सुदूरपश्चिम


सुदूरपश्चिममा ठाउँ ठाउँमा तनाव : कतै मतपत्र जलाइयो, कतै दोहोरो झडप

बाजुराका ६ ठाउँमा मतदान रोकियो
सुदूरपश्चिममा ठाउँ ठाउँमा तनाव : कतै मतपत्र जलाइयो, कतै दोहोरो झडप

गोकुल जोशी
मंसिर ४, २०७९ आइतबार १५:३९, कञ्चनपुर

 

जारी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतदान भइरहँदा सुदूरपश्चिमका विभिन्न ठाउँमा झडपको स्थिति सिर्जना भएको छ। प्रदेशका विभिन्न ठाउँमा शंकास्पद वस्तु फेला परेका छन्। नेपाली सेनाले ती शंकास्पद वस्तु डिस्पोज गरिसकेको छ। 

मतदानको क्रममा विवाद हुँदा सुदूरपश्चिमका विभिन्न ठाउँमा झडपको स्थिती सिर्जना भएर केहीबेर मतदान स्थगित गर्नु परेको हाे।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी भोलाबहादुर रावलका अनुसार सबैभन्दा बढी विवाद बाजुरामा आएको छ। 

‘बाजुरामा विवादले घरिघरि मतदान रोकिने र चल्ने भइरहेको छ, त्यहाँ केही ठाउँमा विवाद भएको छ,’ उनले भने, ‘अन्य ठाउँमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ।’

बुढीनन्दा नगरपालिका–७ मा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको छ। झडपमा परेर ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। नेपाली कांग्रेसका कार्यकर्ताले मतदान केन्द्रमा दुई पटक मतदान गरेपछि उनीहरुबीच झडपको स्थिती सिर्जना भएको हो। 

बाजुराको खप्तड छेडेदह गाउँपालिका–१, स्वामिकार्तिक खापर गाउँपालिका–४, त्रिवेणी नगरपालिका–७, बुढिगंगा नगरपालिका–८, बुढीनन्दा–५ लगायका मतदान केन्द्रमा विवाद भएको छ। 

बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीका अनुसार ६ ठाउँमा अझै विवादका कारण मतदान सुरु हुन सकेको छैन। ‘मतदान सुचारु गर्ने प्रयास भइरहेको छ,’ उनले भने। 

स्वामी कार्तिक खापर गाउँपालिका–१ रुडीस्थित भगवती आधारभूत विद्यालय मतदानस्थलको मतपत्र जलाइएको छ। 

प्रदेश समानुपातिकतर्फको मतपेटिकामा एक्कासी आगो लागेको वडा सदस्य नन्दलाल धामीले जानकारी दिए।

‘कसरी आगो लाग्यो थाहा हुनसकेन, बिहानदेखि कुनै विवाद पनि थिएन,’ उनले भने, ‘आगो लागेको देखेपछि निभाइएको थियो।’ 
उनका अनुसार मत भने जलेका छैनन्।

करिब एक सय मत मात्रै खस्न बाँकी रहेको बेला मतपेटिकामा आलो लागेको हो। मतपेटिकामा आगो लागेपछि अहिले मतदान प्रक्रिया रोकिएको छ। 

सुदूरपश्चिमको पहाडी क्षेत्रका दार्चुला, बाजुरा, बझाङ र डोटीमा विवाद उत्पन्न भएको छ।

डोटीको शिखर नगरपालिका– ८ स्थित राधाकृष्ण माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गर्ने क्रममा मतदानस्थल भित्र विवाद भएपछि स्थिति सामान्य गर्न प्रहरीले ४ राउण्ड हवाइ फायर गरेको छ। 

विवादपछि झडपको स्थिति सिर्जना भएपछि भीड तितरबितर पार्न ४ राउण्ड हवाइ फायर गरिएको मतदानको सुरक्षाका लागि खटिएका प्रहरी नायव निरीक्षक भीम बोहराले जानकारी दिए। 

केही समयका लागि मतदान प्रक्रिया रोकिए पनि स्थिति सामान्य भएपछि मतदान पुनः सुरु भएको जनाइएको छ। 

दार्चुलाको शैल्यशिखर नगरपालिका ५ मालिकार्जुन मावि ग्वानी बगौरा मतदान केन्द्रमा हवाइ फायर भएको छ। मतदानको विषयमा विवाद हुँदा दुई पक्षीय झडपको स्थिती सिर्जना भएपछि प्रहरी हवाइ फायर गरेको हो।

हवाइ फायर पछि केही समय मतदान स्थगित भएको थियो। अहिले भने मतदान पुनः सुचारु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए। 

मतहाल्न पुगेका एक जना मतदाताको मत पहिल्यै अरुले हालेको पाएपछि भएको सामान्य विवादका क्रममा प्रहरीले सम्झाउने क्रममा एक जना महिलाको टाउकोमा लठ्ठीले लागेको थियो।

त्यसपछि स्थानीयबासिन्दाले आक्रोशित हुँदै ढुंगामुठा गर्न थालेपछि ३ राउण्ड हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ।

बझाङको केदास्युँ गाउँपालिका–१ बेताल माध्यमिक विद्यालय, रातापानीमा मतपेटिका फुटाइएको छ। स्वतन्त्र उम्मेदवारका प्रतिनिधि र नेकपा माओवादी केन्द्रका उम्मेदवारका प्रतिनिधिबीचको विवादमा मतपेटिका फुटाइएको हो। 

फुटेको मतपेटिकाभित्रको मतपत्र अर्को मतपेटिकामा राखेर मुचुल्का तयार पारेपछि दुवै पक्षबीच सहमति जुटेको छ। अहिले मतदान जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .