ad ad

सुदूरपश्चिम


विद्यालयको फलामे ढोकामा सूर्य चिह्नमा स्वस्तिक छाप!

एमालेले पार्टीको प्रचार गरेको भन्दै कांग्रेसद्वारा विरोध
विद्यालयको फलामे ढोकामा सूर्य चिह्नमा स्वस्तिक छाप!

गोकुल जोशी
असार २८, २०७९ मंगलबार १३:२७, कञ्चनपुर

कञ्चनपुरको वेदकोट नगरपालिका–९, स्थित उदयदेव माध्यमिक विद्यालयको मुख्य प्रवेशद्वारमा राजनीतिक दलको प्रचार हुनेगरी सामग्री राखिएको पाइएको छ। फलामे ढोकामा ठूला अक्षरमा लेखिएको छ– नेकपा एमाले वेदकोट नपा ९ वडा कमिटीको सौजन्य। साथै त्यसमा एमालेको चुनाव चिह्न सूर्यमा स्वस्तिक छाप हानिएको छ।  

सो ढोका विद्यालयको मूल गेटमा आइतबार सार्वजनिक बिदाका दिन जोडिएको हो।

विद्यालय हाताभित्र राजनीतिक दलको प्रचारप्रसार हुने सामाग्री पाइएपछि व्यापक आलोचना भइरहेको छ।

नेकपा एमालेको वडा कमिटीले झन्डै ६० हजार लगानीमा ढोका बनाउन लगाएको थियो। सोमबार बिहान विद्यालयमा त्रैमासिक परीक्षा चलिरहेको थियो। दिउँसो कांग्रेस समर्थित स्थानीयले विद्यालयको ढोकामा एमाले पार्टीको नाम देखेपछि विरोध जनाएका छन्।

उनीहरूले शिक्षा ऐनमै विद्यालय परिसरमा कुनै पनि पार्टीको प्रचार हुने खालका सामग्री राख्न नपाउने उल्लेख गरिए पनि एमालेले त्यसको बेवास्ता गरेको भन्दै विरोध गरेका हुन्। 

विद्यालयका प्रधानाध्यापक महेश्वरप्रसाद भट्टले विद्यालयमा ढोका नहुँदा छाडा गाइगोरु भित्र पस्ने भएकाले वडाध्यक्ष जनक विष्टले ढोका बनाइदिने प्रस्ताव आफूलाई गरेको बताए।

‘वडाध्यक्ष विद्यालय व्यवस्थापन समितिको पदेन सदस्य हुने व्यवस्था छ’, उनले भने, ‘हाम्रो आर्थिक अवस्था ठीक थिएन, उहाँले पार्टीका तर्फबाट ढोका बनाइदिने प्रस्ताव राखेपछि हुन्छ भनेको हुँ।’ 

सौजन्य लेख्दा तलमुनि सानो अक्षरमा लेखिदिएको भए हुने र ठूलो अक्षरमा माथि नै लेख्दा विवाद भएको प्रधानाध्यापक भट्टले बताए।

वडाध्यक्ष विष्टले विवाद आएपछि माथि लेखिएको ठूलो अक्षर मेटाउन आफूहरूले भनेको तर कांग्रेस कार्यकर्ताहरूले अवरोध गरेको बताए।

‘माथि ठूलो अक्षरमा लेख्दा गल्ती भयो, त्यसलाई मेटाउन भनिसकेको छु, तर कांग्रेसले यसैलाई मुद्दा बनाउन खोजिरहेको छ’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .