सुदूरपश्चिम


डडेलधुरामा देउवाविरुद्ध चुनाव लड्ने कर्ण मल्लको घोषणा

डडेलधुरामा देउवाविरुद्ध चुनाव लड्ने कर्ण मल्लको घोषणा

गोकुल जोशी
भदौ २४, २०७९ शुक्रबार १८:१७, कञ्चनपुर

नेपाली कांग्रेस बिपीका वरिष्ठ उपसभापति कर्ण बहादुर मल्लले डडेलधुराबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ उम्मेदवारी घोषणा गरेका छन्।

शुक्रबार बिपी कोइरालाको १०९औं जन्मजयन्तीको अवसरमा डडेल्धुरामा आयोजित कार्यकर्ता भेलामा उनले डडेलधुराबाट चुनाव लड्ने घोषणा गरेका हुन्।

‘कांग्रेस बिपीले मलाई टिकट दिने निर्णय गर्यो भने म डडेलधुराबाट देउवा विरुद्ध चुनाव लड्छु,’ मल्लले नेपालखबरसँग भने।

नेपाली कांग्रेस बिपीको कार्यालय डडेल्धुरामा आयोजित भेलाको प्रमुख अतिथि केन्द्रीय सभापति शुशिलमान शेरचन थिए। सोही कार्यक्रममा मल्लले प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा विरुद्ध प्रतिनिधि सभामा प्रत्यक्षतर्फ चुनाव लड्ने बताएका हुन्।

कांग्रेसबाट कारबाहीमा परेका मल्ल केही समय अगाडि कांग्रेस बिपीमा प्रवेश गरेका थिए। नेपाल विद्यार्थी संघको राजनीतिमा रहँदा मल्लले विसं २०४८ सालदेखि देउवाको सामिप्यता पाएका थिए। त्यसकै कारण मल्लले राजनीतिमा अवसर पाएर डडेल्धुरा कांग्रेसमा बलियो नेताका रुपमा दरिए।

०५२ सालमा देउवा पहिलो पटक प्रधानमन्त्री हुँदा सहयोगीका रुपमा देउवासँगै बसेका मल्लले दुई कार्यकाल डडेल्धुरा कांग्रेसको सभापतिको जिम्मेवारी सम्हाले। 

०७४ सालको चुनावमा डडेलधुराबाट १ (ख) बाट जितेर प्रदेश सांसद बनेका मल्ल कांग्रेसको अधिवेशनका बेला आफूनिकट क्रियाशील सदस्यताको नाम काटिएपछि देउवासँग रुष्ट बने।

देउवाले माग सम्बोधन नगरी सभापति समेत रहेका मल्ललाई पेलेरै डडेल्धुरामा अधिवेशन गराएर आफूनिकटलाई सभापति बनाएपछि मल्ल टाढिएका थिए। वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा उनले एमालेसँग मिलेर देउवालाई चुनौती दिए।

एमालेसँग मिलेपछि मल्ललाई दोस्रो पटक देउवाले साधारण सदस्य नरहने गरी कारबाही गरेका थिए। अहिले मल्ल नेपाली कांग्रेस बीपीमा प्रवेश गरेर वरिष्ठ उपसभापति बनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad