सुदूरपश्चिम


पञ्चायतकालदेखि चुनाव भिडिरहेका धर्मराजको संसद् सपना

प्रधानपञ्च हुँदा गरेका काम स्मरण गराएर माग्दैछन् मत
पञ्चायतकालदेखि चुनाव भिडिरहेका धर्मराजको संसद् सपना

गोकुल जोशी
कात्तिक १८, २०७९ शुक्रबार ८:७, कञ्चनपुर

राजनीतिक परिवर्तनसँगै व्यवस्था फेरिए। देश पञ्चायत, लोकतन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रमा छ। व्यवस्था मात्रै होइन, यसक्रममा धेरै पात्र पनि फेरिएका छन्।

पञ्चायतकालदेखि अहिले संघीय गणतन्त्रमा पनि चुनावी मैदानमा देखिने थोरै व्यक्तिमा पर्छन्, कञ्चनपुरको महेन्द्रनगरका धर्मराज जोशी।

पञ्चायतकालदेखि चुनाव लड्दै आएका उनले प्रजातन्त्र हुँदै वा संघीय गणतन्त्रसम्म आउँदा पनि चुनावी मैदान छोडेका छैनन्।

पञ्चायत पृष्ठभूमिबाट आएका जोशी अहिले पनि युवा जोशका साथ खेत, खलियानहरुमा मतदाता भेट्नमा व्यस्त छन्।

घरदैलोमा पुगेर आफूले उहिल्यै पञ्चायतकालमा गरेका कामहरु स्मरण गराउँदै छन्। र, नयाँ योजनाको फेहरिस्त सुनाइरहेका भेटिन्छन्, उनी। 

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य समेत रहेका जोशी कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र न. ३ को प्रदेशसभा (१) का प्रत्याशी हुन्।

अधिकांसश प्रतिस्पर्धी उम्मेदवार भन्दा उनलाई एउटा कुरा सजिलो छ। उनलाई धेरै ठाउँमा परिचय दिइरहनु पर्दैन। देख्ने बित्तिक्कै मतदाता नै ‘ओहो प्रधानजी आउनु भो’ भन्दै अभिवादन गर्छन्। र, उनको स्वागत, सत्कारमा कुनै कमि गर्दैनन्। 

‘मैले कहिले पनि चुनावी मोर्चा छाडिन, चाहे त्यो पञ्चायत होस्, प्रजातन्त्र होस् अथवा अहिलेको संघीय गणतन्त्र,’ उनी भन्छन्। 
उनले अहिलेका तीनवटै पुस्तासँग मत मागिसकेका छन्। 

‘यसअघिका धेरै चुनाव लड्दा पार्टीको पोजिसन त्यति राम्रो थिएन,’ उनी भन्छन्, ‘तर, पनि राप्रपाका भोट बाहिर जान नदिन र सम्बन्ध नवीकरणका लागि म चुनाव लडिरहेँ।’

उनले अगाडि थपे, ‘पार्टीमा अहिले धेरै साथीहरु तयार हुनुहुन्छ, त्यो बेला सबैले चुनाव आउँदा ल प्रधानजी तपाइँ नै लड्नुस भन्नुहुन्थ्यो।’
सम्बन्ध नवीकरणले मतदाताका माझमा जान जोशीलाई सजिलो छ। ‘धर्मराज को हो? भन्ने प्रश्नै छैन, थाहा नपाउनेलाई पनि त्यही घरको अघिल्लो पुस्ताले मजाले भनिदिन्छन्,’ उनी भन्छन्। 

भीमदत्त नगरपालिकाका १ देखि १०, १७, १९ र बेदकोट नगरपालिकाको ८ नम्बर वडा मिलाएर अहिले क्षेत्र ३ को प्रदेशसभा (१) बनाइएको छ। यो क्षेत्र जोशीको राजनीति गर्ने पुरानै थलो हो।

भीमदत्त नगरपालिका (तत्कालिन महेन्द्रनगर) मा अहिलेसम्म लगातार कसैले पनि दुई पटक जित दोहो्याउन सकेको छैन। तर, पञ्चायतकालीन समयमा जोशी दुई पटक प्रधानपञ्च भए।

आफ्नो पालामा महेन्द्रनगरमा पूर्वाधार निर्माणको जग बसेको उनी दाबी गर्छन्। 

बहुदल आएपछि पटक, पटक चुनाव लडेको अनुभव उनीसँग छ। अहिले एमालेसँगको तालमेलमा प्रदेशसभामा बाजी मार्ने दाउमा छन्, जोशी। 

‘पार्टीको आकार सानो छ, जनताले पनि तपाइँलाई त हामीले छोड्ने थिएनौँ, तर पार्टी सानो भयो भनेर गुनासो गर्थे,’ उनले भने, ‘अब जग नै सानो बनाएर ठूलो घर बनाउन कहाँ सकिन्छ र? त्यसैले यस पटक एमालेसित सहकार्य गरी चुनावी मैदानमा आएको छु।’

पञ्चायतकालमा पहिलो पटक प्रधान हुँदा उनी २६ वर्षका थिए। अहिले ६९ वर्ष टेकेका उनलाई चुनाव लडनुपर्ने अवस्था किन आयो त?

‘जनताले मलाई दुई पटक प्रधानपञ्च बनाए, जिल्ला पञ्चायत सदस्य बनेँ। प्रजातन्त्र आएपछि नतिजा निकाल्न सकिएन, पार्टी पनि टुटफुटबाट कमजोर भयो,’ जोशीले भने, ‘मलाई एक पटक फेरि जनतामा गएर मत मागौँ भन्ने इच्छा त थियो, राजेन्द्र लिङ्देन आएपछि त्यो इच्छा जाग्योे, एक पटक संसदमा पुगाैँ भनेर यस पटक चुनाव लडेको छु।’

२०५१ को मध्यावधि निर्वाचन र २०७० मा संविधानसभा सदस्यको निर्वाचन लडेका थिए, जोशी। त्यसअघि स्थानीय निकायको निर्वाचनमा भाग लिए।

उनका अनुसार ती सबै निर्वाचनमा उनीसँग जनताले पार्टी सानो भएकाले सहयोग गर्न नसकिएको दुखेसो पोखेका थिए। यसपटक एमालेसँग चुनावी तालमेल गरेपछि उनी प्रदेशसभा सदस्यमा निर्वाचित हुने दाबी गर्छन्।

‘म पदमा हुँदा थुप्रै काम गरेको छु, त्यस बेला मानवीय, समयावधि र पूर्वाधार गरी विकास निर्माण कार्यलाई तीन तहमा विभाजन गरी काम गरेँ’ उनले भने।

उत्तरी क्षेत्रमा खानेपानीको व्यवस्थापन, समयावधिमा शिक्षा, स्वास्थ्यको क्षेत्रमा र यातायात, खेलकूद, भौतिक संरचना निर्माणलाई पूर्वाधार अन्तर्गत काम गरेको अनुभव जोशीसँग छ।

आफ्नो कार्यकालमा ३४ वटा विद्यालय, स्थानीय पार्क, स्मारकहरु निर्माण गरेको उनको दाबी छ।

धार्मिक आस्थाका आधारमा सबै मन्दिरलाई पूजापाठका लागि ५० देखि १ सय रुपैँयासम्म दिने व्यवस्था गरेका जोशी सुनाउँछन्।

‘आस्थालाई कायम राख्दै धर्म, संस्कृति बचाउने उद्धेश्यले त्यसो गरिएको थियो,’ उनले भने, धर्मसंस्कृति जोगाउन सरकारले दायित्व लिनुपर्छ भनेर थोरै भएपनि रकम दिइएको हो। अहिले कम भएपनि त्यसबेला ५०/१०० रुपैयाँ बढि नै मानिन्थ्यो।

जोशी पञ्चायत सदस्य भएको बेलामा वि.सं. २०३६ मा जनमत संग्रह भएपछि प्रधानपञ्च भएका थिए। 

जनमत संग्रहमा सबै वासिन्दाका घरसम्म पुगेर उनले आफूलाई बलियो बनाएका थिए। त्यस बेला आफूले जग्गा नापीको काममा सहयोग गरेको उनी सम्झिन्छन्।

‘जनमत संग्रहमा काम गर्दा धेरै जनाको घरदैलोमा पुगेँ, त्यही बेला जग्गा नापी नक्साको काम सुरु भयो, मैले आफ्नो तर्फबाट सहयोग गरेँ,’ उनले भने, ‘मान्छे जग्गामा सहयोग गरेको कहिले नबिर्सने रहेछन्, त्यो काम अहिलेसम्म सम्झिन्छन्।’

बहुदलीय वा सुधारिएको पञ्चायती व्यवस्था सहितमा जनमत संग्रह भएको थियो, त्यो बेला। जोशीले बालिग मताधिकारसहितका सुधारका आधारमा सुधारिएको पञ्चायती व्यवस्थालाई समर्थन गरेका थिए। 

त्यसको तीन वर्षपछि भएको निर्वाचनमा उनी बालिग मताधिकारका आधारमा तत्कालिन महेन्द्रनगर नगर पञ्चायतको पहिलो प्रधानपञ्च निर्वाचित भएका थिए।

अहिले प्रदेश सभा सदस्यका उम्मेदवार भएर उनले आफूलाई पञ्चायत, बहुदल र गणतन्त्रात्मक शासन व्यवस्थामा चुनाव लड्ने नेताका रुपमा उभ्याएका छन्।

‘मैले पञ्चायतदेखि अहिलेसम्मको राजनीति देखेँ। एक समय थियो, राजाको गुणगान जसले गायो, त्यसले बढी फाइदा लियो,’ उनी भन्छन्, ‘अहिले राजालाई जसले बढी गाली गर्यो, त्यसले बढी फाइदा लिने दिन आए, समय–समयको कुरा हो।’

बहुदल स्थापनापछि राजनीतिमा सक्रिय भएर लागेका उनी वि.सं. २०४९ को पहिलो स्थानीय निकाय निर्वाचनमा चुनाव लडे। त्यस बेला कांग्रेस नेता यज्ञराज जोशीसित पराजित भए। जोशीलाई त्यसअघि उनले २०३९ र २०४३ मा प्रधानपञ्चमा चुनाव हराएका थिए।

पञ्चायतकालका प्रतिस्पर्धी दुवै जोशी ०५४ मा पनि फेरि नगर प्रमुखमा प्रतिस्पर्धी बनेका थिए। एमालेका दिवगंत नेता सूर्य बहादुर कुँवर निर्वाचित भएको चुनावमा उनी ४ सय ८० मतले मात्र पछि परेका थिए। वि.सं. २०४९ को निर्वाचनमा जोशी भने तेस्रो भएका थिए। 

‘एमालेका वामदेब गौतम गृहमन्त्री हुनुहुन्थ्यो, चुनावमा के भयो भयो, म ४ सय ८० मतले मात्रै हारेँ’ उनले भने, ‘त्यति बेला हाम्रो पार्टीबाट केन्द्रका कोही नेता यता आउँदैन्थे, धाँधली भएपछि मैले जित्न सकिन।’

स्थानीय निकाय निर्वाचन पछि उनी २०५१ का कञ्चनपुर क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार भएका थिए। २०५१ पछि उनी २०७० मा संविधानसभा सदस्य चुनाव लडेका थिए। एमालेलाई पछि पार्दै तेस्रो भएका थिए। त्यस अघिका निर्वाचनमा उनले कांग्रेसलाई साथ दिएका थिए।

२०६५ को संविधानसभाको उपनिर्वाचनमा पञ्चायतकालका प्रतिष्पर्धी यज्ञराज जोशीलाई साथ दिए। माओवादी केन्द्रले जितेको उपनिर्वाचनमा एमालेबाट निरुदेवी पाल चुनाव लडेकी थिइन्। पाल मतका आधारमा तेस्रो स्थानमा थिइन्।

संसदीय चुनाव लड्दै आए पनि जोशी सांसदमा निर्वाचित भने हुन सकेका छैनन्। यसपटक एमालेको समेत समर्थनमा प्रदेश सभामा चुनाव लडिरहेका जोशीको संसद यात्रा कस्तो होला त्यसका लागि मंसिर ४ कुर्नुपर्छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad