ad ad

सुदूरपश्चिम


कैदीलाई कुटपिट गरेको भन्दै कञ्चनपुर कारागारमा लफडा

चौकीदार र नाइकेले रकम असुल्ने गरेको आरोप
कैदीलाई कुटपिट गरेको भन्दै कञ्चनपुर कारागारमा लफडा

गोकुल जोशी
साउन २९, २०८० सोमबार १६:४३, कञ्चनपुर

कञ्चनपुर कारागारभित्र कैदीमाथि कुटपिट भएको भन्दै विवाद भएको उत्पन्न भएको छ। 

कैद भुक्तान गरिरहेका कैलालीको गोदावरी नगरपालिका–५ गेटाका सुवास भट्टमाथि कुटपिट भएको भन्दै उनको परिवारले सोमबार कारागार कार्यालय कञ्चनपुर घेराउ गरेको छ। 

कारागारभित्र भट्टमाथि निर्घात कुटपिट भएको उनका दाइ किरण भट्टले आरोप लगाए। 

‘जेलभित्र कैदीहरू मिलेर कहिले पाइपले पिट्छन्, कहिले पासो देखाएर मारिदिन्छौँ भनेर धम्काउँछन् भनेर फोन ग¥यो,’ उनले भने, ‘त्यसपछि हामी भेट्न कारागार आयौँ, तर भाइलाई भेट्नै दिइएन।’

कारागारका चौकीदार र नाइकेले कैदीबाट रकम असुल्ने गरेको समेत उनको आरोप छ। भाइले फोन गरेर सुत्न, खाना नदिएको भन्दै पैसा माग्ने गरेको उनको आरोप छ।

‘३÷४ दिनमा मार्दैछन्, २० हजार दिए म बच्छु भनेर फोन गरेको थियो’, दाइ किरणले भने, ‘त्यसपछि असुरक्षित महसुस गरेर भाइलाई जेल स्थानान्तरण गर्न खोजेका हौँ।’

कारागारबाट फोनमा सुवासको यो कुरा सुनेपछि चिन्तित उनको परिवारका सदस्य सोमबार धनगढीबाट कारागार पुगेका थिए।

कैदी सुवासलाई भेट्न नदिएको भन्दै उनका आफन्त कारागार परिसरमा आक्रोशित थिए। 

आक्रोशित उनीहरुसँगै अन्यको भीड बढ्न थालेपछि प्रहरीले बल प्रयोग गरेर भीड तितर बितर पारेको छ। 

कैद भुक्तान गरिरहेका गेटाका सुवास ७ महिनादेखि लागुऔषध मुद्दामा कारागारमा छन्। उनी यसअघि पनि लागुऔषध मुद्दामै पटक पटक कारागार परिसकेका छन्।

यसपटक उनलाई डेढ वर्ष कैद सजाय सुनाइएको छ। कैदी भट्टका आफन्तले कारागार कार्यालय कञ्चनपुरमा सुरक्षित महसुस नगरेकाले कारागार स्थानान्तरण गरिदिनु पर्ने माग गरेका छन्।

यस्तै, रकम असुल्ने कारागारका चौकीदार र नाइकेलाई पनि कारागार सरुवा गर्नुपर्ने माग गरेका छन्।

सात महिनामा अहिलेसम्म ५५ हजार रुपैयाँ कारागारमा पठाएको किरणको भनाइ छ। कैदी भाइका लागि पठाएको रकम चौकीदार र नाइकेले प्रयोग गर्ने गरेको उनको आरोप छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ बडैपुरकी कमला धामीले कारागारभित्र रहेका छोराले पैसा माग्ने गरेको गुनासो गरिन्। 

उनका छोरा असोक धामी जबरजस्ती करणी मुद्दामा जेल सजाय भुक्तान गरिरहेका छन्। ‘महिना महिनामा पैसा चाहियो भनेर २÷३ हजार रुपैयाँ माग्छ,’ उनले भनिन्, ‘भेट्न आउँदा पनि राम्रोसँग बोल्न दिदैनन्।’

कारागार कार्यालय कञ्चनपुरका चौकीदार टेकराज जोशीले अहिलेसम्म कुनै पनि कैदीबाट रकम नअसुलेको दाबी गरे।

कारागार कार्यालय कञ्चनपुरका जेलर माया बस्नेत थापाले कैदी सुवासलाई कुटपिट नभएको दाबी गरिन्। आइतरबार कैदीलाई उनको आफन्तसंग समेत भेटाइएको बताइन्। 

‘यसअघि कारागारमा रहँदा उनी अनुशासित थिए, त्यसैले यसपटक उनलाई अशक्त÷बिरामी राख्ने ब्लकमा राखिएको थियो,’ उनले भनिन्, ‘तर यसपटक उनको व्यवहार ठिक नभएको ब्लकबाट गुनासो आएपछि ब्लक परिवर्तन गरिएको थियो।’

ब्लक परिवर्तन गरेको झोकमा सुवासले आफन्त बोलाएर लफडा गराएको दाबी छ। परिवारको माग अनुसार कैदी सुवासलाई अर्को जेलमा सार्ने प्रक्रिया अघि बढाइएको जेलर थापाले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .