ad ad

सुदूरपश्चिम


एउटा अस्पतालको कुरुप दृश्य : गर्भवती छटपटाइरहिन्, कर्मचारीले झुलाइरहे, बच्चा खेर गयो

हारगुहार गर्दा पनि स्वास्थ्यकर्मीले समयमै उपचार गरिदिएनन्
एउटा अस्पतालको कुरुप दृश्य : गर्भवती छटपटाइरहिन्, कर्मचारीले झुलाइरहे, बच्चा खेर गयो

अस्पतालले बत्ती नभएर बिल नकाट्दा अस्पताल परिसरमै छटपटाइरहेकी गर्भवती महिला


गोकुल जोशी
साउन १४, २०८० आइतबार १६:५९, कञ्चनपुर

बझाङमा उपचारका लागि जिल्ला अस्पताल पुगेकी एक गर्भवती महिलाको तीन महिने भ्रूणको मृत्यु भएको छ। 

पेट दुख्ने र रक्तस्राव भएपछि शनिबार उपचारका लागि जिल्ला अस्पताल पुगेकी उनको गर्भमा रहेको तीन महिनाको भ्रूण खेर गएको पति हरिचन्द्र बहादुर बोहराले बताए।

जिल्ला अस्पतालको लापरबाहीले श्रीमतीको गर्भमा रहेको भ्रूणलाई जोगाउन नसकिएको उनले  बताए।

‘अस्पतालको इमर्जेन्सीमा भर्नाका लागि पुर्जी काट्न जाँदा बिजुली थिएन, दुई घण्टापछि बत्ती आउँछ भन्दै रोकिन भनियो,’ बोहराले सामाजिक सञ्जालमा लेखेका छन्, ‘श्रीमतीलाई रक्तश्राव र पेट दुखिरहेको थियो, जेनेरेटर चलाउन भनेपछि कर्मचारीले बिग्रेको बताए।’

अस्पतालमै अर्कालाई सोध्दा जेनेरेटर राम्रै हुँदा पनि चलाउन नखोजेको बताएको बोहराले उल्लेख गरेका छन्। केही समयपछि हातले नै लेखेर पुर्जी काटिएको उनको भनाइ छ।

बोहराका अनुसार पुर्जी लिएर त्यसपछि आफूहरू इमरजेन्सी वार्डमा गएको र त्यहाँबाट फेरि पुर्जी काट्ने ठाउँमा नै फिर्ता पठाइएको थियो।

‘बत्ती छैन, ओपिडीमा बत्ती नहुँदासम्म केही हुँदैन भनेको होइन, २ घण्टापछि आउँछ रोकिनु भनियो, त्यसपछि त्यो मान्छे बाहिर गयो,’ बोहराले भने, ‘फेरि मैले अर्कोलाई बिरामीको पेट सहन नसकिने गरी दुखेको छ, केही औषधि त दिनु भनेँ, उसले औषधि लेखेर दियो, मैले औषधी लिएर आइसकेपछि बल्ल इन्जेक्सन लगाइयो।’

औषधि चलाएपछि स्वास्थ्यमा सुधार हुनुको सट्टा श्रीमतीको पेट पहिलेभन्दा बढी सहनै नसकिने गरी दुःखेको उनले बताए। 

त्यसपछि अस्पतालको बेडबाट उठेर श्रीमतीले चैनपुरस्थित जयपृथ्वी अस्पताल जाने भनेपछि उनीहरू त्यसतर्फ गएका थिए। 

‘हामी चैनपुर जान्छौँ भने उसले रिसाउँदै भन्यो, यता किन आएको त? उतै जानुपर्ने थियो,’ बोहराले भने, उनले अगाडि भने, ‘जयपृथ्वी अस्पताल पुग्दासम्म श्रीमतीको रक्तश्राव भएर पेटको बच्चा खेर गइसकेको रहेछ, भिडिओ एक्सरे गर्दा डाक्टरले बच्चाको मृत्यु भइसक्यो भनेपछि निराश भएँ।’

यस विषयमा जिल्ला अस्पताल बझाङले अहिले तीनै बोहरासँग छलफल गरिरहेको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नवराज जोशीले शनिबार भएको घटनाबारे बोहरासँग छलफल गरिरहेकोले यसबारे पछि मात्रै बोल्ने जवाफ दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .