ad ad

सुदूरपश्चिम


युवा संघ कञ्चनपुरमा भाँडभैलो : बस्नेतले शपथ खुवाएको कमिटीको काउन्टरमा अर्को कमिटी

वडाध्यक्ष रविन्द्र देवकोटामाथि कुटपिट
युवा संघ कञ्चनपुरमा भाँडभैलो : बस्नेतले शपथ खुवाएको कमिटीको काउन्टरमा अर्को कमिटी

गोकुल जोशी
साउन २७, २०८० शनिबार १९:५८, कञ्चनपुर

नेकपा एमाले निकट युवा संघ कञ्चनपुरमा भाँडभैलो मच्चिएको छ। युवा संघको १०औँ जिल्ला अधिवेशनमा नयाँ कमिटी गठनलाई लिएर भाँडभैलो मच्चिएको हो।

नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा युवा फाँट इन्चार्ज महेश बस्नेतले घोषणा गरेको युवा संघको नयाँ कमिटीको काउन्टरमा समानान्तर कमिटी गठन गरिएको छ।

युवा संघका नेता नवीन चन्दको नेतृत्वमा ५१ सदस्यीय समानान्तर कमिटी गठन गरिएको छ। सो कमिटीको उपाध्यक्षमा लेखान्त बुढा, सचिवमा यज्ञराज नाथ, सहसचिवमा गंगा राना, सरोज बैज र कोषाध्यक्ष वसन्त बुढा छन्। 

यस्तै, युथ फोर्स तर्फ प्रमुखमा लेखान्त बुढा, उपप्रमुखमा सुवास कुँवर, सचिवमा नरेश चन्द र सहसचिवमा सुजल खड्का चयन भएका छन्।

१०औँ जिल्ला अधिवेशनमा युवा संघको नयाँ कमिटी चयन गर्दा पार्टीले एकलौटी गरेकोले बहुमत सदस्यको भेलाबाट कमिटी बनाइएको युवा संघका केन्द्रीय सदस्य रोहितजंग कुँवरले बताए।

‘प्रतिनिधि छनोटमा पार्टीले हस्तक्षेप गर्‍यो, आफ्नै लेटर प्याडमा प्रतिनिधि नामावली पठाइयो, अध्यक्ष र निर्वाचन मण्डल गठनमा हाम्रो आग्रह सुनुवाइ भएन,’ उनले भने, ‘त्यसैले बहुमत प्रतिनिधिको छुट्टै भेला राखेर कमिटी बनाएका छौँ।’

यसअघि बस्नेत सहभागी अधिवेशनको बन्दसत्रले दिनेश बिष्टको अध्यक्षतामा ४५ सदस्यीय कमिटी घोषणा गरेको थियो। 

कमिटीको उपाध्यक्षमा अशोक सार्की, सचिव बिरेन्द्र बहादुर महरा, सहसचिव नरेन्द्र विष्ट, शिवा बस्नेत र कोषाध्यक्षमा मुकेश सिंह चयन भएका छन्। उनीहरुलाई बस्नेतले शनिबारै शपथ खुवाएका थिए। 

विष्ट नेतृत्वको कमिटी घोषणापछि त्यसको काउण्टरमा चन्दको नेतृत्व युवा संघको अर्को कमिटी गठन गरिएको हो। चन्द नेतृत्वको जिल्ला कमिटीलाई युवा संघ केन्द्रीय लेखा आयोगका सचिव प्रविण बोगटीले शपथ खुवाएका छन्।

शनिबार अधिवेशन मण्डलका सदस्य रविन्द्र देवकोटाले एमाले जिल्ला पार्टी कार्यालयमा सूचना टाँस गर्दा आक्रोशित युवाहरुले उनीमाथि हातपात गरेका थिए। उनको टाउकोमा चोट लागेको छ। 

धनगढीस्थित माया मेट्रो अस्पतालमा देवकोटाको उपचार भइरहेको छ। उनी भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष पनि हुन।

युवा संघका ईन्चार्ज महेश बस्नेतले अधिवेशनमार्फत विधिवत् रुपमा कमिटी घोषणा गरेको नेकपा एमाले कञ्चनपुरका उपसचिव कर्णबहादुर चन्दले बताए।

‘युवा संघका ईन्चार्ज बस्नेत सहभागी भएर घोषणा गरिएको कमिटी आधिकारिक हो,’ उनले भने, ‘यो कमिटी विधिवत् रुपमा गठन भएको छ, अन्यत्र गएर बनाइएको कमिटी मान्य हुदैन।’

शुक्रबार युवा संघका ईन्चार्ज बस्नेतले अधिवेशन उद्घाटन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .