सुदूरपश्चिम


डोटीका २५० उम्मेदवारले मात्रै बुझाए निर्वाचन खर्च विवरण

डोटीका २५० उम्मेदवारले मात्रै बुझाए निर्वाचन खर्च विवरण

प्रतिकात्मक तस्बिर


नेपालखबर
असार २२, २०७९ बुधबार १३:४, डोटी

गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका डोटीका २५० उम्मेदवारले मात्रै आफ्नो निर्वाचन खर्च विवरण बुझाएका छन्। उम्मेदवारी दिएकामध्ये ७६ प्रतिशत उम्मेदवारले अझै पनि आफ्नो निर्वाचनमा भएको खर्च विवरण बुझाएका छैनन्।

निर्वाचन आयोग ऐन २०७३ परिच्छेद–५ को दफा २५ मा निर्वाचन सम्पन्न भएको ३० दिनभित्र निर्वाचनमा भएको खर्चको बिल र भरपाईसहित तोकिएको ढाँचामा आयोगले तोकेको कार्यालयमा निर्वाचन खर्च विवरण बुुझाउनुपर्ने कानुनी व्यवस्था छ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार डोटीमा ३४३ पदका लागि एक हजार ५० जनाले उम्मेदवारी दर्ता गराएका थिए। तीमध्ये हालसम्म जम्मा २५ प्रतिशतले मात्रै आफ्नो निर्वाचन खर्च विवरण बुुझाएका छन्।

जिल्लामा नौवटा स्थानीय तहसहित जम्मा ६५ वडा छन्। जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी दलबहादुर मलासीका अनुसार स्थानीय तह निर्वाचनमा जिल्लाका विभिन्न स्थानीय तहबाट एक हजार ५० उम्मेदवारले आफ्नो उम्मेदवारीका लागि मनोनयन पत्र दर्ता गराएका थिए। तीमध्ये हालसम्म करिब २५० जनाले मात्रै निर्वाचन खर्च विवरण बुुझाएको सूचना अधिकारी मलासीले बताए। 

जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कअनुसार नौ स्थानीय तहमध्ये जोरायल र बडिकेदार गाउँपालिकाका कुनै पनि उम्मेदवारहरुले निर्वाचन खर्चको विवरण बुुझाएका छैनन्। अन्य स्थानीय तहका उम्मेदवारहरुमध्ये पनि अधिकतर उम्मेदवारहरुले निर्वाचन खर्च विवरण नबुुझाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

सबै उम्मेदवारलाई स्थानीय तहमार्फत निर्वाचन खर्च विवरण बुुझाउन ताकेता गर्दा नबुुझाएपछि हालसम्म प्राप्त विवरण निर्वाचन आयोगमा पठाइने तयारी भएको जिल्ला निर्वाचन अधिकारी करुणाकर पाण्डेयले बताए।

यसैबीच निर्वाचन आयोगले प्रेस विज्ञप्ति प्रकाशन गरी सबै जिल्ला निर्वाचन कार्यालयलाई उम्मेदवारले खर्च विवरण बुुझाए/नबुुझाएको यकिन गरी आवश्यक कारबाहीका लागि आयोगमा सिफारिससहित लेखी पठाउन निर्देशन जारी गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad