सुदूरपश्चिम


सुदूरपश्चिम : नागरिक उन्मुक्तिले लिएन उपसभामुख, एमालेले उम्मेदवार उठाउने

सुदूरपश्चिम : नागरिक उन्मुक्तिले लिएन उपसभामुख, एमालेले उम्मेदवार उठाउने

नेपालखबर
माघ ३, २०७९ मंगलबार १६:१७, काठमाडौँ

सत्तारुढ गठबन्धनमा रहेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सभाको उपसभामुख पद लिन अस्वीकार गरेको छ।

प्रदेश सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति आफूहरुका माग सम्बोधन नभएको भन्दै उपसभामुख नलिने ‘मूड’मा पुगेको छ।

सत्ता साझेदार दलहरुले सुदूरपश्चिमको मुख्यमन्त्री एमाले, सभामुख माओवादी र उपसभामुख नागरिक उन्मुक्तिको भागमा पारेका थिए।

सत्तारुढ गठबन्धनको भागबण्डामा उपसभामुख पाएको नागरिक उन्मुक्ति त्यसमा आफ्नो उम्मेदवार नउठाउने भएको हो।

आफूहरुको माग सम्बोधनका लागि कुनै पहल नभएकाले तत्काल आफूहरु सरकारमा नजाने र उपसभामुख पनि नलिने अवस्थामा रहेको नागरिक उन्मुक्तिका सुदूरपश्चिम प्रदेश सभा प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले बताए।

‘हामीले सत्तारुढ गठबन्धनलाई समर्थन गरेका छौं, गठबन्धनको भागबण्डामा उपसभामुख हाम्रो भागमा परेको छ, तर अहिले हामी उपसभामुख लिँदैनौं, उम्मेदवार उठाउँदैनौं,’ उनले भने, ‘माग सम्बोधनका लागि एक्टिभ भए सरकारमा जान सक्छौं, तर अहिले त्यस्तो कुनै सकरात्मक कदम चालिएको छैन, आश्वासन मात्रै पाएका छौं।’

उनका अनुसार माग सम्बोधन नभएकाले तत्काल सरकारमा जान असम्भव छ। 

विसं २०७२ को टीकापुर घटनामा दोषी ठहर भएर नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका रेशम चौधरी हाल डिल्लीबजार कारागारमा आजीवन कैदी जीवन बिताइरहेका छन्। 

नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरी लगायत टीकापुर घटनाका कैदीबन्दीलाई रिहाइ गर्नु पर्ने माग गर्दै आएको छ।

सुदूरपश्चिम प्रदेश सभाले मंगलबार सभामुख पाएको छ। नागरिक उन्मुक्तिको समर्थनले तेस्रो प्रयासमा माओवादी केन्द्रका भीमबहादुर भण्डारी सभामुख बनेका छन्।

यसअघि २८ गतेको मतविभाजनमा एमालेका चक्र मल्ल र नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरी अनुपस्थित रहेका थिए भने त्यस दिन सत्तारुढ गठबन्धनको एक मत बदर हुँदा माओवादीका भण्डारीले बहुमत प्राप्त गर्न सकेका थिएनन्।

यस्तै, ३० पुसको दोस्रो पटकको मतविभाजनमा आफूहरुको माग सम्बोधन नभएको भन्दै सत्ता साझेदार नागरिक उन्मुक्ति तटस्थ बसेको थियो। 

तेस्रो प्रयासमा सभामुख चयन भएपछि भण्डारीले मंगलबारै प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।

आजै बेलुका ६ बजे उपसभामुखको निर्वाचनको कार्यतालिका छ। 

नागरिक उन्मुक्तिले उपसभामुख नलिएपछि सत्ता पक्षले एमालेबाट उपभामुखका लागि उम्मेदवार बनाउने तयारी छ।

उपसभामुखको उम्मेदवार सभामुख भन्दा भिन्न पार्टी र लिंगको हुनु पर्ने व्यवस्था छ। त्यसैले सत्तारुढ गठबन्धनबाट नागरिक उन्मुक्तिले छोडेको उपसभामुखमा एमालेले कैलालीकी सांसद कोइलीदेवी चौधरीलाई उम्मेदवार खडा गर्ने तयारी गरेको छ। 

५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा बहुमतका लागि २७ सांसद आवश्यक पर्छ। प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस १९, नेकपा एकीकृत समाजवादी ४ र एक स्वतन्त्र सांसद प्रतिपक्षमा छन्। 

नेकपा माओवादी केन्द्र ११, एमाले १०, नागरिक उन्मुक्ति ७ र राप्रपा १ गरेर सत्तारुढ गठबन्धनका पक्षमा २९ सांसद छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad