पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिकाको सिसैयामा ट्याक्टरको ठक्करबाट किशोरीको मृत्यु भएको छ।
बेदकोट नगरपालिका–१० सिसैयास्थित कोल्डस्टोर नजिक शनिबार बेलुका से १ त १०३५ नम्बरको ट्याक्टरको ठक्करबाट साइकल यात्री १८ वर्षीय तारा मल्लको मृत्यु भएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक उमेश चन्दका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको ट्याक्टरले साइकलमा सोही दिशातर्फ गइरहेकी किशोरीलाई ठक्कर दिएको थियो।
ट्याक्टरको ठक्करले गम्भिर घाइते किशोरी मल्लको घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए। ‘दुवै एउटै दिशातर्फ गइरहेको थिए, मृतकको साइकल केही क्षति भएको छैन, ट्याक्टरको ट्रलीले लागेको जस्तो देखिन्छ,’ उनले भने।
ट्याक्टरको ठक्करबाट ज्यान गुमाउने किशोरी मल्ल बेदकोट नगरपालिका–१ की हुन। उनी महेन्द्रनगरको एक सहकारीमा काम गर्ने गरेको खुलेको छ।
सहकारीका लागि बजारबाट पैसा संकलन गर्ने काम गर्ने उनी काम सकेर घरतिर गइरहेकी थिइन। ट्याक्टरको ठक्करबाट किशोरीको मृत्यु भएपछि सिसैया क्षेत्र तनावग्रस्त बनेको छ।
स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। प्रहरीले आवागमन सहज बनाउने प्रयास गरिरहेको छ।
प्रतिक्रिया