सत्तारुढ गठबन्धनको समर्थन रहेका माओवादी केन्द्रका भीमबहादुर भण्डारीले सभामुख पदको लागि प्रदेश सभामा बहुमत पाएनन्।
उनलाई सभामुख चयनका लागि जानकी बम ऐरले प्रदेश सभामा राखेको प्रस्तावको पक्ष/विपक्षमा मत विभाजनका क्रममा एक मत बदर परेको छ।
सत्तारुढ गठबन्धनको एक मत ‘क्रस’ भएको हो। मतविभाजनका क्रममा अर्को मतदाताको नामावलीमा दस्तखत गरेको भेटिएको छ। जसले गर्दा भण्डारीले सभामुख चयनका लागि बहुमत पाएनन्।
प्रदेश सभा बैठकको अध्यक्षता गरेका शिवराज भट्टले भण्डारीको पक्षमा २६ र विपक्षमा २३ मत आएको घोषणा गरे।
‘भीमबहादुर भण्डारीलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी माननीय जानकी बम ऐरले राखेको तत्काल कायम रहेको सम्पूर्ण प्रदेश सभा सदस्यको बहुमत नभएकाले अस्वीकृत भएको घोषणा गर्दछु,’ उनले भने।
सत्तारुढ गठबन्धनको पक्षमा माओवादी ११, एमाले १०, नागरिक उन्मुक्ति ७ र राप्रपा १ गरेर कूल २९ सांसद छन्। तर, सभामुखका प्रत्याशी माओवादीका भण्डारीले त्यो मत पाउन सकेनन्।
५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिमको सभामुखको मतविभाजनमा ५० जना मात्रै उपस्थित थिए।
नेकपा एमाले चक्र मल्ल, नागरिक उन्मुक्तिका राजकिशोर चौधरी बैठकमा अनुपस्थित थिए। कांग्रेसका शिवराज भट्टले सभाको अध्यक्षता गरेकाले मत विभाजनमा भाग लिन पाएनन्।
प्रदेश सभाले सभामुख चयन गर्न अर्को बैठक भोलि बिहान ११ बजे बोलाइएको छ। यसअघि कांग्रेसले राखेको प्रस्ताव पनि अस्वीकृत भएको थियो।
कांग्रेसका सांसद मेघराज खड्काले राखेको ‘मानबहादुर रावललाई सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव प्रदेश सभाबाट अस्वीकृत भएको हो।
सो प्रस्तावको पक्षमा २३ सांसद र विपक्षमा २७ मत आएको थियो।
प्रतिक्रिया