चितवन–२ को उपनिर्वाचनमा उम्मेदवारका लागि नेकपा एमालेबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने सिफारिस भएका छन्।
चितवन क्षेत्र नं–२ को कमिटीले अध्यक्ष न्यौपानेलाई जिल्ला कमिटीमा सिफारिस गरेको हो। जिल्ला कमिटीले बागमती प्रदेशमा सर्वसम्मतरूपमा न्यौपानेको नाम नै सिफारिस गरेको थियो ।
एमाले केन्द्रीय कमिटीले अचानक अर्को निर्णय नगरे न्यौपाने नै चितवन–२ मा एमालेबाट उमेदवार बन्ने एमाले पक्का रहेको जिल्लाका एमाले नेताहरू बताउँछन्।
मंसिर ४ गते भएको निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट न्यौपानेले उम्मेदवारको टिकट पाएका थिए।
उमेदवारी दर्ता पनि भएर उनी प्रचारमा खटिएका थिए। अचानक एमाले केन्द्रबाट उनको टिकट खोसिएको थियो। त्यतिबेला चितवन–३ मा नेपाली कांग्रेसबाट विद्रोह गरेका दिनेश कोइरालालाई समर्थन गरेपछि न्यौपानेको उमेदवारी पार्टी केन्द्रले खोसिदिएको थियो।
एमाले विद्यार्थी संगठन अनेरास्ववियुबाट पार्टी राजनीतिमा लागेका न्यौपाने युवानेताका रूपमा परिचित छन्। दुईपटक अनेरास्ववियुको जिल्ला अध्यक्ष बनेका न्यौपाने २०७८ मा एमालेको चितवन जिल्ला अध्यक्ष भएका थिए।
एमालेबाट चितवन–२ मा उमेदवारका लागि न्यौपानेसहित डा। तिलचन्द्र भट्टराई र कालिका नगरपालिकाका पूर्वमेयर खुमनारायण श्रेष्ठ ‘गोपी’को चर्चा थियो, अन्ततः न्यौपाने एकलरुपमा सिफारिस भएका हुन्।
Shares
प्रतिक्रिया