ad ad

सुदूरपश्चिम


पहिरोले ४ महिनादेखि सडक बन्द

पहिरोले ४ महिनादेखि सडक बन्द

तस्बिर : रासस


प्रेम रौले
असोज १३, २०७९ बिहिबार ११:०, बाजुरा

लगातार वर्षाका कारण जेठ पहिलो सातादेखि बन्द साँफे–मार्तडी राजमार्ग चार महिना बितिसक्दा पनि खुलेको छैन।

राजमार्गमा पर्ने बूढीगङ्गा नगरपालिकाको अम्कोटमा पहिरो नरोकिएपछि सडक खुलाउन समस्या भएको हो। अम्कोटमा दसैँअघि सडक नखुल्ने निश्चितजस्तै भएको छ। चार महिनासम्म पनि सडक नखुल्दा समस्या भएको छ। सडक डिभिजन कार्यालय साँफेबगर, अछामले गत साउन २३ गते वैकल्पिक सडक खोल्न काम सुरु गरे पनि त्यो बीचमै रोकिएको छ।

सडक भत्किएकै ठाउँबाट सडक खोल्न खोज्दा स्थानीयले काम गर्न रोकेका छन्। अम्कोटमा पहिरो हटाउन खोज्दा स्थानीयले अवरोध गरेका हुन्। सडक नखुल्दा सदरमुकाम मार्तडीलगायत पूर्वी उत्तरी क्षेत्र, हुम्ला र मुगुका बासिन्दा यातायात सेवाबाट वञ्चित छन्। दसैँ तिहारका लागि घर आवतजावत गर्नेलाई सकस भएको छ।

चाडपर्वमा स्थानीय महँगीको मारमा परेका छन्। स्थानीय अर्जुनप्रसाद जैशीका अनुसार वैकल्पिक सडक खुलाउन जग्गा उपलब्ध गराए पनि उक्त कार्य बीचमै रोकिएपछि सडक खुलाउन नसकिएको हो। उनले सडकमा आएको पहिरो हटाउन झनै जोखिम भएको बताए।

“वैकल्पिक सडक बनाउन जग्गा दियौँ, काम नगरेपछि हाम्रो के लाग्यो”, जैशीले गुनासो गरे। 

सडक डिभिजन कार्यालय साँफेबगरका प्रमुख विवश बस्नेतले वैकल्पिक मार्ग खोल्न आठ सय मिटर मात्र बाँकी रहेको बताए। वैकल्पिक सडक खुलाउने क्रममा डोजर बिग्रेका कारण काम नभएको उनको भनाइ छ। सडकमा गएको पहिरो हटाएर यातायात पुनःसञ्चालन गर्न खोज्दा स्थानीयले अवरोध गरेको बस्नेतको आरोप छ।

प्रमुख जिल्ला अधिकारी प्रकाशराज अधिकारीले तत्काल पहिरो गएको ठाउँमा सडक सञ्चालन गर्न पहल भइरहेको बताए। विसं २०७६ यता बर्सातका बेला चार महिना सडक बन्द हुने गरेको छ। विसं २०७७ र २०७८ मा पनि बर्सातमा त्यही ठाँउमा चार महिना सडक बन्द भएको थियो। हिउँदमा सडक विभागले सडक बनाए पनि बर्सातमा पहिराले सडक भासिने गरेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टले बताए। 

सडक बन्द भएपछि मार्तडीलगायत बजारमा दैनिक उपभोग्य सामानको मूल्य वृद्धि हुन थालेको छ। जिल्ला अस्पतालबाट रिफर गरिएका बिरामीलाई जिल्ला बाहिर लैजान समस्या भएको छ। बूढीगङ्गा नगरपालिकाको अम्कोटस्थित सडक पहिराको उच्च जोखिममा छ। अम्कोटमा २०७७ भदौमा  सडक भासिँदा एक जनाको मृत्यु भएको थियो।

चार वर्षदेखि साँफे–मार्तडी सडक बन्द भइरहेको छ। सडकबारे सम्बन्धित निकायलाई जानकारी गराए पनि वास्ता नगरेको नागरिक समाजका अगुवा सन्तोष विकले बताए। अम्कोटको पहिरोबारे भूगर्वविद् आएर माटोको अध्ययन गरिसकेको छ। बर्सातमा पूर्ण रुपमा बन्द हुने उक्त ठाउँमा  वैकल्पिक मार्गका लागि पहल गरिनुपर्ने स्थानीयको माग छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .