरेका थिए। पुच्छर र टाउकोतिरको भाग सेप्टिक ट्यांकी बाहिर रहेकोले घाँटी अँठिएर श्वास फेर्न नसक्दा हात्तीको मृत्यु भएको निकुञ्जका सहायक संरक्षण अधिकृत ऐरले जानकारी दिए।
अन्दाजी २५/३० वर्षको हात्ती फसेको सेप्टिक ट्यांकी ७/८ वर्षअघि निर्माण गरिएको थियो। सामुदायिक वनमा हल्दी र बाँसको झाडी छ।
सोही आहार गर्न हात्तीको बथान केही साताअघिदेखि आउने गरेको थियो। यो क्षेलाई हात्ती हिँड्ने करिडोरका रुपमा लिइन्छ।
माथि चुरेसम्मै जोडिएको यो करिडोर भएर हात्ती बेलडाँडी हुँदै भारततर्फ जाने गरेका छन्।
बथानबाट छुटेको त्यो हात्ती सेप्टिक ट्यांकीमाथि पुग्दा ट्यांकी भाँसिएको थियो।
‘हात्तीले ट्यांकीभित्र तल खुट्टा टेकाउन पाएन, घाँटीको भाग बाहिर हुनाले अँठिएर मरेको देखिन्छ,’ उनले भने।
यसरी खोल्टोमा पुरियो ‘सेप्टिक ट्यांकी’मा मरेको हात्ती pic.twitter.com/TW7m0Oa9Kk
— Nepalkhabar (@nepalkhabar) August 17, 2023
Shares
प्रतिक्रिया