ad ad

सुदूरपश्चिम


भारतसँग जोडिएका सुदूरपश्चिमका नाकामा कडाइ, कोरोना परीक्षणबिना प्रवेशमा रोक

भारतसँग जोडिएका सुदूरपश्चिमका नाकामा कडाइ, कोरोना परीक्षणबिना प्रवेशमा रोक

फाइल तस्वीर


रासस
चैत १८, २०७९ शनिबार १३:२७, काठमाडौँ

कोरोना सङ्क्रमणको जोखिम बढेसँगै सुदूरपश्चिम प्रदेशका भारतसँग सीमा जोडिएका नाकामा मास्क र कोरोना परीक्षणबिना नेपाल भित्रिन रोक लगाइएको छ।

भारतबाट नेपाल भित्रिरहेकाहरूमा दैनिक रुपमा सङ्क्रमण देखिरहेकाले मास्क र कोरोना परीक्षण अनिवार्य गरिएको हो।

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सीमा नाकामा कडाइ गरेर मास्क र कोरोना परीक्षण अनिवार्य गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले जानकारी दिए।

भारतबाट स्वदेश फर्किने नेपाली नागरिकमा कोरोना सङ्क्रमण देखा पर्न थालेको छ। उनले भने, 'सङ्क्रमित दैनिक रुपमा देखा पर्न थालेपछि सीमाबाट भित्रिनेलाई अनिवार्य मास्क र कोरोना परीक्षण कार्य जारी राखेका छौँ।'

भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका झुलाघाट, पुलघाट, जौलजीवी, गड्डाचौकी र त्रिनगर नाकामा हेल्थ डेस्क स्थापना गरेर स्वास्थ्य परीक्षण जारी रहेको निर्देशनालयले जनाएको छ। सङ्क्रमण समुदायस्तरसम्म नपुगोस् भन्ने उद्देश्यले सीमा नाकामा स्वदेश फर्किएकाको स्वास्थ्य परीक्षणमा कडाइ गरिएको हो।

भारतमा सङ्क्रमण तीव्र रुपमा फैलिरहेकाले त्यसको प्रभाव यहाँ पनि पर्न थालेकाले यहाँका सबै नाकामा कडाइ गरिएको जोशीको भनाइ छ। उनले भने, 'भारतबाट फर्किने अधिकांशमा सङ्क्रमण देखिन थालेपछि त्यसको रोकथाम र नियन्त्रणका नाकामा थप कडाइ गरेका हौँ।'

चैत सुरु भएयता मात्रै यस प्रदेशमा भारतबाट फर्किएका ६२ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ।

सीमानाकामा परीक्षण गर्दा दैनिक रुपमा कोरोना सङ्क्रमण देखिरहेको समुदायस्तरमा पनि यसको जोखिम बढेको छ। भारतमा सङ्क्रमण देखिएका सहरसित दूरीका हिसाबले यो प्रदेश नजिक भएकाले उच्च जोखिम रहेको र सतर्कता अपनाउन आवश्यक रहेको छ।

नयाँ वर्ष नजिक आइरहेका बेला यहाँका सबै नाकामा स्वदेश फर्किनेको क्रम पनि बढेको छ। स्वदेश फर्किनेको सङ्ख्या बढिरहेकाले जोखिम बढेकाले सीमामै परीक्षणपछि मात्रै आउन दिइएको र सङ्क्रमितलाई सम्बन्धित पालिकाको समन्वयमा होम आइसोलेसनमा बस्न भन्ने गरिएको जोशीले बताए।

जोखिम बढेसँगै सीमा नाकामा स्वास्थ्य जाँचमा कडाइ गर्नाका साथै खोप अभियानलाई पनि निरन्तरता दिइएको जोशीको भनाइ छ। प्रदेशभरि नै हाल ५५ वर्षमाथिका सबैलाई बुस्टर डोज लगाउने क्रम जारी रहेको निर्देशनालयले जनाएको छ। पछिल्लो समय कोरोना सङ्क्रमणदर बढ्दै गएपछि स्वास्थ्यका मापदण्ड अपनाउनसमेत आग्रह गरिएको छ। कोरोनाबाट बच्न जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरिएको निर्देशनालयले जनाएको छ।

सङ्क्रमित भेटिएका भारतीय नागरिकलाई फिर्ता पठाइयो

सीमानाका झुलाघाटबाट नेपाल प्रवेश गर्न लागेका एक भारतीय नागरिकमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि उनलाई भारत फिर्ता पठाएको छ। नेपाल आउन लागेका भारतको पिथौरागढका ५८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएपछि उनलाई नाकाबाटै भारत फिर्ता पठाइएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए।

दशरथचन्द नगरपालिका–८ मा रहेको त्रिपुरासुन्दरी जात्रामा सहभागी हुन आइरहेका ती पुरुषमा कोरोना देखिएपछि उनलाई नेपाल आउन नदिइएको प्रमुख भट्टको भनाइ छ। उनले भने, 'सङ्क्रमित मान्छे जात्रा सहभागी भएपछि त्यसले अन्य मानिसलाई पनि सङ्क्रमण सार्न सक्ने भएकाले नेपाल आउन नदिइएको हो।'

भारतीय नागरिकमा कोरोना सङ्क्रमण देखिएपछि झुलाघाट नाकामा पनि थप कडाइ गरिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। कोरोना सङ्क्रमण देखिन थालेपछि झुलाघाट नाकाबाट स्वदेश फर्कनेको कोरोना परीक्षण र अनिवार्य मास्क लगाएर मात्रै फर्कने नियम बनाइएको छ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म छ लाख ४५ हजार छ सय ३४ जनाको कोरोना परीक्षण गरिएकामा ६१ हजार नौ सय ४६ जनामा सङ्क्रमण भइसकेको छ। सङ्क्रमणकै कारण यस प्रदेशमा छ सय ३५ जनाको ज्यान गइसकेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .